यसरी लिनुस् बैंकबाट बिनाधितो सस्तो ब्याजदरमा ऋण
काठमाडौं । कुनै पनि उद्यम, व्यापार व्यवसाय शुरु गर्ने आफुसँग पर्याप्त पुँजी नहुँदा बैंक तथा वित्तीय संस्था हामी कर्जा सापटीका लागि पुग्छौं ।
तर बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा ग्राहकसँग खोज्ने पहिलो प्रश्न हो तपाईंसँग धितो के छ ?
नेपालमा राम्रो व्यवसायीक योजना भएका तर पुँजी र बैंकमा कर्जा लिनका लागि धितो नभएका कयौँ युवाहरु छन् । जो यस्तै समस्याका कारणले सीप क्षमता भएर पनि पुँजीको अभावमा स्वदेशमा नै केही गर्न नसकेर विदेश पलायन हुन बाध्य भएका छन् ।
सरकारले यस्तै समस्याको सावधान गर्दै स्वदेशमा नै उद्यमशीलता तथा स्वरोजगार बढाउन सहयोग गर्ने उदेश्यले हरेक वर्ष विभिन्न कार्यक्रमहरु घोषणा गरिरहेको हुन्छ ।
स्वदेशमा नै उद्यमशीलता तथा स्वरोजगार बढाउने उदेश्यले सरकारले २ वर्षअघि ब्याज अनुदानमा बिनाधितो सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालनमा गरिरहेको छ ।
सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो ।
ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च र प्रविधिक शिक्षा भुकम्प पिडितको निजी आवास निर्माण, कपडा उद्योग संचालन र सीटीइभीटी तालिमको लागि गरी ९ शिर्षकमा सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिन सक्ने व्यवस्था गरिएको छ ।
जसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, कपडा उद्योग संचालनबाहेक सबै कर्जा बैंक तथा वित्तीय संस्थाले बिनाधितो व्यवसायीक परियोजनाको आधारमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ ।
के हो ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा ?
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।
जसमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको माग अनुसारको व्यवसायीक परियोजना मूल्यांकन गरी सोहीको आधारमा बिनाधितो ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दछन् ।
यस्तो कर्जा कर्जाको प्रकारका मापदण्ड पुरा भएका १८ वर्षदेखि व्यक्तिले उपयोग गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कसरी लिन सकिन्छ बिना धितो ब्याज अनुदानमा सहुलिय कर्जा ?
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक वाणिज्य बैंकका शाखाले न्यूनतम १० जना र विकास बैंकका शाखाले ५ जनालाई अनिवार्य रुपमा सहुलियत दरको कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।
साथै, राष्ट्र बैंकले समेत २०७८ असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले ५०० जना, विकास बैंकले २०० जना र फाइनान्स कम्पनीले १०० जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु पर्ने उल्लेख गरेको छ ।
कर्जा लिन आवश्यक कागजात के के हुन् ?
राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था सबैले यस्तो प्रकारको कर्जा वितरण गरिरहेका छन् । यस्तो कर्जा लिन इच्छुक व्यक्तिले निम्नानुसारको कागजात तथा प्रक्रिया पुर्याउनु पर्छ ।
१. कर्जा लिने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवतरुपमा भरिएको कर्जा आवेदन फारम
२. कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा-प्यान) नम्बरको प्रतिलिपि
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
४. कर्जा लिएर शुरु गरिने वा हाल सञ्चालनमा रहेको उद्यमको विवरण ।
५. कर्जा उपयोगको संक्षिप्त विवरण, महिला उद्यमशीलता कर्जा बाहेक १० लाख रुपैयाँभन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव ।
६. कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वःघोषणाको प्रमाणपत्र ।
७. सामूहिक जमानीको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।
८. शिक्षित युवा स्वरोजगार कर्जाको हकमा शैक्षिक प्रमाण पत्रको सक्कलप्रति ।
९. सीटीइभीटी प्रमाणपत्रबाट कर्जा लिनुपर्दा सीप विकास तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि ।
१०, वैदेशिक रोजगारीबाट फर्केका युवाको हकमा कर्जा लिन ।
-निवेदक विदेशमा गई कम्तीमा ६ महिना काम गरी फर्किएको र कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्ति (पिआर/ग्रिनकार्ड) नभएको स्वःघोषणा गरिएको प्रमाणपत्र ।
-राहदानीको प्रतिलिपि ।
– प्रवेशाज्ञाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केको हकमा सोको प्रतिलिपि ।
११. उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको हकमा कर्जा लिन ।
-आर्थिकरुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस ।
-अध्ययन गर्ने शैक्षिक संस्था/प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि ।
१२. भूकम्प पीडित कर्जाको हकमा
-निजी आवस निर्माण कर्जाका लागि राष्ट्रि पुननिर्माण प्रधिकरणसँग सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवस निमार्ण गर्ने नसकेको सिफारिस ।
-निर्माण कार्य सम्पन्न गर्न नसकेका भूकम्प पीडितको कागजातको प्रतिलिपि ।
-धितोको हकमा सो सम्बन्धी कागजात ।
बिनाधितो प्रदान गरिने कर्जाको हकमा आवश्यक कागजात
ब्याज अनुदानमा बिनाधितो प्रवाह गरिने कर्जाको हकमा बैंक तथा वित्तीय संस्थाले ऋणीको व्यवसायीक परियोजनालाई नै धितो सुरक्षणको रुपमा राख्ने गर्छ ।
कर्जा प्रवाह गर्दा परियोजाको सम्भाव्यतालाई मूल्यांकन गरी सोही आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् ।
आवश्यक कागजात
-शिक्षित युवा कर्जाका शैक्षिक प्रमाणपत्र धितो हुने साथै एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानी ।
-विदेशबाट फर्किएका युवा कर्जामा ज्ञान, सीपसँग सम्बन्धित व्यवसाय परियोजना धितो हुने ।
-महिला उद्यम कर्जामा एकल तथा सामुहिक जमानीको कागजात ।
-परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवम् प्रवद्र्धनका लागि दलित समुदाय विकास कर्जामा एकल वा सामुहिक जमानीको कागजात ।
सहुलियतपूर्ण कर्जाको मापदण्डअनुसार सबै कागजात पूरा भएपछि ब्याजअनुदानमा कर्जा लिन चाहने व्यक्तिले सम्पुर्ण कागजातसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।
सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको निवेदन प्राप्त भएको २१ दिनभित्र कर्जा स्वीकृत हुने÷नहुने निर्णण निवेदकलाई जानकारी गराइसक्नु पर्ने हुन्छ ।
यदि कर्जाको निदेशन स्वीकृत नभएमा स्पष्ट आधारण र कारण सहित सम्बन्धित निवेदकलाई लिखित जानकारी बैंक तथा वित्तीय संस्थाले गराउनु पर्ने हुन्छ ।
तर कर्जा स्वीकृत भएपछि जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा नै कर्जा उपयोग गरिएको हुन पर्नेछ । यसको निगरानी तथा अनुगमन आवश्यक ठानिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नेछ ।
कर्जाको सीमा तथा कर्जा सुरक्षण (धितो)
ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा अन्तरर्गतका व्यवसायीक कृषि तथा पशुपन्छी र कपडा उद्योग बाहेक अन्य कर्जा बिना धितो व्यवसायीक परियोजनाको आधारमा कर्जा उपयोग गर्ने सकिन्छ ।
कृषि तथा पशुपन्छी कर्जा भने बिना धितो व्यवसायीक योजनाको आधारमा पनि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका छन् । कृषि तथा पशुपन्छी कर्जाको हकमा १० लाख रुपैयाँसम्म एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानीको आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् ।
सोभन्दा माथि व्यवसायीक परियोजना धितोमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ ।
साथै, भूकम्प पीडित निजी आवास निर्माण कर्जाको हकमा समेत धितो भएमा बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृतिको लागि धितो सुरक्षण लिन पाउछन् ।
शिर्षक अनुसारको कर्जाको सीमा
-व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म ।
-शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म ।
-महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म ।
-दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म ।
-उच्च र प्रविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म ।
-भुकम्प पीडितको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म ।
-कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म ।
-प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म ।
यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवसायको प्रकृतिअनुसार तोक्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कर्जाको ब्याजदर
ब्याज अनुदानमा उपलब्ध हुने कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदरमध्ये ५ प्रतिशत अनुदान ऋणीलाई सरकारको तर्फबाट हुनेछ ।
महिला उद्यमशीलता कर्जाको ब्याजदरको हकमा भने यस्तो अनुदान ६ प्रतिशत उपलब्ध हुनेछ । तर, ५ करोड रुपैयाँभन्दा बढी व्यवसायीक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र ब्याज अनुदानको व्यवस्था गरिएको छ ।
यस्तो प्रकारको कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जाको बीमा शुल्क र कर्जा सुरक्षण शुल्क बाहेक कुनैपनि प्रकारको थप सेवा शुल्क लिन पाउँदैनन् ।
ऋणीले कर्जा चुक्ता नगरेमा हुने कारर्वाही
-ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने ।
-ऋणीको राहदानी रोक्का हुने ।
-ऋणीको नाममा रहेको चल अचल सम्पती बिक्री गर्न रोक्का हुने ।
-ऋणीको नाममा रहेको सम्पूर्ण बैंक खाता रोक्का हुने ।
-सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायत अन्य नागरिक सेवा सुविधाबाट बञ्चित हुने ।