सर्ट सेलिङ भर्सेस साना लगानीकर्ता, कुलिनदेखि नियामक सबैले पाठ सिकौंः नीरव पुडासैनीको लेख



पुँजीबजारका लगानीकर्तालाई उनीहरुको लगानी तथा जोखिम बहन क्षमताका आधारमा साना र ठूला लगानीकर्ता भनेर वर्गीकरण गरिनु तर्क संगत होला नहोला । यो प्रश्नको उत्तर त्यती सहज छैन । यसकारण यसको उत्तर सतहीरुपमा दिन उचित हुँदैन । फलस्वरुप यो अनुत्तरित प्रश्नको उत्तर पाठकहरुले नै खोज्नु उत्तम होला । तर विश्वभर साना लगानीकर्ताहरुको आवाज कुनै पनि देशका नियामकहरुले नसुनेका गुनासाहरु यदाकदा सुनिन्छ ।

ठूला (कुलिन) भनिएका लगानीकर्ताहरुको वर्चस्व रहेको अमेरिकी सेयर बजारमा यसपटक भिन्न परिदृश्य देखा परेको छ । कुलिनहरुको क्रन्दनले विश्व सेयर बजारका नियामकहरु र तीनका कुलिन लगानीकर्ताहरु एकाएक एक हुने पर्यन्त गरिरहेको देखिन्छ । यही कारण अमेरिकी संसदमा यो विषय बहसयोग्य भएको छ ।

संसारका प्रायःजसो सबै आर्थिक समाचारहरुमा यस विषयले अग्रस्थान पाइरहेको छ । सेलिब्रेटीदेखि सामान्यजनहरु कुलिनका विलाप ट्विट गरिरहेका छन् । के यसपटक साच्चिकै कुलिनहरुका सेयर कर्नरिङले काम नगरिरहेको हो ? वा साना लगानीकर्ताहरुको एक्यबद्धताले सेयर बजारको मार्गनिर्देशित हुन थालेको हो ?

प्रष्टसँग भन्दा रेटिड च्याट फोरममार्फत् साना लगानीकर्ताले आह्वान गरेकै आधारमा यति ठूलो उछाल आएको हो ? के अब सेयर बजारको अध्ययन प्राविधिक र आधारभूतसँगै यस्ता फोरमहरुको अध्ययन पनि अनिवार्य भएको हो ? प्राविधिक र आधारभूत विश्लेषणसँगै कुलिनहरुको पुँजीको बलमा खडा भएको हेजफन्डहरुको हातबाट यसपटक केही कम्पनीका सेयरहरु फुस्किएको देखिन्छ ।

जब एएमसी, नोकिया, गेमस्टप, ब्ल्याकबेरीका सेयरहरु साना लगानीकर्ताहरुको च्याट फोरममा गरिएको आह्वानका आधारमा चल्न थाले, त्यही समयबाट हेजफन्डहरु धराशायी उन्मुख हुन थाले । उनीहरुले गर्ने गराउने कर्नरिङलाई यसपटक साना लगानीकर्ताहरुले ठूलो दनक दिएका छन् । आफैले बढाएर ३ सय डलरभन्दा पुर्याएको गेमस्टप कम्पनीको सेयरलाई सर्ट सेलिङ गरेर मूल्य घटाउने दाउमा रहेका कुलिनहरु यसपटक जिल्ल मात्रै परेनन् उठ्नै नसक्ने गरी थलिए पनि ।

भविष्यमा मूल्य घट्छ भनेर सेयर सापटी लिएर बिक्री गर्ने र केही समयपछि जब अनुमानका आधारमा मूल्य घट्छ । उक्त सेयर पुनः बजारबाट खरिद गरेर सापटी लिएको सेयर फिर्ता गर्ने प्रक्रियालाई सर्ट सेलिङ भनिन्छ । जुन नेपाली सेयर बजारमा पनि आवश्यक व्यवस्थामध्ये एक हो ।

यसबाट नेपाली कुलिनहरु (यदि यस्ता कुलिनहरु) छन् भने तिनीहरुले पाठ सिक्नु जरुरी छ । तर अमेरिकी ब्रोकरले जसरी कुलिनहरुको साथ दिएर उक्त कम्पनीका सेयरहरु किन्नबाट रोके । त्यस्तो कार्य यहाँका ब्रोकरहरुले नगरुन भनेर धितोपत्र बोर्डले पनि पाठ सिक्न जरुरी छ ।

हेजफन्डलगायतका एलिटहरुलाई घाटा भयो भनेर सेयर कारोबार गर्न रोक लगाउने कार्य अत्यन्तै निन्दनीय छ । नेपाली सेयर बजारका सेयर कर्नरिङ गर्ने खेलाडीहरु तिनलाई साथ दिने धितोपत्र दलालहरु र मुकदर्शक भएर निरिह हेराइ हेर्ने नियामकहरु सबैले यस विषयको गहिरो अध्ययन गर्न आवश्यक छ ।

जसरी सिटाडेल मेल्विन क्यापिटल जस्ता कुलिनहरुका संरक्षक हेजफन्ड र रविन हुड जस्ता ब्रोकरहरुलाई अप्ठ्यारोमा पार्न सामान्य लगानीकर्ताहरुले सक्छन् । यस्तो स्थिती संसारको कुनै पनि सेयर बजारमा आउन सक्छ भन्ने ज्ञान सबैले राख्नु जरुरी छ ।

धितोपत्र कारोबारमा २५ प्रतिशत अग्रीम नगद लिएर मात्र कारोबार गर्नु गराउनु भन्ने धितोपत्र सम्बन्धि पुरानो ऐनलाई पुनः कडाइका साथ लागू गराउन खोज्नुलाई अन्यथा लिन आवश्यक छैन । यस्ता नियमहरु साना भनिएका लगानीकर्ताहरुको हितमा रहेको देखिन्छ । सेयर कर्नरिङ र अपरिपक्क राफसाफ गरेर सेयर खेलाडी कहलिन चाहनेका लागि २५ प्रतिशतको नियम तगारो हुन सक्छ । तर आम लगानीकर्तालाई यसले हानी गर्ने देखिन्न ।


क्लिकमान्डु