किसानका लागि किन आवश्यक छ कृषि विकास बैंकको किसान एप र किसान क्रेडिट कार्ड ?



काठमाडौं । कृषि क्षेत्रमा आवद्ध हुन चाहने वा भएका लगानीकर्ता हुन् या उत्पादन तथा खरिद बिक्रीकर्ता सबैको साझा समस्या हो, कृषि प्रविधि, मूल्य निर्धारण र बजारीकण ।

यसका साथै, बैंक तथा वित्तीय संस्थाबाट कृषि ऋण लिनका धेरै प्रविधिक तथा व्यवहारीक कठिनाइ किसानले झेल्दै आएका छन् ।

कतिपय किसान अहिले पनि बैंकिङ पहुँच बाहिर छन् ।

सरकारले किसानको सारथीका रुपमा कृषि विकास बैंकलाई अघि बढाउने भएको छ । कृषि क्षेत्रको लगानीको नेतृत्व कृषि विकास बैंकलाई सुम्पिदै छ ।

यस्ता समस्याका समाधानका लागि कृषि विकास बैंकले ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवात गरिसको छ ।

चालु आर्थिक वर्ष वर्षको बजेटमा सरकारले क्रेडिट कार्डमार्फत् किसानलाई प्रविधिमा जोड्ने घोषणा गरेको थियो ।

कृषि उत्पादन तथा बजार जोखिम कम गर्न मोबाइल एपमार्फत किसानलाई मौसम, बिउ-बिजन, खेती प्रणाली र बजार मुल्य सम्बन्धी सुचना उपलब्ध गराउने तथा किसान ऋणमा समेत सहज पहुँच पुर्याउन किसान क्रेडिट कार्डको शुरुवात गरिने बजेटमा उल्लेख छ ।

जसमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कृषि विकास बैंकको नेतृत्वमा ‘किसान क्रेडिट कार्ड’ सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । विकास बैंकले आफ्नो ५४औं वार्षिक उत्सवको अवसरमा ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवात गरेको हो ।

‘किसान एप र किसान क्रेडिट’ले किसाहरुलाई आफ्नो आधारभुत आवश्यकताहरुलाई सहज तबरबाट प्राप्त गर्न सहयोग गर्ने कृषि विकास बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल उपाध्याय बताए ।

‘यसमा आवद्ध भएका किसानहरुले ऋण, सहुलियत कर्जा, कृषि अनुदान लिनु परेमा वा मल/बिउ/विजन, कृषि उपकरणहरु खरिद गर्नु परेमा आफु जहाँ छ त्यहीबाटै आवश्यकताहरु परिपुर्ति गर्न सक्छन्,’ सीइओ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘अहिले यस्ता आवश्यकताका लागि किसानहरु सहर/बजार आउनु नै पर्ने बाध्यता छ तर किसान एप र किसान क्रेडिट कार्ड भएकाहरुले गाउँकै थलोमा व्यवसाय गर्ने कृषि मर्चेन्टबाट उपलब्ध सम्पूर्ण सेवा किसानले प्रयोग गर्न सक्छन् ।’

यसमा आवद्ध भएका किसानहरुले सहज तबरले सहुलियत कर्जा, कृषि अनुदान कृषि मर्चेन्टको सहयोगमा प्राप्त गर्नुका साथै आफुले प्राप्त गरिसकेको कर्जा किस्तामा नजिकको कृषि मर्चेन्टबाटै किसान क्रेडिट कार्डको प्रयोग गरी झिक्न सकिन्छ ।

त्यसैगरी, किसान क्रेडिट कार्डको प्रयोग गरी आवश्यक मल, बीऊ, कृषि उपकरण खरिद गर्न सक्ने उनले जानकारी दिए ।

साथै, किसान एपको प्रयाग गरी किसानले कृषि उत्पादन तथा लगानीमा परामर्श, उत्पादनको मुलयांकन र मूल्य निर्धारणका साथै उत्पादनको ढुवानीमा समेत सहयोग गर्ने सीइओ उपाध्याय बताउँन् ।

यसमा हाल यसमा कृषि विकास बैंकका केही ग्राहकहरु आवद्ध भएका छन् भने अन्यलाई प्रणालीमा आवद्ध गराउने पक्रियामा बैंक छ । केही समयपछि अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरु पनि आवद्ध भएर सेवा उपयोग गर्न बैंकमा सीइओले जानकारी दिए ।

कृषि विकास बैंकले शुरु गरेको किसान एप र किसान क्रेडिट कार्डको प्रयोगले कृषि क्षेत्रमा विध्यामान उत्पादनको बजारीकरण, मुल्य निर्धारणका साथै विचयौलाको समस्या बिस्तारै समाधान हुँदै जाने उनले दावी गरे ।

किसान एप र किसान क्रेडिट कार्डको प्रयोगले कृषि उत्पादन वृद्धि गरी कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सहयोग गर्ने विस्वास गरिएको छ ।

के हो किसान एप ?

यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । जसमा किसानले आफ्नो मोबाइलमार्फत् बैंकले उपलब्ध गराएको एप्लिकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्छन् ।

किसान एपबाट किसानले मौसम, कृषि सामाग्रीको उपलब्धता, कृषि सम्बन्धी कारोबार र कृषि बीमा तथा अनुदानको जानकारी पाउन सक्छन् ।

साथै, कृषि व्यवसायको प्राविधिक ज्ञान, उत्पादनको भण्डारण प्रशोधन बजारीकरण सम्बन्धी सुचना र कृषि फार्मका सफल अभ्यासको जानकारी पनि किसान एपबाट लिन सकिन्छ ।

किसान एपको प्रयोग

कृषि विकास बैंकमा खातामा कारोबार गरिरहेका र बैंकबाट कर्जाको कारोबार गरिरहेकाहरुले किसान एप तथा किसान क्रेडिट कार्डको प्रयोग गर्न सक्नेछन् । जसमा बैंकसँग सहकार्य गरेका विभिन्न बैंक तथा वित्तीय संस्थाका किसान र विभिन्न निकाय एवं वालेट प्रयोग गर्ने ग्राहकहरु हुनु पर्नेछ । साथै, कृषि सामग्री, सेवा तथा उपज खरिद बिक्री गर्ने व्यवसायीले पनि सो एप लिन योग्य हुने छन् ।

किसान एप सञ्चालन गर्नका लागि योग्यता पुगेका किसानले किसान कृषि विकास बैंकको नजिकैको शाखामा गई आवेदन दिनु पर्नेछ । आवेदन स्वीकृत भएमा बैंकबाट युजर नेम पासवर्ड तथा पिन प्राप्त हुनेछ ।

त्यसपछि किसानले स्मार्ट फोनको गुगल प्ले स्टोर तथा एप स्टोरबाट बैंककको किसान एप डाउनलोड गनुपर्छ । किासानले बैंकबाट प्राप्त भएको यूजर नेम, पासवर्ड तथा पिन राखी एप सञ्चालन गर्न सक्नेछन् ।

किसान क्रेडिट कार्ड

विद्युतिय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने गरी बैंकले जारी गरेको कार्ड नै किासान कार्ड हो । भिसा कार्डजस्तै देखिने किसान क्रेडिट कार्ड क्यूआर कोर्डको आधारमा चल्छ ।

यसको प्रयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मर्चेन्ट, कृषि सहकारी र कम्पनीहरुले गर्न सक्नेछन् । साथै बैंकमा अन्य बैंकिङ कारोबार गर्ने ग्राहकले पनि भविश्यमा कर्जाको कारोबार गर्ने इच्छा राखे कार्ड बैंकबाट प्राप्त गर्न सक्छन् ।

किसान एप र किसान क्रेडिट कार्डको सम्बन्ध

किसान एप र किसान क्रेडिट कार्ड एकआपसमा अन्तरसम्बन्धि हुने बैंकले जानकारी दिएको छ । बैंकबाट कृषि कर्जा स्वीकृत भएपछि किसान एपमा ऋणीको व्यक्तिगत विवरण तयार हुन्छ ।

स्वीकृत भएको कर्जाको केही प्रतिशत रकम बैंकले क्रेडिट कार्डमा लोड गर्ने बैंकका सीइओ उपाध्यायले बताए । जसअनुसार किसानले आवश्यक कृषि सामाग्री खरिद गर्न, उत्पालनको ढुवानीको भुक्तानी समेत गर्न सक्नेछन् ।

किसान एपबाट कृषि बजार र उत्पादनको मूल्यको सम्पुर्ण जानकारी लिन सकिने हुँदा किसानले सोहीको आधारमा आफ्नो उत्पादन बिक्री गर्न सक्नेछन् ।

त्यसैगरी, पसलले किसानबाट खरिद गरेको उत्पादनको भुक्तानी किसान क्रेडिट कार्डमा गर्न सक्ने बैंकका सीइओ उपाध्यायले बताए ।

‘बैंकको कर्जाको सीमा भित्र रहेका गरिने कारोबार एक पाटो हो भने, किसानले पसलमा बिक्री गरेको कृषि उपजको भुक्तानी कार्डमा टान्सफर गर्न सक्छन्,’ उनले भने ‘गाँउघरमा पनि नगदरहित भुक्तानी प्रणालीको विकास र विस्तार एप र क्रेडिट कार्डको माध्यमबाट गर्ने प्रयास गरिएको छ ।’

यसका साथै, किसानले कृषि कार्यकालागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले किसान र मर्चेन्ट गरेर २० जनालाई क्रेडिट कार्ड वितरण गरेर यसको शुरुवात गरेको छ । यही महिनाभित्र नै बैंकका अन्य थप ४०/५० शाखा कार्यलयबाट थप किसानलाई आवद्ध गराउने गराएर केही समयमा नै देशव्यापी रुपमा जाने बैंकका सीइओ उपाध्यायले बताए ।

कृषि मर्चेन्ट

बैंकले सञ्चालनमा ल्याएको ‘किसान एप र किसान क्रेडिट कार्ड’ को प्रयोग किसानले कृषि मर्चेन्टमार्फत् गर्ने सक्नेछन् । बैंक र किसानबीच सम्वन्य गर्दै किसान एप र किसान क्रेडिट कार्डमार्फत् प्राप्त हुने सेवा सुविधा कृषि मर्चेन्टले किसानलाई प्रदान गर्नेछन् ।

कृषि मर्चेन्ट हुनका लागि कृषि उपज, कृषि सामाग्री तथा सेवाको खरिद बिक्री व्यवसाय संचालन गरेका सम्बन्धित स्थानकै व्यक्तिहरु योग्य हुनेछन् । यी व्यक्तिहरु बैंकमा खाता भएका संस्थागत ग्राहक हुनुपर्ने बैंकले उल्लेख गरेको छ ।

मर्चेन्टले कृषिसँग सम्बन्धित प्राविधिक सेवा, कृषि सामाग्री आदीको बिक्री वावत विद्युतिय भुक्तानी गर्नुका साथै, कृषि उपजहरुको खरिद वापत समेत विद्युतिय विल भुक्तानी गर्नेछन् ।


पुष्प दुलाल