नेपालमा ऋणपत्र बजारको आवश्यकता र विकास एवं विस्तारका उपायहरु
‘ऋणपत्र’ ऋणपत्रधारीलाई ऋणपत्रको अवधिभरी प्रत्येक वर्ष वार्षिक, अर्धवार्षिक, त्रैमासिकरुपमा निश्चित व्याज प्रदान गर्ने गरी जारी भएको दीर्घकालिन वित्तीय औजार हो । ऋणपत्रलाई निश्चित आय तथा मध्यम जोखिमयुक्त औजारको रुपमा लिने गरिन्छ । यसलाई ऋण लिने र दिने बीच I Owe You को रुपमा लिने गरिन्छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को (च) मा ‘धितोपत्र’ भन्नाले संगठित संस्थाले जारी गरेको अन्य औजारका साथै बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ भन्ने व्यवस्था रहेकोले ऋणपत्रलाई विशेषरुपमा धितोपत्र बजार तथा समग्रमा वित्तीय बजारको एक महत्वपूर्ण औजारको रुपमा लिने गरिन्छ । हाल ऋणपत्र मध्यमकालिन तथा दीर्घकालिन ऋण परिचालन गर्ने एक महत्वपूर्ण औजारको रुपमा स्थापित हुँदै गएको छ ।
ऋणपत्र संस्थागत तथा सरकारी गरी दुई प्रकारको हुने गर्दछ । संस्थागत ऋणपत्रका विभिन्न प्रकारमा परिपक्व नहुने ऋणपत्र शुन्य ब्याजदर ऋणपत्र, निश्चित व्याज तथा समयावधिको, साधारण सेयरमा परिवर्तन गर्न सकिने परिवर्तनशील ऋणपत्र आदि हुने गर्दछ भने सरकारी ऋणपत्रका प्रकारहरुमा विशेषरुपमा प्रमिसरी नोट, प्राइज ऋणपत्र, धारक ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचत ऋणपत्र, नागरिक बचत, वैदेशिक रोजगार ऋणपत्र, कृषि ऋणपत्र तथा अन्य विशेष वचत ऋणपत्र तथा नगरपालिका ऋणपत्र आदि पर्दछन् । ऋणपत्र सामान्यतया एक निश्चित अवधिको लागि जारी गरिन्छ र समय भुक्तान भएपछि सम्बन्धित व्यक्ति वा संस्थालाई आर्जित ब्याजसँगै साँवा ऋण फिर्ता गरिन्छ ।
ऋणपत्र, बण्ड तथा डिवेञ्चरको निष्काशन तथा प्रभावकारी कारोवारको व्यवस्थाले देशको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ यसले गर्दा ऋणपत्रलाई राष्ट्र निर्माणको एक महत्वपूर्ण वित्तीय औजारको रुपमा समेत लिने गरिन्छ । ऋणपत्र बजारले लगानीको क्षेत्रलाई विविधिकरण गर्दै जोखिम न्युनिकरणमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
हाल ऋणपत्र बजार विकशित राष्ट्रमा जस्तै विकासशिल राष्ट्रमा समेत एक महत्वपूर्ण एवं गतिशील बजारको रुपमा विकास एवं विस्तार हुँदै गएको छ । विश्वका विकसित देशहरुमा तथा विकासोन्मुख देशहरुमा समेत ऋणपत्र संगठित संस्था, महानगरपालिका, संघीय तथा प्रादेशिक सरकारले बिभिन्न परियोजनामा लगानी गर्न जारी गर्दै आएको देखिन्छ । साथै यस्ता ऋणपत्रहरुको प्रभावकारीरुपमा कारोवार हुने व्यवस्था समेत गरिएको देखिन्छ ।
नेपालमा सरकारी ऋणपत्रको निष्काशनको इतिहास आर्थिक वर्ष २०१८/१९ देखि शुरु भई प्रथम पटक एक प्रतिशत व्याजदरमा ७० लाख रुपैयाँ मूल्य बरावरको ट्रेजरी विल्स निष्काशन भएको देखिन्छ । नेपालमा विकास ऋणपत्र भने वि.सं. २०२० सालमा ६ प्रतिशत व्याजदरमा रु.१ करोड ३१ लाख मूल्य बरावरको निष्काशन भएको थियो । त्यस्तै नेपालमा श्रीराम सुगर मिल्सले २०५४ कार्तिक ७ गते धितोपत्र बोर्डबाट ९ करोड ३० लाख मूल्य बरावरको ऋणपत्र (रिडिमेवल डिबेञ्चर) निष्काशनको अनुमति पाएदेखि संस्थागत ऋणपत्रको निष्काशनको शुरुवात भएको थियो । नेपालमा बाणिज्य बैंक क्षेत्रतर्फ सर्वप्रथम हिमालयन बैंकले आर्थिक वर्ष २०५९/६० मा ३६ करोड रुपैयाँ मूल्य बरावरको ऋणपत्र निष्काशन गरेको थियो ।
तत् पश्चात संस्थागत ऋणपत्र निष्काशनले निरन्तरता पाउंदै आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल ४८ वटा ऋणपत्र निष्काशन भई धितोपत्र बजारबाट ४८ अर्ब २३ करोड रुपैयाँ पुँजी परिचालन भएकोमा आर्थिक वर्ष २०७६/७७ को मौद्रीक नीतिले बाणिज्य वैंकहरुलाई आफ्नो चुक्ता पँुजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेसँगै संस्थागत ऋणपत्रको निष्काशन दु्रत गतिमा भई आर्थिक वर्ष २०७६/७७ तथा आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिसम्ममा थप कुल १५ संगठित संस्था (बाणिज्य बैंक)ले ऋणपत्रको सार्वजनिक निष्काशन गरी थप कुल ३२ अर्ब ५ करोड रुपैयाँ पुँजी परिचालन गरेका छन् । यसरी नेपाल धितोपत्र बोर्डको स्थापना पश्चात् आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिसम्ममा कुल ६३ ऋणपत्र निष्काशन भई कुल ८० अर्ब २८ करोड रुपैयाँ पुँजी परिचालन भएको छ ।
नेपालको धितोपत्र बजारमा नेपाल धितोपत्र बोर्डको २०५० जेठ २५ गते स्थापना भएपश्चात आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिसम्ममा संस्थागत ऋणपत्र बाहेक अन्य संस्थागत धितोपत्र जस्तै साधारण सेयर, अग्राधिकार सेयर तथा सामूहिक लगानी योजनाजस्ता औजारहरुको निष्काशनमार्फत् कुल ३ खर्ब २४ अर्ब रुपैयाँ पुँजी परिचालन भएको तुलनामा संस्थागत ऋणपत्र निष्काशन मार्फत् परिचालन भएको पुँजीको परिमाण हेर्दा २४ प्रतिशत रहेको देखिन्छ ।
नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्तसम्ममा सूचीकृत ऋणपत्र बजारको आकार २ खर्ब ३७ अर्ब रहेकोमा सरकारी ऋणपत्रको हिस्सा ८५ प्रतिशत रहेको छ । नेपालमा सेयर बजारको आकार ऋणपत्र बजारको भन्दा ७.५ गुणा ठूलो रहेको देखिन्छ ।
नेपालमा डच अक्सन प्रणालीमार्फत् विकास ऋणपत्रको निष्काशन तथा व्याजसमेत सोही प्रणालीअनुसार निर्धारण हुने गरेको छ । २०७७ असार मसान्तसम्ममा निष्काशनमा रहेको विकास ऋणपत्र, नागरिक बचतपत्र तथा बैदेशिक रोजगार बचतपत्र गरी कुल रु.३ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख रहेकोमा सर्वसाधारण लगानीकर्ताहरुको अंश ०.५८ प्रतिशत मात्र रहेको देखिन्छ ।
नेपालमा नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागबाट वि.सं. २०६१ देखि विकास ऋणपत्रको कुपनदर तोकी बोलकबोलको माध्यमबाट निष्काशन गर्ने कार्य हुँदै आएकोमा वि.सं. २०७२ देखि बोलकबोलमार्फत् बजारले एकलरुपमा ब्याज दर निर्धारण गर्ने अभ्यास हुँदै आएको छ ।
ऋणपत्र बजारको आवश्यकता एवं महत्व
उत्पादनशिल बचत, बचतको संकलन तथा कोष निर्माण र बचतको उत्पादनशील परिचालनको लागि वित्तीय बजार आवश्यक रहेको हुन्छ । ऋणपत्र बजारले वित्तीय बजारको एक महत्वपूर्ण अंगको रुपमा देशको समग्र बचत तथा लगानीलाई प्रभावकारी बनाउने गर्दछ ।
वित्तीय मध्यस्थकर्ताको परिचालनबाट बचतपक्षको तर्फबाट मागपक्षसम्म पुँजी वा कोष परिचालन गर्न वित्तीय बजारले ठुलो भूमिका खेलेको हुन्छ । वित्तीय बजारको एक अभिन्न अंगको रुपमा ऋणपत्र बजार रहेको हुन्छ । एक स्वास्थ्य ऋणपत्र बजारले स्रोत साधनको प्रभावकारी बाँडफाँड गर्नुका साथै सार्वजनिक तथा निजी क्षेत्रलाई लगानीका विविध औजारहरु उपलब्ध गराउंछ । साथै संस्थागत लगानीको आवश्यकता पूर्तिको चापलाई न्युन गर्दै सरकारको विकास निर्माण सम्बन्धी परियोजनाहरुमा लगानी गर्न सहजता प्रदान गर्दंछ ।
देशको आर्थिक विकासको लागि सरकारी वित्तको समुचित व्यवस्थापनमा सघाउ पुर्याउन तथा वित्तीय र मौद्रिक नीतिबीच सामन्जस्यता कायम गर्दै आन्तरिक बचत परिचालनलाई प्रोत्साहन गर्न सरकारले आन्तरिक ऋण लिने गर्दछ । यसका लागि सरकारले केन्द्रीय बैंक मार्फत राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, विशेष ऋणपत्र, विकास ऋणपत्र आदि जारी गर्ने गर्दछ । नेपालमा ऋणपत्र निष्काशन गरी आन्तरिक ऋण लिने परम्पराको शुरुवात आर्थिक वर्ष २०१८/१९ देखि भएको हो ।
विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट ऋणपत्रमा भएको लगानीलाई तरलता प्रदान गरी लगानीलाई थप आकर्षक बनाउन ऋणपत्रको दोस्रो बजार आवश्यक हुन्छ । विशेष गरी विकास ऋणपत्र निष्काशनको शुरूवात आज भन्दा करिव ५८ वर्ष अघि देखि भएता पनि यसको दोस्रो बजार कारोवारको संस्थागत व्यवस्थाको शुरुवात भने २०६३ देखि मात्र भएकोे छ । विशेषगरी सेयरमा गरिएको लगानीको प्रतिफलमा लगानीकर्ताहरू सुनिश्चित हुन नसक्ने यसको विपरीत, ऋणपत्रमा गरिएको लगानीको प्रतिफलमा प्राय विश्वस्त हुन सक्ने भएकाले समेत ऋणपत्र बजारको विकास विस्तार आवश्यक देखिन्छ ।
लगानीकर्ताहरूलाई लगानी विविधिकरण मार्फत लगानीको जोखिममा कमी तथा प्रतिफलमा वृद्धि ल्याउनमा ऋणपत्र बजारले महत्वपूर्ण सहयोग पुर्याउँंछ । जोखिम लिन नचाहने तथा तुलनात्मक रुपमा छोटो समयका लागि लगानी गर्ने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको महत्वपूर्ण साधन हुने गर्दछ । साथै, बैंकिङ क्षेत्रले बढ्दो ऋणको माग पूरा गर्न र समग्र वित्तीय प्रणालीको तरलतामा प्रभाव नपर्ने गरी दीर्घकालीन पुँजी/साधनको उपलब्धतालाई सुनिश्ति गर्ने कार्यमा ऋणपत्र बजारले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यस बजारले विभिन्न उद्यम तथा व्यवसायिक गतिविधिहरुका अतिरिक्त साना तथा मझौला उद्योगलाई आवश्यक पुँजीको उपलब्धतालाई समेत सहयोग पु¥याउंँछ ।
ऋणपत्रको कारोवारबाट ऋणपत्रको प्रतिफल र जोखिम समान भएका ऋणपत्रहरुको परिपक्व हुने समयावधि वीचको सम्बन्ध देखिने गरि तयार हुने रेखालाई प्रतिफल बक्ररेखा भनिन्छ । ऋणपत्र बजारको विकासका लागि ऋणपत्रको प्रतिफल बक्ररेखाको महत्वपूर्ण भूमिका हुन्छ । विशेषगरि विकास ऋणपत्रको दोस्रो बजार कारोवार भएमा संस्थागत ऋणपत्र बजार विकासका लागि आय बक्ररेखा आधार बन्ने तथा यसका आधारमा नयां निष्काशन गरिने संस्थागत ऋणपत्र तथा विकास ऋणपत्रको ब्याज निर्धारण गर्न सहज हुने तथा लगानीकर्ताहरूलाई उपयुक्त अवधिको ऋणपत्र छनौट गर्न समेत सहज भई बृहत आधारको ऋणपत्र बजारको विकास हुने अनुकूल वातावरण तयार हुन सक्दछ । ऋणपत्रको आय बक्ररेखाको अभावका कारण देशमा आधार ब्याजदर तयार भई यसबाट देशमा संस्थागत क्षेत्रले विभिन्न प्रकृतिका ऋणपत्र निष्काशनका लागि सहजरुपमा उपयुक्त ब्याजदर तोक्न सक्ने र समग्र ब्याजदरमा स्थिरता आउने अवसर उपलब्ध हुन सकिरहेको छैन ।
संस्थागत तथा विकास ऋणपत्रको व्यवस्थित दोस्रो बजार भएमा सरकार/सरकारी निकाय तथा संस्थागत क्षेत्रका कम्पनीहरुलाई ऋणपत्र जारी गरी न्यून लागतमा कुनै निश्चित अवधिको मध्यमकालीन तथा दीर्घकालीन पँुजी आवश्यकता पूर्ति गर्न संभव हुने गर्दछ । विशेष गरी ऋणपत्रको प्रभावकारी दोस्रो बजारले ऋणपत्रमा तरलता प्रदान गर्न तथा उपयुक्त मूल्य निर्धारणमा सहयोग पुर्याउँंछ ।
वित्तीय प्रणालीमा ऋणपत्र बजारले ऋणको माग भएको पक्षलाई निश्चित ब्याज प्राप्त हुने औजारमा लगानी गर्न इच्छुक लगानीकर्तासंग जोड्ने कार्य गरी ऋण आपूर्तिका लागि बैंकहरुमा हुने अत्यधिक निर्भरतामा कमी ल्याई बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापनमा सहयोग पुर्याउँंछ । त्यस्तै, ऋणपत्रको अभौतिकीकरण भई धितोपत्र विनिमय बजारमार्फत् प्रभावकारीरुपमा दोस्रो बजार कारोवारको व्यवस्था भएमा देशमा पर्याप्त गहिराई तथा चौडाइसहितको ऋणपत्र बजारको विकास तथा विस्तार हुने र यसले एकातर्फ ऋणपत्रको सही मूल्य निर्धारणमा पद्दत पुग्दछ भने अर्कोतर्फ देशको पूर्वाधार विकास, हाउजिङ्ग, तथा निजी क्षेत्रलाई आवश्यक पर्ने मध्यमकालीन तथा दीर्घकालीन वित्तीय स्रोतको आपूर्ति गर्न सहज हुने गर्दछ ।
ऋणपत्र बजारले मौद्रीक नीतिको प्रभावकारीता बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले देशको आर्थिक विकासको लागि ऋणपत्र बजार ज्यादै महत्वपूर्ण हुने गर्दछ । साथै यसले निवृत्तिभरण कोष (पेन्सन फण्ड) र बीमा कम्पनीहरु जस्ता संस्थागत लगानीकर्ताहरुलाई दीर्घकालीन लगानी औजारको रुपमा लगानी अवसर प्रदान गर्दछ ।
अन्ततः ऋणपत्र बजारले देशको वित्तीय क्षेत्र विविधिकरण गर्न तथा वैदेशिक मुद्रामा आधारित ऋण लगानी भएको अवस्थामा वैदेशक मुद्रा जोखिम न्युनिकरण गर्न मद्दत गर्दछ । साथै ऋणपत्रको प्रभावकारी बजारले देशको अर्थतन्त्रलाई विभिन्न आर्थिक तथा वित्तीय फाइदा प्रदान गरेको हुन्छ । सरकारी ऋणपत्रको प्रभावकारी दोस्रो बजारले सरकारलाई बहुसंख्यक नयां लगानीकर्ताहरुमार्पmत् न्यून लागतमा ठूलो परिमाणमा आन्तरिक ऋण परिचालन गर्न सहज हुने गर्दछ । ऋणपत्र बजारको अवस्थाले देशको वित्तीय प्रणाली एवं अर्थतन्त्रको विकासको अवस्थालाई समेत चित्रण गर्ने भएकोले विभिन्न दृष्टिकोणबाट देशको अर्थतन्त्रको विकास तथा विस्तार तथा गतिशीलता अभिबृद्धिको लागि ऋणपत्र बजारको विकास हुनु आवश्यक मानिन्छ ।
ऋणपत्र बजार सम्बन्धी व्यवस्था तथा बजारको वर्तमान अवस्था
राष्ट्र बैंकले ऋणपत्रको प्राथमिक निष्काशन तथा दोस्रो बजार कारोवारका लागि राष्ट्र ऋण ऐन, २०५९ अन्र्तगत ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१ बनाई लागू गरेको छ । यस नियमावलीले सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार गर्ने प्रयोजनका लागि बैंकले कारोवार गरिने ऋणपत्रको किसिम, रकम, ब्याजदर, सांवा ब्याज भुक्तानी अवधि लगायतका विवरण खोली धितोपत्र बजारमा सूचिकृत गराई दलाल वा बजार निर्माता मार्फत धितोपत्र विनिमय बजारमा दोस्रो बजार कारोवार गर्न सकिने ब्यवस्था गरेको छ ।
साथै, नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ नेपाल सरकारको स्वीकृतिमा लागू गरी धितोपत्र बजारमार्फत् दोस्रो बजार कारोवारका लागि सूचीकरण गराउनु पर्ने, धितोपत्र व्यवसायीले आफूले कारोवार गरेको कारोवारको रकम, सरकारी ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेजी पत्र, बिक्रेताको लिखत तथा अन्य आवश्यक विवरण र कागजातहरु कारोवार भएकै दिन धितोपत्र बजारले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गरी कारोवार राफसाफ गर्नु पर्ने र धितोपत्र दलालले आफूमार्फत् भएको ऋणपत्रको कारोवार सम्बन्धी विवरण छुट्टाछुट्टै अभिलेख राख्नु पर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा निर्माता) नियमावली, २०६४ लागू गरी उक्त नियमावलीको अनुसूची(१४ मा नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिद बिक्री कारोवारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क कारोवार रकमका आधारमा कम्तिमा ०.०२ तथा बढीमा ०.१० प्रतिशत लिन सक्ने व्यवस्था रहेको छ ।
साथै, सिडिएस एण्ड क्लियरिङ्गले बोर्डको स्वीकृतिमा धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ लागू गरी उक्त विनियमावलीको विनियम ८ मा सरकारी ऋणपत्रको अभौतिकीकरण गरी कारोबार राफसाफ तथा नामासारी गर्ने र अभौतिकीकरणका लागि कुनै दर्ता शुल्क तथा वार्र्षिक शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंक ले विकास ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापनका लागि ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली,२०६१ बनाई लागू गरेको छ । त्यस्तै नेपाल स्टक एक्स्चेन्ज लि.ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्र्तगत विकास ऋणपत्रको कारोवारका लागि सरकारी ऋणपत्रको दोस्रो बजार ब्यवस्थापन विनियमावली, २०६२ तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार संचालन विनियमावली, २०६२ बनाई लागू गरेको छ । यस विनियमावलीको ब्यवस्था अनुसार नेपाल स्टक एक्स्चेन्जले विकास ऋणपत्रको दोस्रो बजार कारोवारको सुविधा दिई सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार संचालन गर्ने गरेको छ ।
विकास ऋणपत्रको नेपाल स्टक एक्स्चेन्ज लि. मार्फत दोस्रो बजार कारोवारको शुरुवात २०६३ मंसिर २९ बाट भएको भएतापनि नेपाल स्टक एक्सचेञ्जको तत्कालिन कारोबार प्रणालीमा ऋणपत्र औजारलाई परिभाषित नगरिएको कारणले ऋणपत्रको कारोबार नेपाल स्टक एक्सचेञ्जले २०७५ कार्तिक ६ गते देखि स्वचालित कारोवार प्रणाली लागू गर्नु अघिसम्म मानवीयरुपमा नै हुने गरेको थियो ।
नेपाल स्टक एक्स्चेन्जमा ऋणपत्रको कारोवारका लागि आइतबार देखि विहीबार १२ बजे देखि ३ बजेको समय तोकिएको छ । कारोवारको रकम, ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेज पत्र, विक्रेताको लिखत तथा अन्य आवश्यक विवरण र कागजात कारोवार भएकै दिन धितोपत्र बजारले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गर्नुपर्ने ब्यवस्था रहेको छ । तोकिएको अवधिमा कारोवारको राफसाफ गर्न नसकि निवेदन गरेमा विनिमय बजारले प्रतिदिन शून्य दशमलब शून्य पाँच प्रतिशत बिलम्ब शुल्क र ऋणपत्रमा तोकिएको ब्याजदर अनुसार बिलम्ब अवधिको ब्याज रकम समेत थप गरी भुक्तानी दिने गरी कारोवार भएको बढीमा तेस्रो दिनसम्म म्याद थप गरी दिन सक्ने ब्यवस्था समेत रहेको छ ।
ऋणपत्र कारोबारको मूल्य परिवर्तन सीमा प्रतिदिन शुरु कारोवार हुदा अघिल्लो दिनको अन्तिम कारोवार मूल्यको + ०.१ प्रतिशत तथा तत्पश्चातको प्रत्येक कारोवारमा + ०.०५ प्रतिशत र दिनभरको कारोवारमा + ०.०२ प्रतिशत हुने ब्यवस्था रहेको छ । त्यस्तै, संस्थागत ऋणपत्र एक कित्ता अर्थात् १,००० रुपैयाँको मात्र कारोवार हुनसक्ने व्यवस्था भएपनि विकास ऋणपत्रको कारोवार कम्तिमा २५,००० रुपैयाँ लटमा हुने ब्यवस्था रहेको छ ।
ऋणपत्रको कारोवार गर्दा २५,००० रुपैयाँ भन्दा कम मौज्दात वाँकी रहने भएमा पुरै रकम तथा २५,००० रुपैयाँ भन्दा कम मूल्यको ऋणपत्रको हकमा पुरै रकमको ऋणपत्र कारोवार गर्न सकिने गरि ऋणपत्रको कारोवारको सहज ब्यवस्था गरिएको छ । साथै, विकास ऋणपत्रको कारोवार बापतको दलाली दस्तुर सम्बन्धमा कारोवार रकम रु.५,००,००० सम्म भएमा ०.१० प्रतिशत, कारोवार रकम ५,००,००० देखि ५०,००,००० रुपैयाँसम्म भएमा ०.०५ प्रतिशत तथा कारोवार रकम ५०,००,००० रुपैयाँभन्दा बढी भएमा ०.०२ प्रतिशत हुने ब्यवस्था रहेको छ ।
समग्रमा विकास ऋणपत्रको स्वामित्व संरचना हेर्दा ९९ प्रतिशत भन्दा बढी संस्थागत स्वामित्व रही व्यक्तिगत लगानीकर्ताहरूको सहभागिता एकदमै न्यून रहेको देखिन्छ ।
नेपालको ऋणपत्र बजारको विकास हालसम्म अपेक्षितरुपमा हुन सकेको छैन । नेपालमा ऋणपत्र सरकार तथा संगठित संस्था (सुचिकृत कम्पनी) दुवैले जारी गर्दै आएका छन । ऋणपत्रको सार्वजनिक निष्काशन उल्लेख्य रुपमा हुँदै आएता पनि दोस्रो बजारमा यसको कारोवार अत्यन्तै न्यून रहेको देखिन्छ ।
नेपालमा संस्थागत ऋणपत्र तथा सरकारी विकास ऋणपत्रहरुको कारोवार नेपाल स्टक एक्स्चेन्ज लि.(नेप्से) को प्रणालीबाट हुने व्यवस्था भएता पनि सरकारी ऋणपत्रको कारोवार उक्त प्रणालीमार्फत हालसम्म हुन सकेको छैन । नेपालमा ऋणपत्र निष्काशनको इतिहास हेर्दा दक्षिण एशियाली अन्य देशहरु जस्तै सरकारी ऋणपत्रको निष्काशनको बाहुल्यता रहेको छ ।
समग्रमा संस्थागत ऋणपत्र बजारको अवस्था तथा विकास हेर्दा निष्काशनकर्ता कम्पनी तथा लगानीकर्ता दुवै नगन्य रहेको छ । ऋणपत्रको दोस्रो बजार मूल्य ऋणपत्रको उपलब्धता, आदेशको आकार, खरिद बिक्री वापतको दलाली दस्तुर, कारोवार, राफसाफ तथा फछ्र्यौट पद्धति तथा आदेश कार्यान्वयन समयावधि आदिबाट प्रभावित हुने गर्दछ ।
व्यवस्थित कारोवार प्रणालीको अभाव, व्यक्तिगत लगानीकर्ताहरुको न्यून सम्लग्नता, जानकारी तथा सचेतनामा कमी, ज्यादै उतार चढावयुक्त धितोपत्र (सेयर) बजार, उतार चढावयुक्त तरलता तथा ब्याजदर आदि जस्ता कारणहरुले समेत नेपालमा हालसम्म बजारको व्यवस्थित एवं प्रभावकारीरुपमा विकास तथा विस्तार हुन सकिरहेको देखिदैन् । फलस्वरुप, धितोपत्रको दोस्रो बजारमा संस्थागत ऋणपत्र तथा सरकारी विकास ऋणपत्र विगत करिब डेड दशक (१५ वर्ष) देखि सूचीकरण हुदै आएको भएतापनि नेप्सेको स्वचालित कारोवार प्रणालीमार्फत् विगत एक (१) वर्ष अघिदेखि मात्र संस्थागत ऋणपत्रको ज्यादै न्युन मात्रामा कारोवार हुने गरेको देखिन्छ ।
सरकारी ऋणपत्रको अभौतिकिकरण नभएको कारण नेप्सेको प्रणालीबाट कारोवार हुन नसकेको देखिन्छ । यस्ता ऋणपत्रहरुको कारोवार अत्यन्तै न्युन मात्रामा ओटिसी बजारमार्फत् हुंदै आएको छ । त्यस्तै, एक वर्ष अघिसम्म संस्थागत ऋणपत्रको समेत नेप्सेको कारोवार प्रणालीमार्फत् कारोवार नभै नेप्सेले संचालन गर्दै आएको ओटिसी बजारमार्फत् मानवीयरुपमा नै कारोबार हुने गरेकोमा नेप्सेले २०७५ कार्तिक ६ गते देखि स्वचालित कारोवार प्रणाली लागू गरेको करिब एकवर्ष पश्चात् २०७६ पुष देखि उक्त प्रणालीमार्फत् न्यून मात्रामा नियमितरुपमा कारोवार हुने क्रमको शुरुवात भई २०७६ पुष, २०७६ माघ, २०७६ फागुन, २०७६ चैञ, २०७७ बैंशाख, २०७७ जेठ, २०७७ असार, २०७७ साउन, २०७७ भाद्र तथा २०७७ आश्विनमा क्रमशः रु.१५ करोड ८२ लाख, रु.२९ लाख ५० हजार, रु.१३ ४० हजार, रु.१ लाख ८० हजार, रु.शून्य, रु.शून्य, रु.शून्य, रु.९ लाख ६६ हजार, रु.२ करोड २२ लाख, तथा रु.१ करोड २५ लाख मूल्य बरावरको ऋणपत्र कारोवार भएको देखिन्छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागबाट उपलब्ध तथ्याङ्क अनुसार धितोपत्रको ओटिसी बजारमार्फत् भएको सरकारी ऋणपत्रको दोस्रो बजार कारोवारको स्थिति हेर्दा आर्थिक वर्ष २०७२।७३, २०७३।७४, २०७४÷७५, २०७५/७६ तथा २०७६/७७ मा क्रमशः रु.१ करोड, रु.३ करोड ९३ लाख, रु.४३ करोड ७७ लाख, रु.१३ अर्ब ३४ करोड २३ लाख तथा रु.१ अर्ब ४४ करोड ७५ लाख मात्र भएको देखिन्छ ।
संस्थागत ऋणपत्रको उक्त मासिक कारोवार रकम तथा सरकारी ऋणपत्रको वार्षिक दोस्रो बजार कारोवार रकम धितोपत्र बजारमा उक्त अवधिमा हुने गरेको दैनिक औषत करिब रु १ अर्ब मूल्य बरावरको सेयरको कारोवारको तुलनामा ज्यादै न्यून रहेको छ । विभिन्न समयावधि तथा व्याजदरका ऋणपत्रको निष्काशनमा कमी र ऋणपत्रको नियमित निष्काशन तथा ऋणपत्रको प्रभावकारी दोस्रो बजार नहुनाले नै बजारमा आधारित मूल्य तथा व्याजदर निर्धारण र आय बक्ररेखा निर्माण प्रकृयाका लागि उपयुक्त वातावरण विकास हुन सकेको देखिँदैन ।
ऋणपत्रको दोस्रो बजार प्रभावकारी हुन नसकेतापनि प्राथमिक बजारमा ऋणपत्रको निष्काशन भने नियमितरुपमा भइरहेको देखिन्छ । नेपालमा आर्थिक वर्ष २०५०/५१ देखि छुट्टै नियमन निकाय नेपाल धितोपत्र बोर्डको स्थापना सहित अन्य न्यूनतम पूर्वाधार समेतको व्यवस्था सहित संगठित धितोपत्र बजारको विकास विस्तारको शुरुवात भएको करिब पाँच वर्ष पश्चात् आर्थिक वर्ष २०५४/५५ देखि श्री श्रीराम शुगर मिल्सले रु.९ करोड ३० लाख रकमको ऋणपत्र निष्काशन शुरुवात गरे पश्चात् विगत १६ वर्ष देखि नियमितरुपमा ऋणपत्र निष्काशन हुँदै आएकोमा पछिल्ला ५ आर्थिक वर्ष २०७२/७३, २०७३/७४, आर्थिक वर्ष २०७४/७५, आर्थिक वष २०७५/७६ तथा आर्थिक वर्ष २०७६/७७ मा क्रमशः १ अर्ब ४५ करोड, २ अर्ब ९० करोड, ३ अर्ब, २९ अर्ब ९८ करोड तथा.२३ अर्ब ४५ करोड रुपैयाँ भई ऋणपत्रको निष्काशन रकममा बृद्धि हुंँदै गएको देखिन्छ ।
ऋणपत्र निष्काशनसँगै निष्काशित ऋणपत्रहरुको दोस्रो बजार कारोवारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुँदै आएको देखिन्छ । ऋणपत्रको कारोवारको राफसाफ तथा फछ्र्यौट टि+० मा हुने कानुनी व्यवस्था भएतापनि अन्तर्राष्ट्रिय स्तरको राफसाफ तथा फछ्र्यौट प्रणालीको अभावका कारण हालसम्म अन्य धितोपत्र कारोवारको राफसाफ जस्तै ऋणपत्र कारोवारको राफसाफ समेत टि+३ मा नै हुने गरेको छ ।
यसरी देशमा ऋणपत्र निष्काशनमार्फत् मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालनमा सरकारको बाहुल्यता रहेदै आएकोमा हाल संस्थागत क्षेत्रबाट पनि ऋणपत्र निष्काशनमार्फत् बजारबाट मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालन गर्ने अभ्यासमा बृद्धि हुँदै जानुले समग्र वित्तीय प्रणालीको स्थायित्व एवं सन्तुलित विकास विस्तारमा सहयोग पुग्ने वातावरण विकास हुँदै गएको देखिन्छ । यसलाई निरन्तरता दिनका लागि समेत देशमा ऋणपत्रको सक्रिय दोस्रो बजारका लागि आवश्यक अन्तर्राष्ट्रियस्तरको कारोबार र राफसाफ तथा फछ्र्र्याैट प्रणालीको विकास गर्न आवश्यक देखिन्छ ।
ऋणपत्र बजार विकासका समस्या तथा समाधानका उपायहरु
ऋणपत्रको दोस्रो बजार कारोवारको हालसम्मको स्थिति हेर्दा यो बजार सक्रिय एवं प्रभावकारी रुपमा विकसित हुन सकेको देखिँदैन । ऋणपत्रको दोस्रो बजार कारोवार तथा विकासका सम्बन्धमा देखिएका केही समस्याहरु देहाय अनुसार रहेका छन् ।
-विभिन्न प्रकारको ब्याजदर तथा परिपक्व अवधिका विकास तथा संस्थागत ऋणपत्रहरुको नियमित निष्काशनमा कमी ।
-छोटो, सरल तथा न्यून लागतयुक्त निष्काशन प्रक्रियाको अभाव ।
-व्यक्ति र संस्थालाई ऋणपत्रको व्याँजमा फरक दरमा कर (व्यक्ति ५ प्रतिशत, संस्था १५ प्रतिशत) लाग्ने हुनाले व्यक्ति र संस्थाबीच कारोबार तथा कारोबारको राफसाफ गर्नमा समस्या ।
-सरकारी ऋणपत्रमा संस्थागत क्षेत्रको स्वामित्व ९९ प्रतिशत बढी तथा व्यक्तिगत लगानीकर्ताको स्वामित्व १ प्रतिशत भन्दा कममात्र हुनु ।
-सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको एकीकृत दोस्रो बजारको अभाव र सरकारी ऋणपत्रको निष्काशनमा व्यक्तिगत लगानीकर्ताहरुको लगानी पहुंच कम हुने गरेको हुँदा सरकारी ऋणपत्रको अभौतिकीकरण भई धितोपत्र दलाल व्यवसायीमार्फत् दोस्रो बजार कारोवार भएमा मात्र व्यक्तिगत लगानीकर्ताहरुलाई सरकारी ऋणपत्र खरिदको अवसर उपलब्ध भई दोस्रो बजार सक्रिय हुनेमा सो हालसम्म हुन नसक्नु । साथै अर्थतन्त्रमा एउटै कार्य गर्ने औजारहरुको दुईवटा पृथक बजार हुंदा लगानीकर्ताको कृतिम विविधिकरण तथा सम्बन्धित संस्थाहरुको भिन्न भिन्न नियमन हुने अवस्था विद्यमान हुनु ।
-लगानीकर्ताहरूमा ऋणपत्र बजार, ऋणपत्रको लगानीमा जोखिम तथा प्रतिफल र कारोवार प्रकृया सम्बन्धी जानकारीमा कमी हुने ।
-कमजोर ब्याजदर संरचना र विकास ऋणपत्र निष्काशनको निरन्तरता तथा निश्चित समय अन्तरालको अभाव ।
-उतारचढावयुक्त सेयर बजार तथा लगानीकर्ताहरूको सट्टेवाजी प्रवृत्ति एवं दीर्घकालीन लगानीमा कमी ।
-बजार पूर्वाधारहरूः स्वचालित ओटिसी बजार, सहज, स्तरीय, प्रतिस्पर्धी एवं परिपक्व शाख मूल्यांकन पूर्वाधारको अभाव ।
-संस्थागत सुशासनको कमजोर अभ्यास र नियमन व्यवस्था तथा पूर्वाधार सम्बन्धी कमी कमजोरी ।
-संस्थागत लगानीकर्ता विशेष गरी कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीहरू तथा म्यूचुअल फण्ड, विभिन्न संस्थाहरुबाट परिचालित कर्मचारी कल्याण कोषहरूको धितोपत्रको दोस्रो बजार कारोवारमा सम्लग्नतामा कमी तथा सर्वसाधारण लगानीकर्ताहरुमा रहेको सट्टेबाजी लगानी प्रवृत्तीका कारण ऋणपत्रको माग पक्ष कमजोर हुनु, आदि ।
ऋणपत्र बजारको विकास एवं विस्तारका उपायहरु
पर्याप्त गहिराई तथा तरल ऋणपत्र बजारलाई देशको वित्तीय पूर्वाधारको एक महत्वपूर्ण कडिको रुपमा लिइन्छ । ऋणपत्रको सुदृढ बजारको सुनिश्चित गर्ने कुनै खाश नियम नभएतापनि बजार प्रबद्र्धनका लागि केही खास तत्वहरूको उपस्थिति आवश्यक देखिन्छ । यसका लागि सुदृढ कानुन र स्पष्ट तथा दोहोरो अर्थ नलाग्ने नियमहरु तथा कार्यविधि सहितको प्रभावकारी नियमन प्रणाली आवश्यक हुन्छ । ऋणपत्रको दोस्रो बजार कारोवार सक्रियता तथा कारोवार विस्तार सम्बन्धमा देहाय अनुसार गर्न आवश्यक देखिन्छ ।
-व्याँज कर सम्बन्धी व्यवस्थाको खारेजी वा व्यक्ति तथा संस्था दुवैलाई ऋणपत्रको ब्याँजमा समान दरमा न्यूनतम करको व्यवस्था ।
-ऋणपत्रमा लगानी प्रकृया, लगानी जोखिम तथा प्रतिफलको संभावना र ऋणपत्र बजार संयन्त्र सम्बन्धमा लगानीकर्ता, धितोपत्र दलाल तथा बजार निर्माताहरूमा जानकारी, सचेतता अभिवृद्धि, निरन्तर प्रचार प्रसार, तालिम तथा प्रशिक्षणका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गको संयुक्त प्रयासमार्फत् उपयुक्त संस्थागत व्यवस्था तथा नियमित कार्यक्रम संचालन ।
-विकास ऋणपत्र बजार निर्माताहरुलाई बजार निर्माण सम्बन्धी तालिम तथा प्रशिक्षणको व्यवस्था गरी बजार निर्माण क्षमतामा अभिवृद्धि ।
-सरकारी अल्पकालीन तथा दीर्घकालीन पँुजी आवश्यकता पूर्तिको संमन्वयात्मक व्यवस्था र सुदृढ ब्याजदर संरचनाको ब्यवस्था गरीे योजनावद्ध रुपमा विविध परिपक्व अवधिका विकास ऋणपत्रहरूको नियमित तालिका बमोजिम निष्काशन ।
-मुद्रास्फीतिमा स्थिरता ल्याउने तथा बाह्य ऋण नीतिको स्पष्ट व्यवस्था गरी विभिन्न प्रकृतिका ऋणपत्रहरुः पूर्वाधार विकास ऋणपत्र, स्थानीय मुद्रा ऋणपत्र तथा अन्य सृजनात्मक प्रकृतिका ऋणपत्रहरुको निष्काशन र यी लगायत अन्य सम्पूर्ण ऋणपत्रको सक्रिय खरिद बिक्रीको व्यवस्था गरी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजारलाई आवश्यक मार्गनिर्देश गर्न सक्ने ऋणपत्रको आय रेखा निर्माणको उपयुक्त वातावरणको विकास ।
-बजार पूर्वाधारहरुः ऋणपत्रको स्वचालित ओटिसी बजार मार्फत दोस्रो बजार कारोवार सुविधा अर्थात् स्वचालित आदेश कार्यान्वयन तथा विद्युतीय कारोवार स्थलको व्यवस्था, विकास ऋणपत्रको अभौतिकीकरणको सहज व्यवस्था र ऋणपत्रको कारोवार राफसाफको सुनिश्चित गर्ने राफसाफ संस्थाको स्थापना गरी टि+० को राफसाफ तथा फछ्र्याैैटको व्यवस्था ।
-ऋणपत्रको बीमा गर्ने संस्थागत व्यवस्था ।
-शाख मूल्यांकन अभ्यासको प्रवद्र्धन गरी वस्तुनिष्टरुपमा शाख मूल्याङ्कन र ऋणपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा जानकारी अभिलेख राख्ने सुदृढ संस्थागत व्यवस्था ।
-देशको लेखा परीक्षण अभ्यास तथा लेखामान स्तरमा सुधार, संगठित संस्थाहरुका लागि विवरण प्रवाहको एकीकृत व्यवस्था तथा मुलुकको संस्थागत सु–शासन अभ्यासमा सुधार र धितोपत्र बजार सम्बन्धी विद्यमान कानुनी व्यवस्थाहरूको प्रभावकारी रुपमा प्रवलीकरण, संस्थागत धितोपत्रको प्राथमिक बजार मूल्य निर्धारणको प्रतिस्पर्धी व्यवस्था र बजारको पारदर्शीता तथा सूचना प्रवाह व्यवस्थामा सुधार तथा सेयरको भित्री कारोबारको प्रभावकारी नियमन लगायत कारोवारको राफसाफ तथा फछ्र्र्याैट सुनिश्चितता कोषको सुदृढ व्यवस्था ।
-ऋणपत्रको सक्रिय कारोवारका लागि उत्साहित गर्न तथा तरलता अभिबृद्धि गर्न लगानीको विविध समायावधि, जोखिमको चाहना तथा लगानीको उद्देश्य अनुसारका विविध प्रकृतिका लगानीकर्ताहरुको आधार प्रवद्र्धन । यसका लागि विशेषरुपमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू तथा पेन्सन फण्ड व्यवस्थामा सुधार गरी यस सम्बन्धी संस्थापन ऐन तथा नियम विनियमहरूमा ऋणपत्रमा लगानी सम्बन्धमा रहेका अस्पष्ट व्यवस्थाहरू हटाउनुका साथै व्यवसायिक कोष व्यवस्थापन प्रणाली लागू गरी ऋणपत्र लगायतका अन्य वित्तीय औजारमा लगानीको सहज वातावरणको निर्माण ।
-म्युचुअल फण्ड संचालन सम्बन्धी ऐन नियमको स्पष्ट व्यवस्था लगायत संस्थागत लगानीकर्ताहरुको विकास तथा प्रवद्र्धन गरी म्युचुअल फण्डलाई उद्योगको रुपमा विकास विस्तार गरी ऋणपत्रको मागमा बृद्धि ।
-ऋणपत्र निष्काशन तथा बिक्रीको प्रभावकारी व्यवस्थापनका लागि अभौतिकरुपमा प्राथमिक निष्काशन तथा दोस्रो बजार कारोवारको व्यवस्था लगायत प्राथमिक व्यापारी तथा धितोपत्र व्यापारहरुको सुदृढ व्यवस्था गरी ऋणपत्रको माग तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन र विकास ऋणपत्रमा व्यक्तिगत लगानीकर्ताहरूको स्वामित्वमा वृद्धि ।
-नेपाल राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभाग हेर्ने डेपुटी गर्भनरको संयोजकत्व रहेने गरी गठित ऋणपत्रको प्राथमिक तथा दाश्रो बजार व्यवस्थापन समितिलाई सक्रिय बनाउनुका साथै विकास ऋणपत्रको दोस्रो बजार व्यवस्थापनका लागि सम्बन्धित ऐन नियममा हुनुपर्ने संशोधन तथा थप व्यवस्था र कारोवार तथा राफसाफ एवं फछ्र्र्याैट प्रणालीमा हुनुपर्ने सुधार तथा स्तर अभिबृद्धिका लागि दुई छुट्टाछुट्टै प्राविधिक समिति गठन गरी निश्चित समयसीमामा आवश्यक नीतिगत तथा प्रकृयागत सुधारको सूची तयार गरी सोही अनुसार सुधार कार्य अगाडि बढाउने ।
अन्तमा निश्चित आय प्राप्त हुने वित्तीय औजारको मूल्य आविष्कार, वित्तीय प्रणालीको तरलता अभिबृद्धि, निश्चित आय प्राप्त हुने औजारको निष्काशनका लागि न्यूनतम ब्याजदर तोक्ने आधारका लागि आयरेखा विकसित हुनसक्ने वातावरण तयार गर्न, बृह्त आधारयुक्त ऋणपत्र बजारको विकास गर्न, मध्यम तथा दीर्घकालीन पुँजी परिचालनको दक्ष एवं प्रभावकारी संयन्त्रको विकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहने ऋणपत्र बजारको विकास विस्तारका लागि लेखमा चर्चा गरिएअनुसार आपूर्ति, माग, जानकारी तथा सचेतना अभिबृद्धि, बजार पूर्वाधार, र कानुन तथा नियमन संरचना सम्बन्धमा रहे भएका कमीकमजोरी/अवरोधहरुलाई सम्बोधन गर्न आवश्यक देखिन्छ ।
प्रस्तुत विषय वस्तुहरुलाई जिम्मेवारी एवं गंभिरतापूर्वक ग्रहण गरी विकास तथा सुधार कार्य अगाडि बढाइएमा देशमा ऋणपत्रको प्रभावकारी दोस्रो बजार विकास एवं विस्तार हुने र यसबाट धितोपत्र बजारले स्थिरता प्राप्त गर्नुका साथै देशको समग्र वित्तीय प्रणालीमा नै स्थिरता आउने वातावरण समेत तयार हुनमा समेत सहयोग पुग्ने देखिन्छ । (कृषि विकास बैंकको ५४औं वार्षिकउत्सव आर्थिक विषेशाङ्कबाट साभार गरिएको हो ।)