ब्रिटिस कलेजमा अध्ययन गर्ने विद्यार्थीले बेलायतमा वर्किङ भिसा पाउँछन्ः अरुणलाल जोशी



थापाथलीस्थित द ब्रिटिस कलेजले स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बोलयतको वर्किङ भिसाको अफर ल्याएको छ । कलेजले स्नातक तहमा अध्ययन गर्ने नयाँ विद्यार्थीले क्रेटिड ट्रान्सफरमार्फत् २ वर्ष बेलायतमा गइ अध्ययन गर्ने र त्यसपछि वर्किङ भिसा पाउने भनेको छ । कलेजले विद्यार्थीहरु बेलायतमा गइ कम्तीमा २ वर्ष अध्ययन गरेपछि वर्किङ भिसा पाउने र ५ वर्षसम्म काम गरेको खण्ठडमा स्थायीरुपमा बसोबास गर्न समेत पाउने अफर विद्यार्थी सामू ल्याएको छ । ब्रिटिस कलेजले अहिले बीबीए (हन्स) बीएस्सी (हन्स) कम्प्युटिङ एन्ड बीएस्सी (हन्स) तथा हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्ने विद्यार्थीका लागि यो अवसर ल्याएको जनाएको छ । यसै विषयमा केन्द्रित रहेर कलेजका  एसोसिएट डिन  अरुणलाल जोशीसँग क्लिकमाण्डू डट कमले गरेको कुराकानीको अंश ।

द ब्रिटिस कलेजले अहिले विद्यार्थीहरुलाई नेपालमा अध्ययन गरेपछि बेलायतमा काम गर्न पाउने भनेर विद्यार्थीलाई आकर्षित गरिरहेको छ, यो कसरी सम्भव छ ?

ब्रिटिस कलेजमा अहिले बेलायतका २ वटा विश्वविद्यालयबाट सम्बन्धप्राप्त भइ विभिन्न कोर्सहरु सञ्चालनमा छन् । युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्ड र लिस्ट ब्याकेट युनिभर्सिटीका कोर्सहरु सञ्चालनमा छन् । यी दुबै विश्वविद्यालयका पोस्ट ग्रयाजुएट र अन्डर ग्रयाजुएट कार्यक्रम सञ्चालन गरिरहेका छौं । जसमा आइटी र बिजनेस म्यानेजमेन्टका कोर्स सञ्चालन गरिरहेका छौं ।

जहाँसम्म ब्रिटिस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बेलायतमा पीएसडब्ल्यू अर्थात् पोस्ट स्टडी वर्क भिसाको विषय छ । यसमा अहिले हामीले अन्डर ग्रयाजुएट कोर्समा ४ वर्षको कार्यक्रम सञ्चालन गरिरहेका छौं । जसमा २ वर्ष नेपालमा पढेर बाँकी २ वर्ष बेलायत जाने इच्छा छ भने त्यसलाई हामीले सहयोग गर्छौ ।

विद्यार्थीले २ वर्ष यहाँ पढेर बाँकी २ वर्ष बेलायत गएर हाम्रा पार्टनर विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी जान सक्छन् । यसको के फाइदा छ भने ब्रिटिस कलेज र त्यहाँका विश्वविद्यालयमा कोर्स एकैसाथ अगाडि बढेको छ । क्रेडिट ट्रान्सफर गर्दा विद्यार्थीलाई कति पनि घाटा हुँदैन वा उसलाई कोर्स छुट्छ कि भन्नु पर्दैन । यसका लागि हामीले स्टुडेन्ट सर्भिस डिपार्टमेन्टमार्फत् विद्यार्थीलाई त्यसका लागि सहयोग गर्छौ ।

बेलायतमा गएर यहाँ पढिसकेपछिको बाँकी कोर्स अध्ययन गर्ने हो । बेलायतमा गएर २ वर्ष पढिसकेपछि विद्यार्थी ग्रयाजुएट हुन्छ । र, त्यसपछि पोस्ट स्टडी वर्क भिसाका लागि अप्लाइ गर्न पाउँछ । जुन २ वर्षको हुन्छ । उक्त समयमा विद्यार्थीले बेलायतमै बसेर काम गर्न पाउँछन् । बेलायत सरकारको नियम अनुसार कम्तीमा त्यहाँ २ वर्ष पढेको हुनुपर्छ । विद्यार्थीले पढाइ पूरा गरिसकेपछि काम खोज्न पाउँछन् ।

के ब्याचलर र मास्टर्स दुबै अध्ययन गरेका विद्यार्थीहरुले २ वर्षको पीएसडब्लयू पाउँछन् ?

ब्याचलरको विषयमा विद्यार्थीले नेपालमा १ वर्ष अध्ययन गरेपछि अप्लाइ गर्न पाउँछन् । तर विद्यार्थीले कम्तीमा त्यहाँ गएर कम्तीमा २ वर्ष अध्ययन गर्नैपर्छ । मास्टर्सको हकमा १ वर्षको कोर्स हुन्छ । त्यो पूरा गरेपछि विद्यार्थीले २ वर्षको पीएसडब्लयू पाउँछन् ।

विद्यार्थीले कति समयसम्म काम गर्न पाउँछन् ?

विद्यार्थी अध्ययनका क्रममा नियम अनुसार काम गर्न पाउँछन् । त्यो भनेको पार्टटाइम जागिर हो । त्यसबाट विद्यार्थीलाई पढाइ खर्च उठ्ने भन्ने हुँदैन । तर विदाको समयमा बढी काम गर्न पाउँछन् । तर मुख्य कुरा विद्यार्थीले पढाइ पूरा गरेपछि प्राप्त हुने भिसामा काम गर्न पाउन भन्ने हो । पहिले काम गर्न नपाउने र पढाइ पूरा हुने वित्तिकै नेपाल फर्कनु पर्ने अवस्था थियो भने अहिले त्यो समस्या छैन । त्यसैले ब्याचलर वा मास्टर्स जे गरे पनि २ वर्षको पीएसडब्ल्यू पाइन्छ ।
पीएसडब्ल्यू सकिएपछि ५ वर्षका लागि आइएलआर (इन्डेफिनेट लिभ टु रिमेइन)का लागि आग्रह गर्न सक्छ र यदि विद्यार्थी त्यसका लागि योग्य छ उक्त भिसा पनि पाउँछ । र, बेलायतमै बसेर काम गर्न पाउँछन् ।

उच्च शिक्षाका लागि नेपालबाट विदेश जाने अधिकांश विद्यार्थीहरुको सोच काम गर्दै पढौं भन्ने हुन्छ । त्यो कुरा बेलायतको हकमा पनि लागू हुन्छ ? जति पनि विद्यार्थी छन् तपाईंले उनीहरुलाई के सुझाव दिनुहुन्छ ।

विद्यार्थी जीवनमा सबैभन्दा ठूलो कुरा पढाइ नै हो । पढाइ पूरा गरेपछि मात्रै कमाउने हो । त्यसैले विद्यार्थीले बेलायत जानुभन्दा अगाडि नै पढाइका लागि लाग्ने सबै खर्च जुटाएरै जानुपर्छ । पैसा कमाउने भनेको पढाइ पूरा गरेपछि प्राप्त हुने पीएसडब्यूमा हो । त्यसभन्दा अघि विद्यार्थीले पढाइका लागि लाग्ने सम्पूर्ण खर्च यहीँबाट योजना बनाएर जानुपर्छ । विद्यार्थी जीवनमा पार्टटाइम काम गरेर पैसा कमाउन सकिन्न । विद्यार्थी जीवनमा पढाइको दौरानमा काम गर्न पर्याप्त समय पनि हुँदैन र नियमले पनि त्यो दिँदैन । मुख्य कुरा के हो भने ४ वर्षको कोर्स बेलायत गएर पढ्नुको साथै नेपालमै २ वर्ष पढेर बाँकी पढाइ त्यहाँ पुगेर पढ्न पाउनु विद्यार्थीका लागि राम्रो अवसर पनि हो । बेलायतमा गएर २ वर्षको पढाइका दौरानमा उनीहरुले सीप सिक्ने हो । पढाइलाई निरन्तरता दिँदै समाज बुझ्ने हो । त्यसैले विद्यार्थीहरुले योजना बनाउँदा दीर्घकालीन योजना बनाउनु पर्छ ।

क्रेडिट ट्रान्सफर गरेर विद्यार्थी बेलायत जाँदा आर्थिक अवस्था कस्तो हुनुपर्छ ?

बेलायत सरकारले विद्यार्थी अध्ययन गर्न आउँदा उसले पढाइका लागि लाग्ने खर्च जुटाउन सक्छ वा सक्दैन भन्ने हेर्ने हो । त्यसो गर्न सक्ने विद्यार्थीले भिसा पाउँछन् । नसक्नेले पाउँदैनन् । विद्यार्थीले बुझ्नु पर्ने विषय भनेकै आफू आर्थिक रुपमा बेलायत गएर पढ्न सक्छु नै भन्ने हो । त्यसका लागि न्यूनतम बैंक ब्यालेन्स देखाउनुपर्छ ।

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयमा एउटै कोर्स र एकै समयमा हुन्छ भन्नु भयो, शुल्कका हिसाबले त्यही कोर्स बेलायतमा गएर पढ्दा कति फरक पर्छ ?

बेलायतमा गएर पढ्न निकै महंगो पर्छ । नेपालमा लाग्ने शुल्कको तुलनामा ४ गुणा बढी हु्न्छ । नेपालमा १० लाख रुपैयाँमा सकिने कोर्स बेलायतमा जाँदा ४० लाख रुपैयाँ खर्च लाग्छ । कोर्स एउटै हो । कोर्स शुरु हुने र सकिने अवधि पनि एउटै हो । तर विद्यार्थीले यहाँ पढ्दा र बेलायतको विश्वविद्यालयमा गएर पढ्दा ४ गुणा खर्च बढी लाग्छ । बेलायतमा गएर ४ वर्ष महंगोमा पढ्नुभन्दा नेपालमै २ वर्षसम्म कम खर्चमा पढ्नुमा विद्यार्थीलाई सहज हुन्छ ।

ब्रिटिस कलेजले सम्बन्धित विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर त गरिदिन्छ । तर के भिसा प्रक्रियाको काम पनि आफैले गर्ने हो वा कुनै कन्सलटेन्सीमार्फत् जाने हो ?

भिसाको काम गर्नका लागि हाम्रो कलेजलाई अनुमति छैन । हामीले विद्यार्थीलाई आवश्यक सम्पूर्ण प्रक्रियाबारे परामर्श दिन्छौं । त्यसका लागि कलेजमै छुट्टै डिपार्टमेन्ट नै स्थापना हुन्छ । हामीले कन्सलटेन्सीहरुसँग सहकार्य गर्ने वा कन्सलटेन्सी गर्ने काम पनि गर्ने होइन । यसमा अब भिसाको काम कसरी गर्ने भन्ने विषयमा हामी छलफलको तयारीमा छौं । क्रेटिड ट्रान्सफर गरिसकेपछि भिसा विद्यार्थी आफैले पनि गर्न सक्छन् वा के कसरी विद्यार्थीलाई सहज बनाउने भन्ने विषयमा हामी अहिले तयारी गरिरहेका छौं । हामीले खाली परामर्श मात्रै दिने हो ।


पुष्प दुलाल