यसरी ‘रिभाइभ’ गर्न सकिन्छ पोखराको पर्यटनः विकल तुलाचनको लेख
कोरोना महामारीबाट अतिप्रभावित भएको पोखराको पर्यटन क्षेत्र अहिले रिभाइभ हुने क्रममा छ । तर अपेक्षाकृतरुपमा रिभाइभको गति बढ्न सकेको छैन ।
तथ्यांकगत हिसाबले हेर्दा हाल पोखराका होटलको संख्याका आधारमा कुल ३० हजार बेड संख्या छ । जसमध्ये अहिले सर्भाइभ हुने गरी पनि होटलको बेड अकुपेन्सी छैन । दशैं र तिहारपछि केही सकारात्मक संकेत नदेखिएको होइन । तर त्यो क्षणिकमात्रै भयो ।
पोखराको पर्यटन क्षेत्र सामान्य अवस्थामा आउनु भनेको कम्तीमा आधा संख्या अर्थात् दैनिक १५ हजार बेड संख्या अकुपेन्सी हुनैपर्छ । तब मात्रै पोखराको होटल क्षेत्रमा रिभाइभ गर्न सकिन्छ ।
पोखरामा सञ्चालन भएका होटल तथा रेष्टुराँमा १८ हजार प्रत्यक्षले रोजगारी पाइरहेका थिए । जसमध्ये केहीको रोजगारी गुमेको छ भने केही विदामा बस्न भएका छन् । यदि आधा जति बेड संख्या रिभाइभ हुने अवस्था आयो भने उनीहरुको रोजगारी पनि गुम्दैन भने होटलसँगै अन्य क्षेत्र पनि विस्तारै खुल्न थाल्छन् ।
दशैं र तिहारपछि विगतका वर्षमा अंग्रेजी नयाँ वर्षमा पोखरामा पर्यटक धेरै आउँथे । तर यो पटक त्यस्तो भएन । सामान्य मात्रै भयो । होटलहरु खुले पनि राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् ।
फेरि पोखरामा किन आउने त भन्ने प्रश्न पनि भयो । पोखरालाई ट्रान्जिट प्वाइन्ट बनाएर जाने गन्तव्यहरु पछिल्लो समयमात्रै आएर केही खुल्न थालेका छन् । तर पर्यटक छैनन् । त्यसो हुँदा अन्य क्षेत्र बन्द हुँदा पोखरा आउने पर्यटक घटे ।
पोखरा प्राकृतिक रुपले मात्रै सम्पन्न भयो । हिमाल र ताल मात्रै हेर्ने कति नै आउँछन् र ? अब हामीलाई कृतिम पूर्वाधारको पनि आवश्यकता हुन थालेको छ । यस्ता पूर्वाधारहरु निर्माण हुनु निकै जरुरी छ ताकी पोखरामा आउनेको संख्या र पर्यटकको बसाइ अवधि धेरै होस् ।
अब हामीहरुले फेवाताल लगायतका तालको पानीमा डुंगा मात्रै चलाएर भएन । पानीसँग खेलिने साहासिक खेला पनि शुरु गर्न सकिन्छ । केही समयदेखि केबुलकार पनि सञ्चालनमा आउँदैछ । यी र यस्ता पूर्वाधार निर्माणमा अब लगानी बढाउनु पर्छ ।
कोरोना भाइरसको महामारी शुरु हुनुभन्दा अगाडि पोखराको पर्यटन क्षेत्रमा ठूलो लगानी आइरहेको थियो । भइरहेका संरचनामा क्षमता बढाउने र नयाँ लगानी पनि भित्रिने क्रम शुरु भएको थियो ।
तर कोरोनाका कारण त्यो काम ठप्प जस्तै भयो । त्यसपछि अहिले कोरोना महामारीपछि होटल र रेष्टुराँ सरकारले खुलाउने भने सहज भने छैन । केही व्यवसायीलाई खुला गरे पनि आम्दानीभन्दा बढी खर्च हुने भएपछि धेरै होटल अझै पनि बन्द छन् भने केही होटलहरुले जेनतेन खोलेको अवस्था छ ।
पछिल्लो समय कोरोना भाइरसको खोप ल्याउने समाचारले पनि पर्यटन क्षेत्रमा रिभाइभ हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ । तर यसैपछि नोभेम्बरपछिको समयमा यसै पनि पर्यटकको कमी आउने समय हो । ट्रेकिङको गतिविधि कम हुने र चाडपर्व पनि सकिने भएकाले अब केही कमी आउँछ ।
पोखरामा पर्यटन क्षेत्रको रिभाइभ हुनुको कारण पोखरा विभिन्न गन्तव्यका लागि ट्रान्जिट प्वाइन्टका रुपमा पनि विकसित हुनु हो । जबसम्म भारतीय र अन्य देशका विदेशी पर्यटक सहजरुपमा आगमन हुने अवस्था रहन्न तबसम्म पोखराको पर्यटन क्षेत्र पूर्णरुपमा सञ्चालन हुन सक्ने अवस्था छैन ।
अहिले भइरहेको अवस्था चलायमान गर्नका लागि मात्रै हो । यसले सबै होटल तथा रेष्टुराँहरु सञ्चालन हुन सक्ने अवस्था पनि छैन । फेरि तत्कालै विदेशी पर्यटकलाई नेपाल आउन सहज नहुने भएको अवस्थामा सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनमा नीति बनाउनुपर्छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी घाटा भाडामा होटल सञ्चालन गर्नेलाई उनीहरुलाई नै भयो । २० देखि २५ प्रतिशत भाडामा बस्नेमध्ये कतिपयले त होटल क्षेत्र नै छाडेको अवस्था छ । यद्यपि केही नयाँ पनि नआएका होइनन् ।
भाडामा बस्नेहरुलाई केही घरभेटीहरुले पनि केही अवस्था सहज बनाइदिएका थिए । पूर्णरुपमा लकडाउन भएको समयमा केही समस्या थिएन । तर जब होटल खुल्ने अवस्था आयो त्यसपछि अझ गाह्रो भएको छ । होटल खुलेका छन् तर पर्यटक नआउँदा आम्दानी भएको छैन तर खर्च मात्रै बढिरहेको छ ।
लकडाउनअघि ३० वटा जति निर्माणका क्रममा थिए । जसमध्ये १० वटा होटल जति थ्री स्टारभन्दा माथिल्लो स्तरका थिए । तर लकडाउका कारणले ती होटल निर्माणमा रोकिएको अवस्था थियो । तर अहिले असोजपछि ती होटल निर्माणले पनि केही गति लिएको छ ।
त्यसका साथै भारतीय पर्यटक ल्याउनका लागि कोरोना महामारीलाई लक्षित गरी कार्यविधि बनाएर ल्याउन सक्यो भने पोखरा मात्रै होइन समग्र देशको पर्यटन विकासमा सहयोगी बन्छ ।
जस्तो जनकपुरको जानकी मन्दिरमा भारतबाट आएर विवाह गर्ने चलन रहेछ । त्यहाँ आउने पर्यटकलाई पोखरासम्म पनि ल्याउन सकिन्छ । त्यसबाहेक पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि हवाई कनेक्टिभिटी पनि महत्वपूर्ण छ । अहिले आन्तरिक रुपमा काठमाडौंबाहेक भैरहवा र भरतपुरबाट सिधा उडान भएकाले केही सहज पनि भएको छ ।
कोरोना महामारीबाट प्रभावित क्षेत्रका लागि सरकारले सहुलियत दरमा कर्जा उपलब्ध गराउने भनेको थियो । जसमध्ये होटल क्षेत्र पनि थियो । कर्मचारीको तलब र भाडाका लागि सहुलियत दरमा कर्जा र कर्जालाई पुनसंरचना र पुनरतालिकिकरण गर्ने भनेको थियो ।
तर अहिले सबै होटलले पाउन सकेको अवस्था छैन । पोखराका अधिकांश होटलहरुलाई बैंक तथा वित्तीय संस्थाले सहयोग गरेको अवस्था छैन । हाल पोखराका होटलमा ७५ अर्ब रुपैयाँसम्मको कर्जा प्रभाव भएको छ ।