ब्याज भुक्तानी र सेयर खरिद गर्न २ सातामै ऋणीले बैंकबाट लिए ८२ अर्ब



काठमाडौं । पुसको अन्तिम २ सातामा बैंकबाट ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा पुसको अन्तिम एक सातामै ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

गत पुस १७ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन पुसको २९ गते ८२ अर्ब रुपैयाँले थप भई ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

पुस २४ गतेदेखि २९ गतेसम्ममा बैंकहरुले ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको तथ्यांकले देखाउँछ । तर माघ महिना लागेसँगै बैंकहरुको कर्जा ८ अर्बले घटेर माघको २ गतेसम्म कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँमा सीमित भएको देखिन्छ ।

पुस लागेसँगै बैंकहरुमा ओभरड्राफ्ट र सेयर मार्जिन लोनको माग बढेको र त्यसबाट ऋणीले बैंकको बक्यौता ब्याजसमेत तिरेको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले बताए ।

‘सबैभन्दा बढी कर्जा अहिले सेयर मार्जिनमा गएको देखिन्छ भने ओभरड्राफ्टक कर्जा पनि पुस लागेपछि बढेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सेयर मार्जिन र ओभरड्राफ्टमा गएको कर्जा ऋणीले बैंकको बक्यौता ब्याज भुक्तानीमा समेत प्रयोग गरेको देखिन्छ ।’

पछिल्लो समय कृषिमा जाने कर्जा पनि पहिलेको तुलनामा बढेको उनले जानकारी दिए ।

माघ २ गतेसम्म बैंकहरुकोे निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँ छ । जुन पुस मसान्तको तुलनामा ३ अर्बले कम हो । पुस २९ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

बैंकहरुले कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्दा भुक्तानी हुनुपर्ने कुल ब्याजको १० प्रतिशत प्राप्त भएमात्र गर्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । जस अनुसारको ब्याज भुक्तानी गर्न आम्दानी नै नभएका ऋणीले बैंकबाट थप कर्जा लिएको एक बैंकरले बताए ।

‘मानवीय तथा आर्थिक गतिविधिहरु चलायमान भए पनि कतिपय क्षेत्रको व्यवसाय आज पनि बन्द जस्तै अवस्थामा छ,’ ती बैंकरले क्लिकमाण्डूसँग भने, ‘व्यवसाय जसोतसो सञ्चालन गरे पनि आम्दानी नभएकाहरुले चालु पुँजीको आधारमा पाइने थप २० प्रतिशत कर्जा अन्तर्गत थप कर्जा लिएर १० प्रतिशत ब्याज भुक्तानी गरेका छन् ।’

जसमा सबैभन्दा बढी होटल, यातायात तथा पर्यटन व्यवसायीहरुले १० प्रतिशत ब्याज भुक्तानी गरी कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न बैंकबाट थप कर्जा लिएको उनले बताए ।


क्लिकमान्डु