आइपीओमा लगानीकर्ताले नपत्याएको हिमालयन डिस्टिलरीमा १ लाख लगानी गर्ने करोडपति बने



काठमाडौं । हिमालयन डिस्टिलरीको सार्वजानिक निष्काशन (आइपीओ) बिक्री भएको थिएन भनेर सुन्दा अहिले कतिपयलाई विश्वास लाग्दैन । विश्वास लागोस् पनि कसरी अहिले दोस्रो बजारमा प्रतिकित्ता यसको मूल्य ४३९० रुपैयाँ पुगेको छ ।

आइपीओ बिक्री नभएर प्रत्याभूतिकर्ताले सकार्नु परेको तीतो यथार्थ बोकेको छ हिमालयन डिस्टिलरीले ।

२०४२ सालमा स्थापना भएको हिमालयन डिस्टिलरीले २०५९ सालमा सर्वसाधारणका लागि १७ लाख ३४ हजार ६०० कित्ता सेयर जारी गरेको थियो ।

२०५८ सालमा भएको नारायणहिटी दरबारमा तत्कालिन राजा विरेन्द्रसहित उनको परिवारका सदस्यको हत्या भएपछि नेपालको औद्योगिक वातावरण थप विग्रेको थियो । माओवादी युद्दको कारण संकटकालसमेत लागिसकेको अवस्था थियो ।

यस्तो अवस्थामा हिमालयन डिस्टिलरीले १७ करोड ३४ लाख ६ हजार रुपैयाँ बजारबाट पूँजी संकलन गर्ने उद्देश्यले आइपीओ ल्याएको थियो ।

२०५९ सालामा प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ३४ हजार ६ सय आइपीओ निष्कासन गर्दा कम्पनीले ३२ वटा बैंक तथा वित्तीय संस्थालाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको थियो ।

२०५९ सालमा पनि आइपीओको आकर्षण भएपनि उद्योग भएका कारण लगानीकर्ताले हिमालयन डिस्टिलरीको आइपीओलाई विश्वास गरेनन् ।

१७ लाख ३४ हजार ६ हजार कित्ता आइपीओ माग गरेकोमा सर्वसाधारणले जम्मा १ लाख ८४ हजार ३०० कित्ताका लागि मात्रै आवेदन दिए । अर्थात् मागको ११ प्रतिशतमात्रै बिक्यो ।

सर्वसाधारणले विश्वास नगरेपछि डिस्टिलरीको आइपीओ प्रत्याभूतिकर्ताले किन्नु परेको हो । ३२ वटा बैंक तथा वित्तीय संस्थालाई प्रत्याभूतिकर्ता राखेको हिमालयन डिस्टिलरीको कतिपय बैंक तथा वित्तीय संस्थाले सम्झौताअनुसार आइपीओ नकिनेपछि कम्पनी मुद्दामा समेत गएको थियो ।

हिमालयन डिस्टिलरीको सेयर भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले बिक्री गर्न भनेको थियो । प्रत्याभूतिकर्ता बैंक तथा वित्तीय संस्थाले खासै नाफा नै नगरी सेयर बिक्री गरेका थिए ।

२०५९ साल चैत ७ गते नेप्सेमा सूचिकृत भएको हिमालयन डिस्टिलरीको सेयर मूल्य २०७४ सालसम्म खासै बढेको थिएन ।

२०७४ सालको जेठ ३ मा हिमालयन डिस्टिलरीको सेयर मूल्य ५ सय ८२ रुपैयाँ थियो । त्यसको २ महिना साउनमै २ हजार ५० रुपैयाँसम्म पुग्यो । २०७६ माघमा १२ सय रुपैयाँमा झर्यो ।

हिमालयन डिस्टिलरीले २०५९ सालमा आइपीओ ल्याए पनि लाभांश दिन थालेको भने २०७०/७१ को नाफाबाट हो । २०७१ सालदेखि कम्पनीले नियमित लाभांश दिएको छ । २०६९/७० सम्मको वार्षिक विवरणमा कम्पनीले संचित नोक्सान भएका कारण लाभांश दिन नसकिएको कुरा उल्लेख गरेको छ । २०७०/७१ देखि संचित नोक्सान नाफामा गएपछि कम्पनीले १०.५२ प्रतिशत नगद लाभांश दियो ।

त्यसपछि कम्पनीले लगातार लाभांश दिदै आएको छ । २०७१/७२ को नाफाबाट कम्पनीले २० प्रतिशत नगद लाभांश दियो । २०७२/७३ को नाफाबाट कम्पनीले २० प्रतिशत नै नगद लाभांश दियो । २०७३/७४ को नाफाबाट २१.०५ प्रतिशत र २०७४/७५ को नाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश दियो ।

कम्पनीले नयाँ ब्राण्डका मदिरा उत्पादन गर्ने रणनीति अन्तर्गत पूँजी थप्नका लागि २०७५/७६ को नाफाबाट भने पहिलो पटक बोनस सेयरसहित १०२.६३ प्रतिशत लाभांश दियो । जसमा कम्पनीले ५० प्रतिशत बोनस सेयर तथा ५२.६३ प्रतिशत नगद लाभांश दिएको थियो ।

बोनस सेयर दिएसँगै कम्पनीको मूल्यमा उछाल आयो ।

१ लाख रुपैयाँ लगानी गर्ने करोडपति बने

हिमालयन डिस्टिलरीको आइपीओमा सर्वसाधारणले खासै लगानी गरेनन् । यदि कसैले २०५९ सालमा आइपीओमा १ लाख रुपैयाँको १ हजार कित्ता सेयर किनेको थियो र अहिलेसम्म सेयर राखेको छ भने उ करोडपति बनेको छ ।

डिस्टिलरीबाट उसले ३ लाख ५९ हजार ६७० रुपैयाँ नगद लाभांश लिएको देखिन्छ । १००० कित्ता आइपीओ भरेको व्यक्तिसँग २२ सय ५० कित्ता सेयर छ । आजको दिनमा जसको बजार मूल्य ९८ लाख ७७ हजार ५०० रुपैयाँ हुन्छ ।


पुष्प दुलाल