नयाँ पुस्ताका यी सीइओहरु जसले राम्रोसँग ठूला बैंक हाँकिरहेका छन्



काठमाडौं । २०७५ मंसिर १६ गते एनआइसी एशिया बैंकको सञ्चालक समितिले रोशन न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्यो ।

तत्कालीन सीइओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले न्यौपानेलाई ०७४ चैत २ गते कामू सीइओको जिम्मेवारी सुम्पिएको थियो । त्यसअघि उनी डेपुटी सीइओ थिए । ३७/३८ वर्षको उमेरमै वाणिज्य बैंकको सीइओ बन्न पाउने सायद एक्लो भाग्यमानी हुन् न्यौपाने ।

बैंकरहरुका गुरु मानिने भेट्रान बैंकर शशिन जोशी सीइओ भएर काम गरिसकेको संस्था युवालाई जिम्मा लगाएको भन्दै बैंकरहरु नै कुरा काट्थे ‘रोशनले के बैंक चलाउन सक्लान् र ?’

तर बजारले नपत्याएका रोशनले नपत्याउँदो प्रगति गरे । आक्रमक बजार विस्तारको रणनीति लिएर द्रुत गतिमा अघि बढेका न्यौपानेले पूराना बैंकहरुलाई आश्चर्यचकित नै पारिदिए । व्यवसायको आकारको हिसाबले अहिले एनआइसी एशिया बैंक पहिलो नम्बरमा छ ।

न्यौपाने बैंक सीइओ भएर आाउँदा बैंकको कुल निक्षेप संकलन १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र कर्जा प्रवाह १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख रुपैयाँ थियो ।

अहिले २ खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

न्यौपाने सीइओ भएयता बैंकले ६० प्रतिशत अर्थात् १ खर्ब ६ अर्ब १२ करोड रुपैयाँले निक्षेप र ५३ प्रतिशत अर्थात् ७९ अर्ब २७ करोड रुपैयाँले कर्जा बढाएको छ । उनी सीइओ भएयता एनआइसी एशिया बैंकले गरेको प्रगति कतिपय बैंकले स्थापनादेखि अहिलेसम्म गर्न सकेका छैनन् ।

अशोक शेरचन, प्रभु बैंक

अशोक शेरचन प्रभु फाइनान्सका सीइओ थिए । प्रभु फाइनान्स विकास बैंकमा स्तरोन्नति भयो । र, २०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गर्यो ।

पूराना बैंकरहरु शेरचनको कुरा काट्थे फाइनान्स कम्पनीको सीइओले के वाणिज्य बैंक चलाउन सक्ला र ?

तर शेरचनले आफूलाई प्रमाणित गरेर देखाइसकेका छन् । किष्ट र ग्राण्डजस्ता बिग्रिएका संस्था लिएर अघि बढ्नु शेरचनका सामू कम्ति ठूलो चुनौति थिएन । शेरचनको नेतृत्वमा किष्ट र ग्राण्डको उद्दार मात्रै भएन प्रभु निकै ठूलो बैंकको रुपमा स्थापित भइसकेको छ ।

फाइनान्स कम्पनीलाई देशकै टप टेन वाणिज्य बैंक पार्न सफल भएका छन् उनी । कोरोना कहरकै समयमा प्रभु बैंकले गरेको व्यवसायले धेरैलाई आश्चर्य बनाएको छ । यही अनुपातमा प्रभुले ग्रोथ गर्ने हो भने आगामी केही वर्षमा टप फाइभमा पर्ने निश्चित छ । अहिले प्रभु बैंकको निक्षेप १ खर्ब ६८ अर्ब र कर्जा १ खर्ब २७ अर्ब रुपैयाँ पुगिसकेको छ ।

 

अनुपमा खुञ्जेली, मेगा बैंक

मेगा बैंकको सञ्चालक समितिले २०७४ चैत २९ गते अनुपमा खुञ्जेलीलाई सीइओमा नियुक्ति गर्यो । त्यसअघि उनी डेपुटी सीइओ थिइन् ।

ग्ल्यामर बैंकर अनिल शाहले हाँकेको बैंक हाँक्न खुञ्जेलीसामू चानचुन चुनौति थिएन । मान्छेहरु भन्थे- ‘अनिल शाहले छाडेपछि मेगा बैंकले प्रगति गर्न सक्दैन ।’

तर, मान्छेहरुको आँकलन उल्टो भइदियो । अनिल शाहले छाडेपछि खुञ्जेलीको नेतृत्वमा मेगा बैंकले अझ धेरै प्रगति गरेको तथ्यांकहरुले पुष्टि गर्छन् ।

खुञ्जेली सीइओ भएर आउँदा मेगाको निक्षेप ७५ अर्ब २१ करोड र कर्जा ६७ अर्ब ५८ करोड रुपैयाँ थियो । हाल बैंकको निक्षेप १ खर्ब ३४ अर्ब ४० करोड र कर्जा १ खर्ब २५ अर्ब ९८ करोड रुपैयाँ छ ।

उनी मेगा बैंकमा सीइओ भएपछि अर्थात् ०७५ चैत मसान्तदेखि ०७७ पुस १७ सम्मको व्यवसाय विस्तार हेर्दा, आफ्नो कार्यअवधिमा निक्षेप संकलन ७८.६९ प्रतिशत अर्थात् ५९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र कर्जा प्रवाह ८६.३९ प्रतिशत अर्थात् ५८ अर्ब ३९ करोड ३४ लाख रुपैयाँले थप भएको छ ।

गणेशराज पोखरेल, सिटिजन्स बैंक 

सिटिजन्स बैंक इन्टरनेशनलको २०७५ चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गणेशराज पोखरेललाई सीइओ नियुक्ति गर्यो । उनी बैंक स्थापनाकालदेखि सेकेन्ड म्यान थिए । स्थापनाकालदेखिका सीइओ राजनसिंह भण्डारीको व्यक्तित्वका अगाडि पोखरेल निकै सामान्य लाग्छन् । त्यसैले मान्छेहरु भन्थे- ‘गणेशजीलाई बैंक चलाउन निकै गाह्रो हुन्छ । किनभने उनी सँधै सेकेन्डम्यान मात्रै थिए ।’

तर, यथार्थमा त्यस्तो भएन । पोखरेलको व्यवस्थापकीय नेतृत्वमा बैंकले निकै ठूलो फड्को मारेको तथ्यांकहरुले देखाउँछ । पोखरेललाई एउटा सजिलो चाहीँ के भयो भने सीइओ छाडेका राजनसिंह सञ्चालक हुँदै अध्यक्ष भएर बैंकमै आइदिए ।

पोखरेलले सीइओ सम्हाल्दा अर्थात् ०७५ चैत मसान्तसम्म सिटिजन्स बैंकको निक्षेप ६५ अर्ब ९२ करोड र कर्जा ६१ अर्ब २ करोड ५२ लाख रुपैयाँ थियो भने नाफा १ अर्ब ६ करोड थियो ।

उनी बैंकको सीइओ भएको १ वर्षपछि अर्थात् ०७६ चैत मसान्तमा निक्षेप संकलन १८ प्रतिशतले बढेर ७७ अर्ब ८३ करोड ६५ लाख र कर्जा प्रवाह २३ प्रतिशतले बढेर ७५ अर्ब १ करोड ४२ लाख रुपैयाँ पुग्यो ।

अहिले सिटिजन्स बैंकको निक्षेप १ खर्ब ६ अर्ब ६९ करोड र कर्जा प्रवाह ८८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

पोखरेल सिटिजन्स बैंकमा सीइओ भएपछि अर्थात् ०७५ चैत मसान्तदेखि ०७७ पुस १७ सम्मको व्यवसाय विस्तार हेर्दा, आफ्नो कार्यअवधिमा निक्षेप संकलन ६१.८४ प्रतिशत अर्थात् ४० अर्ब ७६ करोड ९० लाख रुपैयाँ र कर्जा प्रवाह ४४.८९ प्रतिशत अर्थात् २७ अर्ब ३९ करोड ४७ लाख रुपैयाँले थप भएको छ ।

सुनिल केसी, एनएमबि बैंक

२०७३ साल चैत १ गतेदेखि एनएमबि बैंकले सुनिल केसीलाई सीइओ नियुक्ति गर्यो । त्यसअघि उनी डेपुटी सीइओ थिए । १७ वर्षदेखि निरन्तर सीइओ रहेका उपेन्द्र पौडेलले छाडेर गएपछि सुनिलले बैंक चलाउन सक्लान् र ? भन्ने प्रश्न उब्जिनु अस्वभाविक पनि थिएन । किनभने बैंकर्स संघका अध्यक्षसमेत भइसकेका पाका र भेट्रान बैंकर पौडेलको अभाव खड्किन नदिनु केसीका सामू चुनौति थियो । र, केसीले पौडेलको अभाव भएको महशुस गर्न दिएनन् । बैंकको आकार निकै ठूलो मात्रै बनाएनन् । एनएमबिले विदेशबाट पहिलोपटक ऋण समेत ल्यायो । र, लगातार ३ पटक बैंक अफ दि अवार्ड पनि जित्यो ।

केसी सीइओ भएर आउँदा एनएमबिको निक्षेप ७२ अर्ब ३१ करोड ५१ लाख र कर्जा ६२ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो । उनले सीइओको कार्यभार सम्हालेको ३ वर्ष ९ महिना पुरा भइसकेको छ । हाल बैंकको निक्षेप संकलन १ खर्ब ५० अर्ब ३ करोड रुपैयाँ छ, भने कर्जा प्रवाह १ खर्ब ४० अर्ब ६२ करोड रुपैयाँ छ ।

केसी बैंकमा सीइओ भएपछि अर्थात् २०७३ असार मसान्तदेखि २०७७ पुस १७ गतेसम्म बैंकको व्यवसायको आकार हेर्दा निक्षेप संकलन १०७ प्रतिशत अर्थात् ७७ अर्ब ७१ करोड ४८ लाख रुपैयाँले र कर्जा प्रवाह १२४ प्रतिशत अर्थात् ७७ अर्ब ९० करोड ३८ लाख रुपैयाँले थप भएको छ ।

जनक शर्मा पौडेल, सनराइज बैंक

सनराइज बैंकको सञ्चालक समितिले २०७६ असार २९ गते जनक शर्मा पौडेललाई सीइओमा नियुक्ति गर्यो । ग्लोबल आइएमई बैंकमा छोटो समयमै सीइओबाट राजीनामा दिएर उनी सनराइज गएका थिए । रत्नराज बज्राचार्यजस्तो पाको बैंकरले हाँकेको बैंक हाँक्न आउनु पौडेलसामू पनि चुनौति थियो ।

बैंक सञ्चालक समितिको तीब्र विवादका बाबजुत पनि पौडेलले सनराइजमा गरेको प्रगति राम्रो मान्नुपर्छ । सञ्चालक समिति एकढिक्का थियो भने बैंकले यो भन्दा धेरै प्रगति गर्ने निसन्देह छ ।

सीइओको रुपमा पौडेल आउँदा सनराइजले ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अहिले  बैंकले ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पौडेल सनसाइज बैंकमा सीइओ भएको १ वर्ष ६ महिना भइसकेको छ । ०७६ असार मसान्तदेखि ०७७ पुस १७ गतेसम्म बैंकको व्यवसायको आकार हेर्दा २९ प्रतिशत अर्थात् २१ अर्ब ६१ करोड ७८ लाख रुपैयाँले निक्षेप संकलन र २८ प्रतिशत अर्थात् १९ अर्ब ४६ करोड ६१ लाख रुपैयाँले कर्जा प्रवाह थप भएको छ ।

सन्तोष कोइराला, माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको सञ्चालक समितिले २०७७ बैशाख १ गतेदेखि सन्तोष कोइरालालाई सीइओमा नियुक्ति गर्यो । त्यसअघि उनी डेपुटी सीइओ थिए भने अन्तिमको एक महिना कामू सीइओ भएर काम गरेका थिए ।

कोरोना महामारीले विश्वलाई नै आतंकित बनाएका बेला बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्न आइपुगेका कोइरालाका सामू पनि चानचुन चुनौति थिएनन् । एकातिर कोरोना महामारीको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने बाध्यता थियो भने अर्कातिर आफूभन्दा अघिका सीइओ सुमन शर्माको प्राज्ञिक व्यक्तित्व अभाव खड्किन नदिनु उनीसामू चुनौति थियो ।

कोइरालाले कम्प्लाइन्समा कम्प्रमाइज नगरी बैंकलाई अघि बढाइरहेका छन् । बरु बैंकको व्यवसायको वृद्धि नहोस् तर राष्ट्र बैंकका नीति नियमको अक्षरश पालना गर्दै माछापुच्छ्रे बैंकलाई हाँकिरहेका छन् ।

कोइरालाले सीइओको कार्यभार सम्हाल्दा बैंकले ९९ अर्ब ८५ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अहिले बैंकले १ खर्ब १८ अर्ब १० करोड निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कोइरालाले माछापुच्छ्रे बैंकको सीइओको कार्यभार सम्हालेको ९ महिना पुरा भएसकेको छ । यस अवधिमा बैंकको व्यवसायको आकार हेर्दा निक्षेप संकलन १८ प्रतिशत अर्थात् १८ अर्ब २४ करोड ८८ लाख रुपैयाँ र कर्जा प्रवाह १३ प्रतिशत अर्थात् १२ अर्ब ३ करोड ३० लाख रुपैयाँले थप भएको छ ।

गोविन्द गुरुङ,   सिभिल बैंक

सिभिल बैंकका सीइओ गोविन्द गुरुङ नयाँ पुस्ताका सीइओ हुन् । तर उनले बैंक नै कमजोर परेका कारण प्रतिस्पर्धी बजारमा ठूलो प्रगति देखाउन सकिरहेका छैनन् ।

२०७४ साउन १६ गतेदेखि गोविन्द गुरुङले सिभिल बैंकको सीइओको कार्यभार सम्हालिरहेको छन् । बैंकले ०७४ असोज मसान्तसम्म ३४ अर्ब २४ करोड ८१ लाख रुपैयाँ निक्षेप संकल गरी ३० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गुरुङले सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेको २ बर्ष ५ महिना पुरा भइसको छ । हाल बैंकको निक्षेप संकलन ७१ अर्ब ९४ करोड रुपैयाँ र कर्जा प्रवाह ६४ अर्ब ९७ करोड रुपैयाँ छ ।

गुरुङ सिभिल बैंकमा सीइओ भएपछि अर्थात् ०७४ असोज मसान्तदेखि ०७७ पुस १७ सम्मको व्यवसाय विस्तार हेर्दा, उनले कार्यअवधिमा निक्षेप संकलन ११०.०५ प्रतिशत अर्थात् ३७ अर्ब ६९ करोड १८ लाख रुपैयाँ र कर्जा प्रवाह १०९.८५ प्रतिशत अर्थात् ३४ अर्ब १ करोड १२ लाख रुपैयाँले थप गरेका छन् ।

रमेश अर्याल, नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक

एनसीसी बैंकका सीइओ रमेश अर्याल पनि पुस्ताका सीइओ हुन् । सीईओ अर्याल बैंकमा २०७३ असोज १ गते प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका हुन् । उनले सीइओको कार्यभार सम्हाल्दा अर्थात् ०७३ असोज मसान्तसम्म बैंककले ३० अर्ब ६३ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको साढे ५ महिना अर्थात् पुस १७ गतेसम्म ९८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्यालले एनसीसी बैंकको सीइओको कार्यभार सम्हालेको ४ बर्ष ३ महिना पुरा भइसकेको छ । यस अवधिमा बैंकको व्यवसाय आकार हेर्दा २२२ प्रतिशत अर्थात् ६८ अर्ब ४ करोड ६९ लाख रुपैयाँले निक्षेप र २०४ प्रतिशत अर्थात् ५१ अर्ब ६७ करोड २७ लाख रुपैयाँले कर्जा प्रवाह थप भएको देखिन्छ ।

सानिमा बैंकका सीइओ भुवन दाहाल पनि नयाँ पुस्ताका बैंकर हुन् । दाहालको नेतृत्वमा बैंकले राम्रो प्रगति गरेको छ । अहिले उनी बैंकर्स संघका अध्यक्ष पनि छन् ।

ह्वात्तै चुक्ता पुँजी बढाउँदा बैंकहरुको व्यवसायको आकार पनि वृद्धि भएको छ । यसले तीब्र प्रतिस्पर्धासँगै सञ्चालन जोखिम पनि बढाएको छ । यस्तो बेलामा पाका र भेट्रान बैंकहरु बाहिरिए । र, नयाँ पुस्ताका सीइओहरुले बैंक हाँकिरहेका छन् ।

एकातिर नयाँ पुस्ताका सीइओहरुले पूराना बैंकरहरु रत्नराज बज्राचार्य, अशोक राणा, ज्योति पाण्डे, शोभनदेव पन्त लगायतसँग प्रतिस्पर्धा गर्नु परेको छ ।

अर्कातिर पाका र भेट्रान बैंकरहरु शशिन जोशी, राधेश पन्त, पर्शुराम कुँवर क्षेत्री, उपेन्द्र पौडेललगायतको अभाव खड्किन नदिनु पनि परेको छ ।

नयाँ पुस्ताका र नपत्याइएका सीइओहरुले आफूलाई अब्बल सावित गरेको तथ्यांकले देखाएपछि पाका र सोकल्ड भेट्रान सीइओहरुले अचेल नयाँ पुस्ताको सीइओको अस्तित्व स्वीकार मात्रै गर्न थालेका छैनन्, उनीहरुसँग खरो प्रतिस्पर्धामा उत्रिन आफूलाई फिटनेश पनि बनाउन थालेका छन् ।


पुष्प दुलाल