निर्यात हुने मुख्य २० वस्तुमध्ये ९ वटामा गिरावट



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा नेपालबाट निर्यात हुने मुख्य २० वस्तु तथा सेवामध्ये ९ वटामा गिरावट आएको छ । चालु आवमा कोरोनाले उद्योगधन्दा निकै प्रभावित देखिए पनि केही वस्तु निर्यातमा भने सकारात्मक देखिएको छ ।

चालु आवमा नेपालबाट निर्यात प्रमुख वस्तु गलैंचा, तयारी पोशाक, जुस, कपडालगायत अन्य वस्तुमा भारी गिरावट आएको छ । नेपाली बजारमा उत्पादित गलैंचा विभिन्न देशमा उच्च माग छ ।

हरेक वर्ष नेपालबाट ६ देखि ७ अर्बको गलैंचा विदेशिने गर्दछ । तर, चालु आवको पाँच महिनाको अवधिमा गत वर्षको तुलनामा ३.६ प्रतिशतले गिरावट आएको छ ।

गत वर्ष पाँच महिनाको अवधिमा ३ अर्ब २२ करोड १५ लाख रुपैयाँको गलैंचा निर्यात गरेको थियो । त्यस्तै, चालु आवको सोही अवधिमा ३ अर्ब १० करोड ५० लाख रुपैयाँको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ११ करोड ६५ लाखले कमी हो ।

त्यसैगरी, चालु आवमा नेपाली बजारमै तयारी पोशाकको माग उच्च रहेको अवस्थामा निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा नेपालबाट १ अर्ब ६० करोड १४ लाख रुपैयाँको तयारी पोशाक निर्यात भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ०.४ प्रतिशतले कमी हो ।

कोरोनाले गर्दा विदेशबाट तयारी पोशाक आयात गर्न सकेको थिएन । उक्त समयमा नेपालमा उत्पादित तयारी पोशाकले नै बजार धानिरहेको हुनाले तयारी पोशाकको निर्यातमा गिरावट आएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल बताउँछन् । उनका अनुसार नेपाली बजारमै माग अनुसार आपूर्ति गर्न नसकेको हुनाले विदेशतर्फ तयारी पोशाकको निकासीमा कम भएको बताए ।

नेपालबाट निर्यात हुने जुसमा पनि गिरावट आएको छ । गत आव १ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ आयात भएकोमा आलु आवमा १ अर्ब ५१ अर्ब ५ लाख रुपैयाँको निर्यात भएको छ । उक्त तथ्याङ्क अनुसार ३.७ प्रतिशतले कमी आएको छ । साथै, कपडा निर्यातमा पनि ८.९ प्रतिशतले निर्यात कम भएको छ । गत आवमा १ अर्ब ४१ करोड २ लाख निर्यात भएकोमा घटेर १ अर्ब २९ करोड ७४ लाखरुपैयाँको निर्यात भएको छ ।

चालु आवको पाँच महिनाको अवधिमा निर्यातमा सबैभन्दा बढी निर्यात बढी अन्तर देखिएको वस्तु हो जिंन्क सिट । गत आवमा ६३ करोड ८९ लाख रुपैयाँ निर्यात गरेकोमा चालु आवमा ४१ करोड ९५ लाख रुपैयाँको निर्यात गरेको छ । जसमा ३४.३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, चप्पल र जुत्ता १२.५ प्रतिशत, रोजिन १२.५ प्रतिशत, तार १८.९ र तामाको डण्डी १५.२ प्रतिशतले निर्यातमा गिरावट आएको छ ।

उक्त वस्तुहरूमा निर्यात घटेता पनि केही वस्तु भने अप्रत्याशित रुपमा निर्यात भएको देखिन्छ । सबैभन्दा बढी निर्यात भएकोमा चाउचाउ र अलैंची छ । चाउचाउ ६७.८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । त्यस्तै, चालु आवमा अलैंचीको उत्पादन बढेसँगै निर्यात पनि बढेको छ ।

गत वर्ष १ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ रुपैयाँ निर्यात भएकोमा चालु आवको पाँच महिनाको अवधिमा ३ अर्ब ५ करोड ११ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । जुन ६४.४ प्रतिशतले बढी हो ।

भारतमा यो वर्ष अलैचीँ उत्पादनमा कम भएसँगै नेपालमा उत्पादन भएको अलैचीँको माग बढेकाले अलैंचीको निर्यात बढेको थालेको अलैचीँ व्यवसायी महासंघका उपाध्यक्ष इन्द्र चन्द्र बिन्डल बताउँछन् । उनका अनुसार चालु आवमा भारतमा अलैचीँ उत्पादनमा कम भएसँगै नेपाली बजारको अलैचीँको माग बढेको बताए । यसका साथै, नेपालमा उत्पादित अलैंचीले उचित मूल्य पाउने उनको दाबी छ ।

त्यस्तै, कच्चा पदार्थको अभाव र कोरोनाले गर्दा अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएकाले भारततर्फ धागोको निर्यात बढेको देखिन्छ । पाँच महिनाको अवधिमा नेपालले ३ अर्ब बराबर मूल्य बराबरको धागो निर्यात भएको छ ।

त्यसैगरी २० प्रमुख निर्यात हुने वस्तुमा जुटको वस्तु १६.३ प्रतिशत, पस्मिना १९ प्रतिशत, तेल केक २४.६ प्रतिशत, आयुर्वेदिक ३२.९ प्रतिशत, हर्ब ३६.१ प्रतिशत, मन्जन ३४.९ प्रतिशत र अदुवा ९.८ प्रतिशतले वृद्धि भएको छ ।


क्लिकमान्डु