बेइजिङमा दश लाखलाई लगाइयो कोरोनाको खोप,भारतमा ३० करोडलाई लगाइदै, नेपालमा कहिले ?



एजेन्सी ।  उत्तरी छिमेकी देश चीनको राजधानी चीनको राजधानी बेइजिङमा मात्रै १० लाख बढीलाई कोरोनाको खोप लगाइएको छ । यस्तै, भारतमा तत्काल नै ३० करोडलाई खोप दिने तयारी गरिएको छ ।

नेपालमा भने खोपका बारेमा हालसम्म कुनै पनि ठोस प्रगति हुन सकेको छैन । कोरोना विरुद्धको खोप ल्याउने तयारी गरेको भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन ।

चीनमा सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ ।

कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।

फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ ।

उता भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ ।

सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।

त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ ।

खोपका लागि ७०० जिल्लामा करिब १ लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ ।

भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।

अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।

राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।

सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट १ लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ, र लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए ।सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ ।


पुष्प दुलाल