बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक



काठमाडौं । नम्बर वानको बिरासत जोगाउनका लागि नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत हुने भएको छ ।

पहिलोपटक साधारणसभामा मर्जर तथा एक्वायरको प्रस्ताव गरेको नविलले प्रतिस्पर्धी बजारमा खरो उत्रिन नसकिरहेका बैंकहरुलाई निशानामा पारेको छ ।

नविल बैंक मर्ज होइन एक्वायर गर्न चाहन्छ । राम्रो प्रगति गरिरहेका बैंकहरु एक्वायरमा आउने नदेखेपछि नविलले तुलनात्मकरुपमा कमजोर प्रफर्मेन्स गरिरहेका र साना संस्थालाई टार्गेट गरेको हो ।

यही रणनीति अनुसार नविल बैंकले केही समयअघि एनसीसी बैंकलाई एक्वायरको प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावमाथि घनिभूत छलफल भने अहिलेसम्म भएको छैन ।

नविलले अहिले फेरि एनबी र सिभिल बैंकलाई अनौपचारिकरुपमा एक्वायरको प्रस्ताव गरेको छ ।

‘मूल्यमा कुरा मिल्यो भने हामी एकै सटमा २ वा ३ वटै बैंकलाई एक्वायर गर्ने सोचमा छौं,’ नविल बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘त्यही भएर एनसीसी, एनबी र सिभिललाई प्रस्ताव गरेका हौं ।’

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

यी बैंकलाई एक्वायर गर्नका लागि नविल बैंकका सबैभन्दा ठूलो सेयरधनी चौधरी ग्रुप सहमत छ ।

‘व्यवस्थापनले मर्जर तथा एक्वायरका लागि विभिन्न संस्थाहरुको विकल्प दिएको थियो, जसमा लगानीकर्ताहरु एनसीसी, एनबी र सिभिल बढी इच्छुक देखिएका छन्, त्यसका पछि केही खास कारणहरु छन्,’ स्रोतले भन्यो ।

के हो त त्यो कारण ?

पहिलो कुरा लगानीकर्ताहरु नविल बैंकको नाम गुमाउन चाहँदैन । मर्जरमा जाँदा नाम गुमाउनु पर्ने वा नविलसँगै अर्को नाम पनि जोड्नुपर्ने अवस्था आउन सक्छ । जसकारण नविलका लगानीकर्ता तुलनात्मकरुपमा कमजोर प्रफर्मेन्स भएका संस्था एक्वायर गर्न चाहन्छ ।

दोस्रो, सबैभन्दा ठूलो लगानीकर्ता रहेका अर्बपति विनाद चौधरी आफ्नो स्वामित्व धेरै घटाउन चाहँदैनन् । उनी नविलमा आफ्नो दवदवा कायमै राख्न चाहन्छन् । अलि ठूलो संस्थासँग मर्जरमा जाँदा ८०/९० प्रतिशत सेयर आदान प्रदान अनुपात (स्पाप रेसियो) दिनुपर्ने हुनसक्छ । यसो गर्दा चौधरीको स्वामित्व ह्वात्तै घट्छ । त्यसैले नविल साना बैंकलाई सस्तोमै किन्न चाहन्छ ।

नविल बैंकले सिभिललाई प्रतिकित्ता २५ रुपैयाँका दरले किन्ने अनौपचारिक प्रस्ताव गरेको छ । नविलको प्रारम्भिक प्रस्तावमा खुसी भए पनि मूल्यमा भने सिभिल बैंक खुसी छैन ।

सिभिलले अन्य ठूला बैंकसँग पनि एक्वायरका लागि कुरा गरिरहेको छ ।

एनबी र एनसीसीलाई नविलले प्रतिकित्ता ३० रुपैयाँ दिने प्रस्ताव गरेको छ । नविलको प्रस्तावमा दुबै बैंक उत्साहित छन् । तर, मूलयमा सहमत छैनन् । उनीहरु ४० रुपैयाँ पाएदेखि नविलमा समाहित हुन तयार छन् । दुवै पक्ष लचिलो भएको खण्डमा प्रतिकित्ता ३५ मा कुरा मिल्नसक्ने संभावना छ ।

नविलले यी संस्था एक्वायर गरेको खण्डमा कर्मचारीहरुलाई २ तह तलको पोस्टमा एडजस्ट गर्नसक्ने रणनीति बनाएको छ । त्यो शर्त अरु बैंकले स्वीकार्छन् वा स्वीकार्दैनन्, त्यो यसै भन्न सकिँदैन ।

‘अहिले गरिएको प्रस्तावलाई प्रस्तावको रुपमा लिनुभन्दा पनि कुरा चलाएकोरुपमा लिँदा उपयुक्त होला,’ एनसीसी बैंकका एक सञ्चालकले भने ।

एनबी र सिभिललाई त नविलले हालैमात्र इच्छुक भए कुराकानी अघि बढाऔं भन्ने प्रस्ताव मात्रै गरेको हो ।

एनबी बैंकका बंगाली लगानीकर्ताका ४१ प्रतिशत सेयर स्वामित्व छ । उनीहरु नेपाली साझेदारसँग खुसी छैनन् ।

‘हामीले बंगाली लगानीकर्तासम्म कुरा पुर्याउँछौं भनेका छौं,’ एनबी बैंक स्रोतले भन्यो ।

नविल अब एक्वायर नगरी नम्बरवान रहिरहन सकिँदैन भन्ने निष्कर्शमा पुगेको छ भने एनबी, एनसीसी र सिभिल लगायतका केही बैंकहरु अस्तित्व जोगाउन सकिँदैन मर्जर जा एक्वायरमै जानुपर्छ भन्ने निष्कर्शमा पुगेका छन् । कुरो चल्दैमा मर्ज वा एक्वायर भइहाल्छ भन्ने पनि होइन ।

राष्ट्र बैैंकले आगामी दिनमा कस्तो नीति लिन्छ भनेर पर्ख र हेरको अवस्थामा रहेका बैंकहरु केही समययता नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरको अन्तिम तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बैंकिङ बजारमा बिग मर्जरको माहोल तातिएको छ ।

कुन बैंकको अवस्था के छ ?

नविल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ छ भने रिजर्भमा १२ अर्ब ६२ करोड रुपैयाँ छ । गत वर्ष नविलले नाफा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस दोस्रो सातासम्ममा बैंकको निक्षेप १ खर्ब ९७ अर्ब १६ करोड रुपैयाँ र कर्जा १ खर्ब ७४ अर्ब २१ करोड रुपैयाँ छ ।

त्यसैगरी, एनसीसी बैंकको चुक्ता पुँजी ९ अर्ब १३ करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ९३ करोड रुपैयाँ छ । गत वर्ष बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

पुस दोस्रो सातासम्ममा बैंकले ९८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, एनबी बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ छ भने रिजर्भमा ४ अर्ब ५३ करोड रुपैयाँ छ । गत वर्ष बैंकले ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस दोस्रो सातासम्ममा बैंकले ७१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३४ लाख रुपैयाँ छ भने रिजर्भमा १ अर्ब ८० करोड रुपैयाँ छ । गत वर्ष बैंकले ४५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले पुस दोस्रो सातासम्ममा ७१ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल