ओलीले शिलान्याश गरेको परियोजना विरुद्ध उभिएकै हुन् ऊर्जामन्त्री ? भूमिगत प्रसारण लाइनमा पुनः प्रश्न



काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको विद्युत् प्रसारण लाइनको भूमिगत गर्ने कार्यका सन्दर्भमा पुनः ऊर्जा मन्त्रालयले विगतको प्रतिवद्धता विपरितको वक्तव्य जारी गरेको छ ।

यही पुस १९ गते ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मान्छे मार्ने औजारको रुपमा भूमिगत प्रसारण लाइन बनाएको तर्क गरेका थिए । सोही तर्कलाई बल पुग्ने गरी मन्त्रालयका तर्फबाट बिहिबार साँझ जारी गरिएको विज्ञप्तिमा समेत भूमिगत प्रसारण लाइन बनाउँदा पूर्ण व्यवस्थित , मितव्ययी, दिगो बनाउने लक्ष्य राखिएको जनाइएको छ ।

जुन आफैले गरिरहेको कामको विपरित छ । ऊर्जा मन्त्रालयको योजना अनुसार नै एशियाली विकास बैंकको ऋण सहयोगमा पहिलो चरणमा काठमाडौं उपत्यकामा वितरण प्रणाली भूमिगत बनाउने काम जारी छ ।

मन्त्रालयको विज्ञप्तिमा विद्युत्, टेलिफोन, इन्टरनेट, सिसिक्यामेरालगायत संरचना रहने गरी अगाडि बढाउँदा सान्र्दभिक र लाभदायक हुन्छ भनिएको छ । प्राधिकरणले महाराजगन्ज, रत्नपार्क वितरण केन्द्र मातहत भूमिगत वितरण प्रणाली निर्माण गरिरहेको छ । सो भूमिगत प्रसारण प्रणालीमा त्यो सुविधा रहँदैन । डिजाइन पनि त्यसरी भएको छैन ।

मन्त्रालयको विज्ञप्तिमा भनिए जस्तो घना शहरी क्षेत्रमा सवारी साधन नै जाने गरी संरचना बनाउन सम्भव छैन । नयाँ बन्ने सडक पूर्वाधारमा भने त्यस्तो संरचना बनाउन सकिन्छ ।

काठमाडौंको दुई वटा वितरण केन्द्रमा भारतीय ठेकेदार कम्पनीले ३० महिनामा सक्ने गरी ठेक्का लिएको छ ।

कोरोनाका कारण केही काम प्रभावित भएपनि हाल भूमिगत प्रसारण प्रणाली निर्माणको भइरहेको छ । विज्ञप्तिमा विद्युत् वितरण प्रणालीलाई आधुनिक , व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई शहरी सौन्दर्यकरणलाई ध्यान दिनुपर्ने तर्क गरिएको छ ।

गृह जिल्ला अर्घाखाँची पुगेको बेला ऊर्जामन्त्री रायमाझीले प्रधानमन्त्रीले नै शिलान्याश गरेको कार्यक्रम विरुद्ध अभिव्यक्ति दिएका थिए । उनले कुलमानहरुले मान्छे मार्ने धराप बनाएको भन्दै भूमिगत प्रसारण प्रणाली गलत भएको बताएका थिए ।

उनले भूमिगत विद्युत् प्रणालीको बारेमा गलत अभिव्यक्ति दिएको भन्दै प्राधिकरणका प्राविधिक र इन्जिनियर नै तिनछक्क परेका थिए । एशियाली विकास बैंकको सरल ऋणमा सो काम भइरहेको छ ।

आक्रोशित मुद्रामा मन्त्री रायमाझीले अर्घाखाँचीमा भनेका थिए ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । उनले त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइरहेको त्यसको अध्ययन भइराखेको दावी गरेका थिए ।

ऊर्जामन्त्रीले प्रधानमन्त्री केपी ओलीले नै शिलान्याश गरेको परियोजनाका बारेमा तथ्य नै नबुझी अभिव्यक्ति दिएका थिए । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री रायमाझीले भनेका थिए ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ ।’

उनले महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले भन्दै आफनै शैलीमा असन्तुस्टि व्यक्त गरेका थिए ।

गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शहरलाई सुन्दर र व्यवस्थित बनाउने भन्दै तार भूमिगत गर्ने परियोजना काम शुरु गरेका थिए ।एशियाली विकास बैंकको सहयोगमा ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि बोलपत्र आह्वान भइसकेको छ । त्यसका लागि ठेकेदार परिचालन हुन मात्रै बाँकी छ ।

कास्कीको लेकसाइड र भरतपुरको नारायणगढ क्षेत्रमा पनि काम थाल्न टेन्डरको काम अन्तिम चरणमा पुगेको छ । यस्तै, अन्य विभिन्न १७ वटा शहरमा पनि अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ ।

जानकारहरुका अनुसार हालसम्मकै सबैभन्दा सुरक्षित एवम् भरपर्दो वितरण प्रणाली नै भूमिगत वितरण प्रणाली हो । यस्तै मन्त्रालयले लोडसेडिङका विषयमा समेत बोलेको छ । उसले विद्युत् कटौती इतिहास भइसकेको त्यसबारेमा सोच्न पनि नसकिने जनाएको छ ।

ऊर्जा संकट निवारण गर्ने उद्देश्यका साथ २०७२ सालमा अगाडि सारिएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकको अवधारणा अनुसार नै काम भएको समेत उल्लेख गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले यही पुस १७ गते नै विद्युत कटौती नहुने जनाइसकेको स्पष्ट पारेको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषयमा रुपान्तरित भइसकेको छ ।’


पुष्प दुलाल