उद्योग मन्त्रालयको चौमासिक प्रगति निराशाजनक



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालु आर्थिक वर्षको चार महिनाको प्रगति निराशाजनक नै देखिएको छ ।

चालु आवको लागि नीति तथा कार्यक्रममा २४ वटा कार्यक्रम रहेको थियो । जसमा बजेटमा १९ वटा कार्यक्रम परेको थियो । त्यसको पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन ।

मन्त्रालयका अनुसार बजेटले परिकल्पना गरेका कार्यक्रम तथा आयोजनाको प्रगति सन्तोषजनक छैन । मन्त्रालयले उद्योग र वाणिज्य तथा आपूर्तिमध्ये उद्योगमा बढी र वाणिज्य तथा आपूर्तितर्फका कार्यक्रम तथा आयोजना कम रहेको छ ।

मन्त्रालयको उद्योगतर्फको ८० र ८० प्रतिशतभन्दा बढी ३ वटा कार्यक्रममा मात्रै प्रगति भएको छ । यस्तै ५० देखि ७९ सम्मको प्रगति उद्योगतर्फ ४ र ५० देखि ७९ प्रतिशतसम्म भएको प्रगतिमा उद्योगतर्फ ४ वटा आयोजनको काम भएको छ ।

यसको केही प्रगति देखिएको छ । यस्तै ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको संख्या ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वाणिज्य तथा आपूर्ति तर्फको ८० र ८० प्रतिशतभन्दा बढी प्रगति भएको काममा २ वटा आयोजना रहेको छ । त्यस्तै ५० देखि ७९ प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या २ वटा मात्रै छन् । त्यस्तै ५० प्रतिशत भन्दा कम प्रगति हुने आयोजनामा ४ वटा छन् ।

मन्त्रालयका अनुसार ८० वा ८० प्रतिशतभन्दा बढी उद्योग र वाणिज्य तथा आपूर्तितर्फ २९ प्रतिशत काम भएको छ । यस्तै ५० देखि ७९ प्रतिशतसम्म जम्मा २५ प्रतिशत काम भएको छ । यता ५० प्रतिशतभन्दा कम प्रगति उद्योग र वाणिज्य तथा आपूर्तितर्फ ४६ प्रतिशत प्रगति भएको छ ।

मन्त्रालयका अनुसार चालु आवको लागि १ खर्ब २९ अर्ब ३६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटमध्ये प्रथम चौमासिकको लागि उद्योगतर्फ १८ अर्ब ६ करोड ४० लाख रुपैयाँ बजेट रहेको थियो । त्यसमा ६ अर्ब १७ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

उद्योगतर्फ पुँजीगतको लागि पहिलो चौमासमा ३ अर्ब ३६ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा ९३ करोड ५० लाख रुपैयाँ मात्रै खर्च भएको छ । उक्त बजेटमा वार्षिक बजेटको तुलनामा ८.५३ प्रतिशत खर्च भएको छ । त्यस्तै चौमासिक बजेटको तुलनामा ३४.३६ प्रतिशत खर्च भएको छ ।

त्यस्तै वाणिज्य तर्फ १२ अर्ब ८७ करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ३७ करोड २० लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसमा पुँजिगततर्फ पहिलो चौमासमा पुँजिगततर्फ ३ अर्ब ११ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो ।
विनियोजन बजेटमध्ये वार्षिक बजेटको तुलनामा ३.८४ र चौमासिकको तुलनामा २६.१९ प्रतिशत बजेट खर्च भएको छ ।

उद्योग र वाणिज्यतर्फ विनियोजन भएको बजेटमा वार्षिक बजेटतर्फ हेर्दा ९.३६ र चौमासिकतर्फ हेर्दा ३०.८४ प्रतिशत मात्रै खर्च भएको छ ।

यो अवधिमा मन्त्रालयले भौतिक कामभन्दा पनि कानूनी काममा ध्यान दिएको छ । तै पनि कानूनी निर्माणको कामले पनि पूर्णता पाएको छैन ।

मन्त्रालयका अनुसार एउटा नियमावली, तीन वटा निर्देशिका, एक वटा कार्यविधि र एक वटा आचारसंहिता स्वीकृत भएको छ । यस्तै एक वटा ऐन , एक नियमावली र दुई कार्यविधि मन्त्रिपरिषदमा पेश भएको छ ।

मन्त्रालयका अनुसार ३ वटा विधेयक , दुई वटा नियमावली र एक वटा निर्देशिका स्वीकृतिका लागि पेश हुने क्रममा रहेको छ ।

यस्तै दुई वटा नीति, दुई वटा ऐन, दुई वटा नियमावली, दुई वटा निर्देशिका र दुई वटा कार्यविधिको मस्यौदा तयार भईरहेको छ ।


क्लिकमान्डु