ओलीनोमिक्स र अर्थतन्त्रः नीरव पुडासैनीको लेख



वैश्विकरणका कारण महामारीको कहरद्वारा सृजित आर्थिक शिथिलताको बाछिटा देशको अर्थतन्त्रमा परेको आभाष सायद सम्बन्धित व्यवसायीहरुले महसुस गरिसकेको हुनुपर्छ । तथापि क्रोनि क्यापिटालिजम र यसको सहयात्री हुण्डी व्यवसाय थोरै निस्तेज भएका कारण विप्रेषणको मात्रा बैंकिङ च्यानलमा वृद्धि भएको फलस्वरुप तलरतामा केही सहजता आएको देखिन्छ ।

यही कारण चुनावमा उम्मेदवारहरुले धेरैभन्दा धेरै खर्च गरुन् र देशको पुँजीगत विकास तथा महामारीविरुद्ध लड्न छुट्याइएको रकम रकमान्तर गरेर देशको अर्थतन्त्रलाई गतिदिने महान लक्ष्य प्राप्ति गर्न संसद विघठन गरेको हूँ भन्ने हुँकारको आभाष हुने गरी ओलीले हिजो रोदनयुक्त कारुणीक भाषण गरे ।

असमयमा नै किन नहोस्, आफ्ना हठलाई साकार गर्न नै किन नहोस्, जनतामा जानु कसरी अलोकतान्त्रिक हुन्छ ? सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भाषण गरिरहेका थिए, सायद म तन्द्रमा थिए ।

राजुसादा, प्रेमललवा, दिगम्बर, टुहर, शत्रुधनकुर्मी, दिलबहादुर, बियोगी श्रेष्ठहरु प्रसन्न थिए । सोच्दै थिए होलान्, अब केही समयपछि, केही हप्ता दिनपछि हाम्रो घर आँगन गुल्जार हुनेछ । हाम्रो नाउँमा भाषण गरिनेछ । हाम्रा बच्चाहरुको नामाकरण हुनेछ । तीनले अत्तर सुँघ्ने छन् ।

एकाध छाक मासुको गन्ध र स्वाद उनीहरुका दुई इन्द्रियहरुले पाउनेछन् । ओलीको भाषण र प्रेमललवाहरुको भावनाको वेगमा ओलीको यस कु–कृत्य म पनि मौन स्वीकृति गर्न बाध्य छु वा बाध्य भएको महसुस गरेको छु । सायद यहाँहरु पनि यही सोचिरहनु भएको होला ।

जे होस्, अझै अर्थतन्त्र जोगाउने ओलीको अचुक उपाय पानीजहाज, रेल, घरघरमा ग्यास पाइप, जत्तिकै स्वप्निल छ । जनादेश लिने कुराको कसैले किन विरोध गरोस् । चुनावमार्फत् आर्थिक विकासका लक्ष्य पूरा गर्ने ओलीको योजनाबाट विश्वले केही सिक्नेछ ।

नयाँ आर्थिक औजारको रुपमा यसको नामाकरण ओलीनोमिक्स भनेर सम्बोधन गरिनेछ । उनलाई अग्रीम बधाई, चुनावमार्फत् समृद्धि हासिल गर्न उनको एक मात्रै लक्ष्य । यस्तै यस्तै ओलीदर्शनबारे गम्दा गम्दै नेपालको ५५ वर्ष पुरानो होटल बन्द हुने खबरले मन अमिलो बनायो ।

तथापि ओलीको रोजगारी कार्यक्रम अन्तर्गत ती सबै प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका कर्मचारीहरुले रेल विभाग, पानीजहाज संस्थान, ग्यास पाइप मन्त्रालय, सुरुङ विभाग, उखु तथा अलैँची निर्यात केन्द्र, पेट्रोलियम खानी, युरोनियम खानीमा काम पक्कै पाउलान् ।

यसअर्थमा उनीहरु एकै स्वर जप्नेछन्, ओलीनोमिक्स जिन्दावाद । जसरी लोचनवंशका प्रजाहरुले आफ्ना प्रिय राजाका पाउमा स्तुती गान गर्थे ।

‘बजरङदेशका प्रजापालक दुःख निवारक
स्वर्णभूषणधारक तेजोमय
निर्भय शत्रुनाशक…….
ईश्वरका छाँया प्रभुसमान
जय जय हे दुःखीका राजा’
(राजवद्वारा लिखित लोचनवंशको साक्ष्य नाटकबाट उधृत)

यही शैली र भावमा ओलीनोमिक्सभित्र ओलीटिक्स गरिरहेका ओलीका आसेपासेहरुले स्तुतीगान गरेकै कारण आज ओलीको तेजोवध भएको उनलाई अझै भान परेको देखिँदैन । र, यसैको श्रृंखला हो प्रतिधिनिधिसभाको बिघटन । उनले चुनावको घोषणा त गरे तर चुनावमा तटस्थ सहभागीता हुने कार्यकर्ता इतरका मध्यमवर्ग चाहे ती न्यून हुन् वा उच्च मध्यमवर्ग उनीहरु यस महामारीका कारण आर्थिकरुपमा प्रत्यक्ष शिकार भएका छन् भन्ने ओलीले ख्याल गरेनन् ।

यसै कारण ओलीको यस कदमलाई अर्थ राजनीतिकरुपमा अत्यन्तै कच्चा भनेर ब्याख्या गर्दा अन्यथा हुँदैन । मध्यमवर्गको रोजगारी तथा उपभोगको आधार बनेको खुद्रा तथा चेन पसलहरु होटल रेष्टुराँआदिमा यस महामारीको प्रत्यक्ष प्रभाव परेको हामी देख्न सक्छौं । यो क्रमिकरुपमा बढ्दै जाने देखिन्छ ।

अमेरिकी तथ्यांक अनुसार धेरै मलमा आधारित पसल, रेष्टुराँ बन्द हुने अनुमान गरिएको छ । र, नेपाल जस्तो देशमा पूर्णरुपमा सत्य सावित हुने देखिन्छ । महामारीले सृजित आर्थिक कहरको छनक हाम्रो अर्थतन्त्रले अझै महसुस गर्न पाएको छैन । यही कारण बजारमा महत्वाकांक्षा बढेको देखिन्छ । आर्थिक कहरको बाँछिटा नेपाली अर्थतन्त्रमा पर्न केही समय लाग्छभन्दा अन्यथा नहोला ।

विगतमा पनि वैश्विक आर्थिक प्रभावको छिटा पर्न समय लागेको थियो । सन् २००७ सालदेखि शुरु भएको आर्थिक संकटको प्रभाव नेपालमा त्यसबखत देखिएन । हुन त त्यही ताका विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने घरजग्गा र अटो व्यापाराआदिको व्यापार नेपालमा चरम उत्कर्षमा पुगेको थियो । पछि यसको प्रभाव अर्थतन्त्रमा नकारात्मकरुपमा पर्यो । जुन सबैले महसुस गरेकै कुरा हो ।

यसअर्थमा नेपालको अर्थतन्त्रमा कुन रुपको प्रभाव पर्छ भनेर आज नै भन्न सक्ने अवस्था छैन । अहिलेको राजनैतिक अस्थिरता र विश्व अर्थतन्त्रको असर नेपाली जनजीवन र अर्थतन्त्रमा चाँडै नकारात्मक असर पर्ने आँकलन गर्दा गलत हुँदैन ।

हिजो आज विप्रेषणको टेकोले नेपाली अर्थतन्त्र र सँगै अर्थराजनीतिमा दरिलोसँग थाम दिएको देखिन्छ । सायद पछिल्लो त्रैमासिक अवधिमा साढे ३ खर्बमाथिको रकम भित्रिएको कारण नै हो कि ? प्रम ओलीको चुनाव गर्ने आँट बढेको ?

सायद उनी सोच्दै होलान, चुनाव हुन (जुन नहुन पनि सक्छ) ४ महिना बाँकी छ । यो अवधिमा थप ४ खर्ब बिप्रेषण भित्रिन्छ । सँगै कालो भनिएर थन्किएका नेताहरुका पैसाहरु पनि योसँगै पूँजीगत खर्चलाई रकमान्तर गरेर चुनाव खर्च पुर्याउँछु । सपना देख्ने ओलीको पुरानो बानी हो । त्यो पनि (मुंगेरिलालके हसिन सप्ने) जस्तै दिउँसै बिना आधारको सपना ।

नेपाललगायत विश्वका प्रायः सबै देशहरु कोरोनाको महामारीसँग जुँधिरहेका छन् । सबै सरकारहरुको पहिलो प्राथमिकता कोभिडविरुद्धको खोप लगाउन र कोरोनाले शिथिल हुँदै गएको अर्थतन्त्रलाई टेको लगाउने रहेको देखिन्छ तर नेपाल, प्रमको, ओलीको उहीँ मुंगेरिलाल ।
पुरानो तथ्यांक र मूल्यवृद्धिको आधारमा हेर्दा नेपाललाई थप १५ अर्बभन्दा धेरै चुनावी खर्च चाहिन्छ । त्यस्तै, कोभिडविरुद्धको खोप किन्नु पर्दा तथा त्यसको व्यवस्थापनमा खर्च गर्दा (जुन यिनले गर्ने भ्रष्टाचार बाहेक) करिब २८÷३० अर्बको आवश्यकता पर्ने अनुमान गर्न सकिन्छ । यी र यस्तै यावत विषयमा प्रमको सम्बोधन किन आउँदैन ?

जनताले चाँही उनले भनेको बेलामा घाममा सेकिएर किन मतदान गर्न जानुपर्ने ?

उनले भन्नु पर्यो, विकास आयोजनाहरुबाट रकम काटेर चुनाव गर्न किन आवश्यक थियो ? केही समय अघि उनी काम चलाउ प्रम हुन चाहन्छन् वा उनको रहर पूरा गर्न विकासले किन रोकिनु पर्ने ? यसको पनि जवाफ उनले दिउन् ।

वैदेशिक लगानीको भाषण गरेर नथाक्ने हाम्रा प्रमले भनुन्, यस्तो स्थितीमा कुन लगानीकर्ता नेपाल आउँछन् ? र थप रोजगारी सिर्जना गर्छन् । सायद आफ्ना पक्षका केन्द्रीय सदस्यलाई भन्दै होलान, रोजगारी सिर्जना नभएको वा थप अरु रोजगारी गुमेको चुनावको हिसाबले ठीक हुँदैछ । यो मेरै योजना हो । यस्ता तुकहिन तर्क गर्न उनी माहिर जो छन् ।

नेपालीजनहरुले चित्त बुझाएका थिए । सयौं खराबहरु मध्ये एक खराब भए पनि यिनले केही गर्छन् भन्ने थियो । बिडम्बना ओलीनोमिक्सभित्र ओलीटिक्स छिरेपछि यिनले देश गए भाँडमे आफू खान नपाए अरुलाई पनि सहज हुन दिन्न भन्ने पारामा चुनाव घोषणा गराए । प्रतिनिधिसभा विघटन गरे ।

सायद चुनाव हुने आर्थिक कारोबारका कारण देशको अर्थतन्त्र चलायमान हुन्छ र भ्याक्सिन किन्ने खर्च जुटाउन सकिन्छ भन्ने तर्क होला ओलीनोमिक्स सिद्धान्तअनुरुप । ओलीनोमिक्स सिद्धान्तको कारणभन्दा इतरको कारण बैंकिङ क्षेत्रमा तरलता वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यस आर्थिक वर्षको अहिलेसम्मको तथ्यांकको आधारमा सबैजसो बैंकहरुको बेसरेट करिब १ देखि १.५ प्रतिशतले घटेको छ । व्यापार, व्यवसाय तथा उद्योगहरुलाई यो राम्रो संकेत हो । तथापि कहिलेसम्म भन्ने यक्षप्रश्न अनुत्तरित नै छ ।

ओलीनोमिक्सभित्र छिरेको ओलीटिक्सका कारण यो अझै बढ्ने अनुमान गर्न सकिन्छ । कारण नैराश्यतामा व्यापार गर्न कोही तयार हुँदैनन् । त्यसकारण तरलता र ब्याजदरको राम्रो सदुपयोग हुन सकेन भने यो धेरै घातकसिद्द हुन्छ । आर्थिक हिसाबले हेर्दा दुर्घटनातर्फ लागेको प्रष्ट देखिन्छ ।

रोजगारी सृजना हुने र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा भन्दा अन्य व्यापार र सेयर कारोबारमा धेरैभन्दा धेरै यस्ता तरलता खपत हुन थालेको देखिन्छ । हुन त यो अन्य देशहरुको पनि समस्या हो । जसरी विदेशी पुँजीबजार घातकरुपमा उकालो लागिरहेको छ । नेपालमा पनि त्यस्तै देखिन्छ ।

लगानीभन्दा कारोबार हावी भएको आजको परिप्रेक्ष्यमा जोखिम बहन क्षमताको आधारमा कारोबार गर्नु निर्विकल्प विकल्प हो । तसर्थ ओलीनोमिक्स सिद्दान्तको प्रमुख सुत्र भनेकै च्याँखे थाप्नु हो । तर नेप्सेका लगानीकर्ताहरुलाई उक्त सिद्दान्तको सुत्र प्रयोग नगर्न सुझाव ।

(राजुसादा, प्रेमललवा, दिगम्बर, टुहर, शत्रुधनकुर्मी, दिलबहादुर, बियोगी श्रेष्ठ यी सबै पात्रहरू नयनराज पाण्डे, राजव, नारायण ढकालका उपन्यासहरूमा जीवितै छन् ।)


पुष्प दुलाल