श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरू उपलब्ध गराउन सरकार प्रतिबद्ध छः श्रम मन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरू उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा शुभकामना दिँदै सो बताएका हुन् । मन्त्री यादवले वैदेशिक रोजगारीमा नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्नेमा देखिएका चुनौतीहरूको सामान गर्दै सरकारले समूचित व्यवस्थापनका लागि निरन्तर अगाडि बढिरहेको बताए ।
त्यस्तै विश्व महामारीरुपमा देखा परेको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखी विगतको वर्षभन्दा पृथकरुपमा र साथै सुरक्षित हुने गरी आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको जनाएको छ ।
त्यसैगरी, नेपालमा श्रमिकहरूको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइरहेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा भइसकेको बताएका छन् ।
मन्त्री यादवले श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७४ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । साथै, सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरुपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताए ।
आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घबाट १८ डिसेम्बर १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर १८ डिसेम्बरका दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही दिनको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।
हाल विश्वभर २७ करोड २० लाख मानिस आप्रवासी छन् । जसमा ५२ प्रतिशत पुरूष छन् भने ४८ प्रतिशत महिला छन् । त्यसैगरी विश्वका सबैभन्दा बढी आप्रवासनको तथ्याङ्क हेर्दा भारत अगाडि छ ।
भारतको मात्रै एक करोड ७५ लाख श्रमिकहरू देशबाहिर रहेको जनाएको छ । भारतपछि लगातार मेक्सिको र चीन छ । यी देशको क्रमश १ करोड १५ लाख र १ करोड ७ लाख मानिस देशबाहिर फ्याक्ट रिसर्च एनालाइटिक्सको तथ्याङ्कले देखाउँदछ ।