अब राति १२ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाइने



काठमाडौं । कोरोना महामारीका कारण करिब ९ महिना बन्द भएका हेको रात्रीकालीन व्यवसाय अब खुल्ने भएका छन् । सरकारले बन्द अवस्थामा रहेका रात्रीकालीन व्यवसाय (डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज, रेष्टुराँ) खोल्न अनुमति दिएको हो ।

रात्रीकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरुले गत मंसिर १७ गतेदेखि व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । लामो समयको बन्दाबन्दीले गर्दा आधिकारिकरुपमा सञ्चालन गर्ने निर्णय नभए पनि व्यवसायीहरूले राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

व्यवसायी र सरकारको छलफलपछि बुधबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै जिल्ला प्रसाशन कार्यालयसँगको समन्वयनमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकिने निर्णय भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

उनका अनुसार व्यवसायीले राखेका माग सम्बोधन गर्दै सरकारले राति१२ बजेसम्म खोल्न पाउने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै, कोरोनाको समय भएकाले विश्व स्वास्थ्य संगठन र सरकारले तोके बमोजिम स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिन अनुरोध गरेको उनको भनाइ छ । सोही अनुरुप व्यवसायीहरूले जिल्ला प्रसाशन कार्यालयसँगको समन्यवयमा स्वास्थ्य मापदण्डका सर्तसहित रात्रीकालिन व्यवसाय १२ बजेसम्म खुलाउन सक्नेछन् । जसमा व्यवसाय सञ्चालनका लागि समयवधि तोक्ने, अनुगमन, नियमन र कारवाहीबारे अब जिल्ला प्रसाशन कार्यालयले निर्णय गर्ने भएको उनले जानकारी दिए ।

‘हालसम्म रात्रीकालीन व्यवसायको विषयमा सरकारले कुनै निर्णय गरेको थिएन । अब भने १२ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने सहमति भएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘सरकारले तोके अनुसार मापदण्ड पालना नगरेको खण्डमा अनुगमन गर्ने टोलीले बन्द गर्न सकिने निर्णय भइसकेको छ ।’

साथै, व्यवसायीहरूले सामाजिक दुरी कायम गरेर आफ्नो व्यवसायको क्षमता अनुसार सतर्कतापूर्वक व्यवसायी सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।

क्रिसमसमा व्यापार हुने अपेक्षा
लामो समयपछि खोल्न थालिएको दोहोरी साँझ तथा रात्रीकालीन व्यवसायले क्रिसमसको समयमा केही मात्राले ग्राहक बढ्ने व्यवसायीहरूले अपेक्षा गरेका छन् । कोरोनाले गर्दा करिब ९ महिनासम्म बन्द अवस्था रहेको व्यवसाय हाल सञ्चालन अवस्थामा छन् । तर, विगतको तुलनामा ग्राहक भने निकै कम भएकाले क्रिसमसको समयमा ग्राहक बढ्ने व्यवसायीहरूले अनुमान गरेको छ ।

साथै, क्रिसमसको समयमा केही मात्राले व्यापार बढेमा व्यवसायमा राहत मिल्ने दोहोरी साँझ तथा रात्रीकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य लक्ष्मण खड्काले जानकारी दिए ।

उनका अनुसार कोरोनाले गर्दा बन्द अवस्थामा बस्नु भन्दा अहिले सञ्चालन अवस्थामा रहेकाले व्यवसायीहरू उत्साहित बनेको बताए ।

त्यस्तै, सरकारले निर्णय गरेअनुसार क्रिसमसको समयमा आन्तरिक तथा बाह्य पर्यटनको आगमन भएमा करिब ५० प्रतिशत व्यापार हुने उनको अनुमान छ । साथै, ५० प्रतिशतसम्म क्रिसमसको समयमा व्यापार गर्न सकेमा व्यवसायीलाई निकै राहत पुग्ने उनको विश्वास छ ।

विदेशी पर्यटक शून्य, अधिकांश स्वदेशी
विदेशी तथा स्वदेशी पर्यटकका लागि रात्रीकालीन व्यवसायमा ‘हब’ मानिने ठमेलमा अहिले विदेशी पर्यटकको आगमन शून्य जस्तै छ । हाल सञ्चालनमा अवस्थामा रहेको व्यवसायमा विदेशी पर्यटनको आगमन शून्य भएता पनि अहिले थोरै मात्रामा स्वदेशी पर्यटकको आगमन भइरहेको व्यवसायीहरूले बताएका छन् ।

विगतको दिनमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी हुने क्षेत्रमा अहिले स्वदेशी पर्यटकको आगमनले नै व्यवसाय सञ्चालन भइरहेको समितिको सदस्य खड्का बताउँछन् ।

विगतको दिनमा स्वदेशी पर्यटकको आगमन निकै कम भएको अवस्थामा अबका दिनमा स्वदेशी पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने विषयमा छलफल भईरहेको ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष भविश्वर शर्माको भनाइ छ ।

उनका अनुसार विदेशी पर्यटकको आगमन हुन अझै समय लाग्ने भएकाले स्वदेशी पर्यटनलाई आकर्षण गर्नका लागि विभिन्न व्यवसायीसँग छलफल गरेर डिस्काउन्टको योजनाहरू पनि ल्याइरहेको बताए । त्यसमा प्रत्येक व्यवसायीले आफ्नो व्यवसायमा कति प्रतिशत छुट दिन सकिन्छ भन्ने विषयमा छलफल गरी स्वदेशी पर्यटनलाई नै आकर्षण गरी व्यवसाय चलायमान हुने आशा गरेको बताए ।

व्यवसायीको यकिन तथ्याङ्क नहुँदा समस्या
दोहोरी साँझ तथा रात्रीकालीन व्यवसायको छुट्टै कुनै पनि संघ वा संस्था नभए पनि देशभर ५ सयभन्दा बढी रात्रीकालीन व्यवसायी रहेको समितिले अनुमान गरेको छ । जसमा उपत्यकामा २ सयको हाराहारीमा छन् भने करिब ३ सयभन्दा बढी उपत्यका बाहिर रहेको समितिको भनाइ छ ।

नेपालभर यी व्यवसायको आधिकारिकरुपमा संघ संस्था दर्ता नभएका कारण निकै समस्या भोगिरहेको समितिका सदस्य खड्काले बताए । साथै, देशभर यस क्षेत्रमा कति व्यवसाय छन् भन्ने यकिन तथ्याङ्क नहुँदा कति बेरोजगार भए र कति नोक्सान व्यहोर्नुपर्यो भन्ने आँकलन गर्न निकै कठिनाइ भएको उनको भनाइ छ ।

यसले गर्दा अबका दिनमा देशभरका रात्रीकालीन व्यवसायलाई एकजुट गर्नको लागि तथ्याङ्क संकलन गर्ने गृहकार्य भइरहेको उनले बताए । साथै, आगामी दिनमा यस क्षेत्रमा आबद्ध भएका सम्पूर्ण व्यवसायीको छुट्टै संस्था दर्ता गरी आबद्ध गराई समस्याको बेलामा योजना बनाई अगाडि बढ्ने उनले जानकारी दिए ।


क्लिकमान्डु