रोयल मर्चेन्ट बैंकका सहायक महाप्रबन्धकसहित १२ जनालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको पत्र 



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गरेको बदमासी छानबिनमा हात हालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः अर्को वित्तीय संस्थाका पदाधिकारीले गरेको बदमासीमा चासो देखाएको छ ।

अख्तियारले बुधबार साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिका कर्मचारी सहायक महाप्रबन्धक प्रदिपबहादुर खड्कालगायत १२ जनालाई ७ दिनभित्र हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानी नोक्सानी समेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा केही कुरा बुझ्नुपर्ने भएको भन्दै अख्तियारले ७ दिने सूचना जारी गरेको हो ।

कामनपा २३ चिकुमंगल बस्ने रोयल मर्चेन्टका सहायक महाप्रबन्धकसहितले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याई बदमासी गरेको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै साधारण सेयरधनीका तर्फबाट सो फाइनान्सका सञ्चालक भरतकाजी श्रेष्ठलाई समेत अख्तियारले ७ दिनभित्र उपस्थित हुन भनेको छ । उनी काठमाडौं बुद्धनगरका स्थायी बासिन्दा हुन् ।

बादशाह फुडल्याण्ड प्रा लिका ऋषिस्वर थपलिया, फाइनान्सका ऋणी एनबिडिएस सुपरमार्टका सञ्चालक अनोज श्रेष्ठ, फाइनान्सका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, हजुरको हार्डवेयर पसलका सञ्चालक समेत रहेका ऋणी मुकुन्दप्रसाद पराजुलीलाई पनि ७ दिन भित्र उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारका अनुसार साविक एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्यांकनकर्ता सिटी इन्जिनियरिङका नरेश स्वाँर, एपेक्स डेभलपमेन्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनीका सञ्चालक रामबहादुर शाहलाई पनि ७ दिन भित्र उपस्थित हुन भनिएको छ ।

यस्तै, रोयल मर्चेन्ट बैंकिङ उण्ड फाइनान्सका कर्मचारी देवराज ढुंगाना, रोश इन्जिनियरिङ कन्सल्टेन्सीका कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई उपस्थित हुन भनिएको अख्तियारले जनाएको छ ।

एनसीसी बैंकले प्राप्ति गरेको साविक एपेक्स बैंकबाट झण्डै डेढ अर्ब रुपैयाँ बराबरको घोटाला गरिएको बताइएको छ । घोटालामा संलग्न व्यक्तिहरुलाई बयानका लागि बोलाएको अख्तियारले उल्लेख गरेको छ ।

उक्त बैंक घोटाला काण्ड २०७० सालमा रचिएको नेपाली बैंकिङ क्षेत्रको कुख्यात काण्डका रुपमा लिने गरिएको छ । साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, रारा विकास बैंक र अपि फाइनान्स मर्जर पश्चात एपेक्स बैंकको नाममा कारोबार गरिएको थियो ।

सो बैंकको एकीकृत कारोबार शुरु हुनु अगावै रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाममा प्रवाह भएका कर्जामा किर्ते गरेर कमसल धितो लिइएको थियो ।

उक्त प्रकरणमा बैंकलाई डेड अर्ब बढि घाटा लागेको बताइन्छ । सोही घाटाको भार हाल एनसीसी बैंकमाथि परेको बताइन्छ ।


पुष्प दुलाल