बजारमा क्यामेराको अभाव, लकडाउनपछि मूल्य ह्वात्तै बढ्यो, ४ महिनामा ३९ अर्बको आयात



काठमाडौं । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञा खुकुलो बन्दै गएपछि ल्यापटप, मोबाइल, क्यामेरालगायतका विद्युतीय सामाग्रीको व्यापार ह्वात्तै बढ्यो ।

व्यापार बढेसँगै बजारमा ग्राहकले किन्न चाहे अनुसारका विद्युतीय सामाग्री पाउन मुस्किल भएको छ भने मूल्य पनि अस्वभाविक ढंगले बढेको छ ।

बजारमा क्यामेराको माग बढे पनि नियमित उडान हुन नसक्दा पर्याप्त मात्रामा सामान ल्याउन नसकेका कारण मुल्य बढेको व्यवसायीहरुको भनाइ छ ।

२० प्रतिशतभन्दा बढीले मूल्य बढ्यो

लकडाउनअघिसँग तुलना गर्दा बजारमा क्यामेराको मूल्य २० देखि ३० प्रतिशतसम्मले बढेको छ । आयात गरेको क्यामेरामै करिब १० देखि १५ प्रतिशतसम्म मूल्य वृद्धि भएको सिभिल मलस्थित रहेको क्यानोन इमेज स्क्वायरका प्रबन्धक शम्भुकुमार मगरले जानकारी दिए ।
मगरका अनुसार बजारमा क्यानोनका विभिन्न मोडेलका ४८ हजारदेखि अधिकतम ६ लाखसम्मका क्यामेराहरु छन् ।

त्यस्तै नेरोल्याकका ६१ हजारदेखि ५ लाखसम्मका र अन्य कम्प्याक्ट क्यामेराहरू भने १३ हजारदेखि १ लाख मूल्य पर्ने क्यामेराहरू रहेका छन् । तर, यी सबै क्यामेराहरूको मूल्य विगतको तुलनमा निकै मूल्य बढेको उनले जानकारी दिए ।

‘कोरोनाले गर्दा लामो समयको बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय बजारमै उत्पादन हुन सकेन,’ उनले भने, ‘यसले गर्दा अन्तर्राष्ट्रिय बजारमै क्यामेराको मूल्य वृद्धि भएपछि नेपालमा क्यामेराको मूल्य वृद्धि हुनु स्वाभाविक हो ।’

त्यसैगरी, विगतको दिनमा ८० हजार पर्ने क्यामेरा अहिले सामान्यतया १ लाखभन्दा माथि पुगेकाले पनि आयात निकै कम हुन थालेको उनले बताए । यसले गर्दा सिमित मोडलका क्यामेराहरू आयात गरेर बिक्री गरिरहेको उनको अनुभव छ । साथै, जनवरीपछि भने अधिकांश क्यामेराको मूल्य थाहा हुने उनको भनाइ छ ।

लकडाउनअघि १ लाख २६/२७ हजार रुपैयाँ पर्ने क्यानोनको ८० डी क्यामेरालाई अहिले व्यवसायीहरुले १ लाख ७५ हजार रुपैयाँमा बेच्दै आएका छन् । क्यानोनकै अन्य मोडेलका क्यामेराहरुको भाउ पनि यसरी नै बढाइएको छ ।

त्यस्तै, सोनी, निकोन लगायतका चलेका ब्राण्डका क्यामेराहरुको मूल्य पनि २० देखि ३० प्रतिशतले बढेको छ ।

लकडाउनअघि १ लाख १०÷११ हजार रुपैयाँमा बिक्री गर्दै आएको निकोनको डी ७५०० मोडेलको क्यामेरालाई व्यवसायीहरुले अहिले १ लाख ४० देखि ४५ हजार रुपैयाँ भन्न थालेका छन् ।

त्यस्तै, लकडाउनअघि १ लाख ९५ हजारमा बिक्री गर्दै आएको सोनीको अल्फा ए ६५०० मोडेलको मिररलेस क्यामेरालाई अहिले २ लाख ७० देखि ७५ हजार रुपैयाँ भन्ने गरिएको छ ।

कोरोनापछि बजारमा सामान नियमित आउन नसकेकाले मूल्य बढेको सिटी सेन्टरमा रहेको निकोन एक्सपिरियन्स हब नेपालका सेल्स म्यानेजर सुमन न्यौपाने बताउँछन् ।

न्यौपानेका अनुसार बजारमा क्यामेराको अभाव हुँदै जाँदा स्टकमा रहेको क्यामेराको मूल्य केही मात्राले बढेको बताए ।

नेपालमा अधिकतक बिक्री हुने सोनी कम्पनीको क्यामेरामा भने करिब ५/७ प्रतिशतले मात्रै मूल्य वृद्धि भएको सोनी सेन्टरको इन्चार्ज रोमन अवालेले जानकारी दिए ।

अवालेका अनुसार कोभिडपछि माग बढेसँगै दुई चरणमा ल्याइसकेको हुनाले विगतको तुलनामा अधिकांश क्यामेराको मूल्य वृद्धि भएको बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हुनाले आगामी दिनमा ल्याउने क्यामेराको मूल्य १० प्रतिशतसम्म बढ्ने उनको अनुमान छ ।

कोरोनाले गर्दा हालसम्म पनि नियमित उडान हुन सकेको छैन । यसले गर्दा प्रत्यक्ष रुपमा उडानबाट सामान आयात गरी व्यापार गर्ने व्यापारीहरू निकै मारमा परेका छन् ।

त्यस्तै, नेपाली बजारमा बिक्री हुने क्यामेरा अधिकांश उडानबाट ल्याउने गर्दछ ।

तर, कोरोनाले गर्दा नियमित उडान हुन नसक्दा बजारमा खोजे अनुरुपको क्यामेरा पाउन मुस्किल भएको ग्राहकहरू बताउँछन् ।

व्यापारीहरूका अनुसार पनि बजारमा क्यामेराको माग भए पनि आपूर्ति गर्न नसक्दा धेरै समस्या भइरहेको छ । साथै, पछिल्लो समय आयात गरिएको सबै क्यामेराको मूल्य निकै आकासिएको कारणले पनि धेरै आयात गर्न नसकेको उनीहरू बताउँछन् ।

त्यस्तै विगतको दिनमा सामान्यतया माग गरेको १५ दिनसम्ममा नेपाल आइपुग्थ्यो भने अहिले माग गरेको १/२ महिनासम्म पनि आउन निकै मुस्किल भएको छ ।

बजारमा ग्राहकको माग भने बढ्दै गएको र नियमित उडान हुन नसक्दा आपूर्ति गर्न नसकेको हब नेपालका सेल्स म्यानेजर सुमन न्यौपाने बताउँछन् ।

‘कोरोनापछि एक लट सामान ल्याउँदा समस्या भएन,’ उनले क्लिकमान्डूसँग भने, ‘पछिल्लो चरणमा भने फ्लाइटहरू रद्द भएकाले सामान ल्याउन सकेको छैन ।’

त्यस्तै, सोनीले सिङ्गापुरबाट आयात गर्दै आएको सामान भने अहिले सिधै उडान नहुँदा निकै समस्या भइरहेको अवाले सोनीका इन्चार्ज अवाले बताउँछन् ।

अहिले भने सिङ्गापुरबाट थाइल्यान्ड, कतार हुँदै आयात भएकाले धेरै समय र भाडा महंगो पर्दा माग अनुसारको सामान आपूर्ति गर्न नसकेको उनको भनाइ छ । त्यस्तै, बजारमा सबै खालको क्यामेरा अभाव हुन थालेको उनले बताए ।

३९ अर्बको क्यामेरा आयात

कोरोनाकै समय भए पनि आर्थिक वर्ष २०७७/२०७८ को चार महिना (साउन, भदौ, आसोज र कात्तिक)मा ३९ अर्ब ९३ करोड ६१ लाखको क्यामेरा, क्यामेराको लेन्स तथा क्यामेराको पाटपूर्जा आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


पुष्प दुलाल