मौज्दातमा रहेको चिनी सकिन लाग्यो, आयातको टुंगो छैन



काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएसँगै साल्ट ट्रेडिङ कर्पाेरेसनले चिनी आयातका लागि प्रक्रिया शुरू गरेको थियो ।

प्रत्येक वर्ष दशैंतिहार नजिकिँदै गर्दा चिनी उद्योगहरूले मौज्दातमा मूल्यवृद्धि गर्ने ट्रेन्ड रहेको व्यवसायीहरूको भनाइ थियो ।

त्यस्तै, चिनीको मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेशनले दशैं तिहारमा चिनीको अभाव हुन नदिन सरकारसँग ५० हजार मेट्रिक टन ल्याउनका लागि पत्राचार गरेको थियो ।

तर, सरकारसँग ५० हजार मेट्रिक टन ल्याउन माग गरे पनि ३० हजार मेट्रिक टन मात्रै सरकारबाट स्वीकृत पाएको थियो । जसमा साल्ट ट्रेडिङ कम्पनीले २० हजार मेट्रिक टन र १० हजार मेट्रिक टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको थियो ।

दशैं तिहार जस्ता पर्वमा चिनीको अभाव नहोस् भन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार मेट्रिक टन चिनी आयात गरेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन अनुमति पाएकोमा हालसम्म पनि ल्याउन सकेको छैन ।

ट्रेडिङसँग भएको मौज्दात चिनी सकिँदै

असोजमा स्वीकृत पाएको कर्पोरेसनले २० हजार मेट्रिकटन चिनी आयातको ठेक्का भारतीय कम्पनी रेनुका सुगर्स टेन्डरमार्फत् दिएको थियो । उक्त कम्पनीले दशैं अगाडि नै ल्याएको थियो । तर हाल उक्त चिनी पनि सकिन लागेको ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार उक्त २० हजार मेट्रिकटन ल्याएकोमा हाल ट्रेडिङसँग करिब ३ हजार ५ सय टन मात्रै चिनी मौज्दातमा रहेको बताए ।

‘हाल हामीसँग मौज्दातमा धेरै चिनी छैनन् । उक्त चिनीले बजारमा धान्न सकिँदैन्,’ उनले भने, ‘त्यसैले ट्रेडिङले बजारमा अभाव हुन नदिनका लागि सीमित मात्रामा बिक्री गरिरहेका छौं ।’

त्यस्तै, यदि बजारमा ट्रेडिङले वितरण गर्ने हो भने एकदिन पनि धान्न नसक्ने उनी बताउँछन् ।

‘हामीले बेच्न राख्नेभन्दा पनि स्टक मेन्टेन गर्ने हो । मासिक ३० देखि ३५ हजार टन खपत हुनेमा ३५ सय टन केही हैन,’ उनले भने ।

उनका अनुसार एक महिनाको करिब १० प्रतिशत पनि नरहेको बताए । ट्रेडिङमा दशैं अगाडि जुन–जुन स्थानमा अभाव थियो त्यस ठाउँमा पूर्ति गरेको दावी गरे । साथै, हालसम्म चिनी ल्याउने विषयमा कुनै निर्णय नभएका कारण मूल्य कन्ट्रोल गर्न विस्तारै बेच्ने योजना रहेको उनले बताए ।

त्यसैगरी ५० हजार मेट्रिक टनमा बाँकी २० हजार मेट्रिक टन ल्याउनका लागि असोजमै अर्थमन्त्रालयमा पत्राचार गरेका थिए । तर हालसम्म कुनै निर्णय नआएको उनको भनाइ छ ।

‘अर्थमन्त्रालयबाट स्वीकृत नभएपछि कर्पोरेसनले प्रक्रिया अगाडि बढाउन नसकेको उनले बताए । जसले गर्दा आगामी दिनमा बजारमा चिनीको अभाव हुने उनको अनुमान छ ।

व्यापार कम्पनीले चिनी ल्याउन सकेन

साल्ट ट्रेडिङसँगै टेन्डर आह्वान गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि १० हजार मेट्रिक टन ल्याउने अनुमति पाएको थियो । कम्पनीले सोहीअनुसार टेन्डर आह्वान गरेको थियो । तर, चिनी ल्याउनका लागि टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार दशैंतिहारमा ल्याउनका लागि दोस्रो टेन्डर आह्वान गर्न ढिला भएकाले चिनी ल्याउने प्रक्रिया अगाडि नबढाएको बताइन् ।

‘कम्पनीले मुख्यगरी दशैंतिहार लक्षित चिनी ल्याउन खोजेको थियो,’ उनले भनिन, ‘तर, दशैंतिहारमा ढिला हुने भएकाले हामीले साल्ट ट्रेडिङसँग सहकार्य गरेर बजारमा पूर्ति गरेको हो ।’

त्यसैगरी, कम्पनीले दशैंतिहारपछि ल्याउने भनिए पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ । साथै, अबका दिनमा भने बजार अध्ययन गर्नुपर्ने भएकाले तत्कालै रिटेन्डरको प्रक्रियामा नगएको उनले जानकारी दिइन् । यसले गर्दा बजारमा चिनी ल्याउने कि नल्याउने भन्ने विषयमा अन्यौलता भएको उनले बताइन् ।

तीन महिनाबढी समय बित्दा पनि निर्णय आएनः मन्त्रालय

सरकारबाट सञ्चालनमा रहेको जुनसुकै कम्पनीमा खाद्यान्न आपूर्ति गर्नका लागि अर्थमन्त्रालयमा पत्राचार गर्नुपर्दछ । उक्त खाद्यान्न आयातको प्रक्रियाका लागि अर्थमन्त्रालयबाट स्वीकृत भई क्याविनेटबाट पास हुनुपर्दछ ।

त्यस्तै चिनीको लागि पत्राचार गरेको करिब तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै निर्णय नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता शर्मिला केसीले बताइन् ।

‘सरकारी तहमा रहेका सम्पूर्ण खाद्यान्न पूर्तिको लागि अर्थमन्त्रालयको सहमति चाहिन्छ । तर, आपूर्ति मन्त्रालयबाट पठाएको चिनीको पत्राचार अहिलेसम्म त्यहाँ नै रोकिरहेको छ । यसले गर्दा स्वीकृत नभएसम्म आपूर्ति मन्त्रालयबाट कुनै निर्णय गर्न मिल्दैन,’ उनले भनिन् ।


क्लिकमान्डु