पोखरा र भैरहवा विमानस्थल निर्माणमा देखियो समस्या, मन्त्रालय भन्छ- यी हुन् कारण



काठमाडौं । निर्माणधिन भैरहवा र पोखरा विमानस्थलको काम यतिबेला चलिरहेको छ । तर कोरोना महामारीका कारण अपेक्षाकृतरुपमा प्रगति भने हुन सकेको छैन ।

केही समय अघि पर्यटन मन्त्रालयले कोरोना महामारीमा पनि उत्साहजनकरुपमा कोरोना महामारीमा काम अगाडि बढेको दावी गरे पनि चालु आवको पहिलो चौमासमा भने तथ्यांकमा त्यस्तो देखिन्न ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम हालसम्म भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय ६४ प्रतिशत सम्पन्न भइसकेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यसम्ममा सम्पूर्ण काम सक्ने लक्ष्य लिइए पनि त्यसले निर्धारित समयमै मूर्तरुप लिन सकेन । त्यसपछि मन्त्रालयले सन् २०२० को मार्च महिनासम्ममा विमानस्थलको काम सक्ने गरी समय निर्धारण गरेको थियो ।

तर उक्त समयमा कोरोना महामारीका कारण मुलुकमा लडकाउन शुरु भयो र काम निर्धारित समयमा सकिएन । हालसम्म पनि प्रगति विवरण हेर्दा अझै ४/५ महिना समय लाग्ने देखिएको छ ।

त्यसैगरी पोखरा विमानस्थल निर्माणको काम पनि तीव्ररुपमा भइरहेको पर्यटन मन्त्रालयले दावी गर्दै आएको छ । तर चालु आवको चौमासमा मन्त्रालय आफैले गरेको समीक्षामा भने त्यस्तो देखिन्न ।

हालसम्मको प्रगति विवरण हेर्दा पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत भएको छ ।

मन्त्रालय भन्छ- यी हुन् प्रगति हुन नसक्नुका कारण

पर्यटन मन्त्रालयले चालु आवको पहिलो चौमासमा गरेको प्रगति समीक्षामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्तथलको भौतिक प्रगति जम्मा ४३ प्रतिशत भएको छ ।

यसका लागि पर्यटन मन्त्रालयले पहिलो कारणमा नदिजन्य निर्माण सामग्री उत्खनन तथा आपूर्तीमा अवरोध आउने गरेको तर्क पेश गरेको छ ।

त्यसैगरी दोस्रो कारणमा हार्डवेयर निर्माण सामग्री तथा विभिन्न उपकरण तथा निर्माण सामग्रीहरु विदेशबाट ल्याउनु पर्नेमा नसकिएको बताएको छ ।

विमानस्थलमा पहिलो चौमासमा १५ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । पहिलो चौमासिक बजेटका रुपमा २ अर्ब ६ करोड २० लाख रुपैयाँ थियो ।

त्यसैगरी पोखरास्थित क्षेत्रीय विमानस्थल निर्माणका लागि चालु आवमा कुल २१ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जसमध्ये पहिलो चौमासमा कुल ८५ करोड रुपैयाँ खर्च भएको छ ।

यसरी हेर्दा पोखराको विमानस्थल निर्माणमा पहिलो चौमासमा भौतिक प्रगति २६ प्रतिशत र वित्तीय प्रगति २४ प्रतिशत सम्पन्न भएको छ ।

पर्यटन मन्त्रालयले प्रगति हुन नसक्नुका कारणमा आयल डिपो निर्माण कार्यमा नेपाल आयल निगमबाट ठोसरुपमा कार्य अगाडि नबढाएको, एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान सम्बन्धि कार्य स्थानीय स्तरबाट निजी जग्गा कटान शुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको तथा सरकारी वनतर्फको जग्गा कटान शुरु गर्न पूरक इआइए गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरेको छ ।

त्यसका साथै कोभिड-१९ का कारण विदेशबाट दक्ष जनशक्ति ल्याउन नसकिएको बताएको छ ।

त्यसैगरी मन्त्रालयले मुख्य समस्याका रुपमा विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब ४ किलोमिटर पर (मणिपाल, सेति नदि, काहुँखोला)देखि पृथ्वी राजमार्ग तथा भित्रि सडकको नालाबाट र सिँचाइको नहरबाट बगेर आउने पानी एकत्रित भइ विमानस्थल क्षेत्रमा प्रवेश गरी भित्रका संरचनामा क्षति पुर्याउनुका साथै विजयपुर खोला नजिकको जग्गामा पहिलो समेत जाने गरेको उल्लेख गरेको छ ।

मन्त्रायले समस्या समाधानका लागि केही प्रयास गरेको समेत उल्लेख गरेको छ । मन्त्रालयले बाढी पहिरोको नियन्त्रणका लागि आयोजना र सम्बन्धित सिँचाइ,सडक, पोखरा महानगरपालिकाका प्रतिनिधिसहितको कार्यदल बनाइ कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार कार्य अघि बढाउन प्रदेश स्तरबाट समस्या समाधान गर्न प्रक्रिया अगाडि बढेको हुँदा प्रदेश सरकारसँग समन्वय गरिदिन समेत आग्रह गरेको सीमक्षामा उल्लेख गरेको छ ।


क्लिकमान्डु