नदीजन्य र फलामजन्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि, कुन सामग्रीको मूल्य कतिले बढ्यो ?



काठमाडौं । कोरोना भाइरस महामारीले करिब ९ महिना थलिएको निर्माण व्यवसायीहरूले तिहार लगत्तै विभिन्न आयोजनाको काम धमाधम शुरू गरेका छन् ।

तर, आयोजनालाई आवश्यक निर्माण सामग्री इट्टा, बालुवा, ढुङ्गा र डण्डीमा अत्यधिक मूल्यवृद्धिले व्यवसायी मारमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् ।

कात्तिक महिनासम्म सामान्य रहेको मूल्य निर्माण परियोजना शुरू हुने समयको फाइदा उठाउँदै निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएर कालोबजारी शुरू गरेको उनीहरूको आरोप छ ।

जसमा प्रत्यक्ष असर सामान्य उपभोक्ता परेको उनीहरूले जनाएका छन् । कोरोनाले आर्थिक मन्दी खेपिरहेको बेलामा सानो–सानो आयोजना तथा घर बनाउन अति आवश्यक डण्डी, गिट्टी र बालुवाको मूल्य अत्यधिक बढ्नाले मानिसमा अन्यौलता छाएको व्यवसायीहरूको भनाइ छ ।

गत असोज २८ गते गृह मन्त्रालयको निर्णय अनुसार नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने निर्णय भएसँगै व्यवसायी पहुँच भएका व्यक्तिहरूले क्रसर सञ्चालन गरिरहेका छन् भने पहुँच नपुगेका व्यवसायीहरूको क्रसर भने बन्द अवस्थामा रहेको क्रसर व्यवसायीहरूको भनाइ छ ।

एकातिर कोरोनाले गर्दा निर्माण आयोजनाहरू प्रभावित भएका छन् भने अर्कोतर्फ शुरू हुन लागेको आयोजनाहरू सञ्चालनमा आउन सकेको छैनन् ।

त्यस्तै नेपालीहरूको महान चाडपर्व सकिने लगत्तै आयोजना तथा घर बनाउन सुरू भएसँगै नदीजन्य निर्माण सामग्री र फलामजन्य सामग्रीमा ह्वात्तै मूल्य बढाएको छ ।

यसले गर्दा नेपाल निर्माण व्यवसायी महासंघले काम शुरू भएको समय अवधिलाई मध्यनजर गर्दै मूल्य बढाएको र अभाव सिर्जना गराएको भन्दै सरकारलाई ध्यानाकर्षण गरेको थियो ।

हाल नदीजन्य सामग्रीमा करिब २ हजारभन्दा बढी क्रसरहरू भएको स्थानमा अहिले आधा क्रसरहरू मात्रै सञ्चालनमा रहेको साना क्रसर उद्योगका सञ्चालकहरु बताउँछन् ।

उनीहरूका अनुसार पुहँच भएकालाई सरकारले कुनै काम रोक्का गर्न सकेको छैन तर जुन व्यवसायीको पहुँच छैन तिनीहरूको मात्रै बन्द अवस्थामा रहेको उनीहरूको भनाइ छ ।

यस्तै, निर्माण सामग्रीका क्रसर व्यवसायी श्यामराज खड्काका अनुसार बजारमा अधिकांश क्रसर बन्द गराई सामानको मूल्य अत्यधिक बढाउने चलखेल रहेको बताए ।

‘अहिले सरकारका ठूला ठूला आयोजना भएका व्यवसायीहरूको कुनै क्रसर बन्द भएका छैनन् । तर, बजारमा जसले उपभोक्ताको लागि आवश्यक नदीजन्य सामान पूर्ति गर्दै आएका थिए त्यस्ता व्यवसायीहरूको मात्रै क्रसर बन्द भएको छ,’ उनले भने ।

यसले गर्दा सबैभन्दा सामान्य उपभोक्ता निकै मारमा परेको उनीहरूको भनाइ छ ।

साथै, अधिकांश नदीजन्य सामग्रीको मूल्य २० प्रतिशतले बढेको व्यवसायीहरूले बताएका छन् । यस्तै, गत कात्तिकसम्ममा क्रसर उद्योगमै २५ सयदेखि ३ हजारमा प्रतिटिप पाउने बालुवा अहिले ८ हजारसम्म पुर्याएको छ ।

विगतको दिनमा २५ सयमा क्रसरमा प्रतिटिप दिइए पनि काठमाडौंमा आइपुग्दा २२ हजारसम्ममा मूल्य पथ्र्यो, तर अहिले उक्त मूल्य बढेर २८ हजारदेखि ३५ हजार पुगिसेकेको महासंघका अध्यक्ष रवि मिश्रले जनाकारी दिए ।

त्यस्तै, उपत्यकामा गिट्टी ल्याउँदा पहिलो २२ हजार थियो भने अहिले ३५ हजार पुगेको उनको भनाइ छ । साथै, ढुङ्गा विगतको दिनमा ५ हजारदेखि ८ हजारसम्ममा पाउने अहिले १३, १४ हजार पुगेको उनले बताए ।

डण्डीको मूल्य १५ रुपैयाँसम्म वृद्धि
त्यस्तै विभिन्न निर्माण आयोजनामा अत्यावश्यक सामग्री हो डण्डी । बजारमा विभिन्न कम्पनीका विभिन्न प्रकारका डण्डी वा छड पाइन्छ । बजारमा उपलब्ध भएका अधिकांश कम्पनीको डण्डीमा करिब ७ रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको कम्पनीहरूले जनाएको छ ।

त्यसैगरी अशोक स्टिलको मूल्य प्रतिकेजी ७६ रहेको कम्पनीका सूचना अधिकारी रिसव टुडीवालले बताए ।

कात्तिक अघिसम्म करिब ६१ रुपैयाँमा प्रतिकेजी बिक्री भएको डण्डी अहिले ७६ रुपैयाँमा बिक्री भएको उनले जानकारी दिए । त्यस्तै आगामी एक हप्तामा झन मूल्य उनको अनुमान छ ।

कोरोनाले लामो समय बन्द भई उत्पादन तथा माग कम थियो । तर, तिहारलगत्तै बजारमा माग र उत्पादन बढेसँगै मूल्यवृद्धि भएको उनको बुझाइ छ । साथै विश्वको आर्थिक बजारका कारण पनि मूल्यमा वृद्धि हुन पुगेको उनले जानकारी दिए ।

विश्वव्यापी रुपमै स्टिलको मूल्य बढेको हुनाले नेपालमा पनि करिब ७ रुपैयाँदेखि १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको हुलास स्टिलका एक कर्मचारीले बताए ।

जसमा हुलाससँग भएको स्टिलको मूल्य ६६ देखि ७४ रुपैयाँ केजी मूल्य रहेको छ । यी स्टिलमा ७ रुपैयाँ बढेर उक्त मूल्य कायम भएको ती कर्मचारीको भनाइ छ ।

त्यस्तै राजेश हार्डवेयरका एक कर्मचारीका अनुसार जगदम्बा स्टिलको प्रतिकेजी मूल्य ८९ रुपैयाँ र जगशक्ति डण्डीको प्रतिकेजी मूल्य ८८ रुपैयाँ रहेको छ । उनका अनुसार पछिल्लो समय करिब ७ रुपैयाँले डण्डीको मूल्यवृद्धि भई उक्त मूल्य कायम भएको बताइन ।

सिमेन्ट र इट्टाको मूल्यमा गिरावट
निर्माण सामग्रीको अधिकांश सामग्रीको मूल्य बढे पनि सिमेन्ट र इट्टाको मूल्य भने स्थिर रहेको व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै नेपाल उत्पादन संघका अध्यक्ष धु्रवराज थापाका अनुसार विगतको तुलनामा सिमेन्टको मूल्य घटेको बताए । कोरोनाले अधिकांश परियोजना अन्यौल र बजारमा निर्माण कार्य कम भएसँगै सिमेन्टको मूल्य करिब ४० रुपैयाँले घटेको उनले जानकारी दिए ।

‘बजारमा सिमेन्ट उत्पादनको प्रतिस्पर्धा धेरै रहेको छ । तर, बजारमा माग कम भएकाले व्यापारीहरूले मूल्य घटाएरै बिक्री गरिरहेको छ,’ उनले भने ।

जसमा अधिकांश कम्पनीले उत्पादन गरेको ओपीसी र पीपीसी सिमेन्टको मूल्य बढ्न नसकेको र अझै घटेन सक्ने उनको अनुमान छ ।

त्यस्तै, गत वर्ष मनसुन र कारोनाले उत्पादन तथा खपत हुन नसकेको इट्टाको मूल्य सिजनको बेला पनि बिक्री नभएको नेपाल उद्योग संघका अध्यक्ष मेहेन्द्र बहादुर चित्रकार बताउँछन् ।

उनका अनुसार गत वर्ष वर्षा र कोरोनाका कारण धेरै प्रभाव परेकाले करिब ४ सयभन्दा बढी उद्योग बन्द भइसकेको बताए ।

‘अलिले सुदुरपश्चिम, पश्चिम तिर इट्टाको मागसँगै उद्योेग राम्रोसँग चलिरहेको छ,’ उनले भने, ‘तर पूर्वमा भने माग निकै कम भएका कारण धेरै व्यवसायी धारासायीमा छन् ।’

उनका अनुसार ठूला–ठूला योजना शुरु भए पनि उक्त आयोजनामा इट्टाको प्रयोग निकै कम हुने गर्दछ । इट्टाको खपतको लागि घर बनाउने आयोजनाहरूले गति लिए मात्रै बढी बिक्री हुने उनको अनुभव छ ।

बजारमा ठाउँअनुसारको इट्टाको मूल्य फरक फरक पर्ने भएकाले बजारमा १३ रुपैयाँदेखि २२ रुपैयाँमा मूल्य कायम भएको उनको भनाइ छ । यो बेलामा करिब ४० प्रतिशतले बढ्नुपर्ने तर माग कम भएकाले मौज्दातको इट्टा पनि मूल्य घटाएर बिक्री गरिरहेको उनले बताए ।


क्लिकमान्डु