अन्य क्षेत्रको कर्जा सर्दा ११ अर्बले बढ्यो सेयर धितो कर्जा, राष्ट्र बैंक नीतिगत कडाईको तयारीमा



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । कोरोना भाइरसको असर सबै क्षेत्रमा नकारात्मक परेपनि यसले पुँजी बजारलाई भने सकारात्मक प्रभाव पारेको प्रष्ट हुन्छ ।

कोरोना भाइसरको कारण उद्योग, पयर्टन, कृषि, जलविद्युत लगायतका अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट चैतयता कर्जा लगानी सुस्ताएको छ । तर पुँजी बजारमा भने असोज मसान्तसम्म ५९ अर्ब ४० करोड २७ लाख रुपैयाँ कर्जा लगानी बैंक तथा वित्त कम्पनीबाट भएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चैत मसान्तसम्म ४७ अर्ब ६६ करोड १८ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । लगानीकर्ताहरुले चैत यता असोज मसान्तसम्म ११ अर्ब ७४ करोड ९ लाख रुपैयाँ सेयर धितोमा कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाँउछ । जसमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र बैंक तथा वित्त कम्पनीले ८ अर्ब ९९ करोड ३० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सो अवधिमा ओभरड्राफ्ट कर्जा, चालु पुँजी कर्जा, टर्म लोन, हायर पर्चेज लोन, होम लोन, रियल स्टिेट लोन लगायत भने सुस्ताएको छ ।

सेयर धितो कर्जाको सीमा घटाउने तयारीमा राष्ट्र बैंक

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही साता सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति र एकिकृत निर्देशीकामा निर्देशन भएका केही बुँदाहरु कार्यन्यवनमा व्यवहारिक कठिनाइ आएको हुँदा ती बुँदालाई समायोजन तथा परिमार्जन गरिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘बैंकर र विज्ञहरुको सुझाव सहित विभिन्न चरणमा अहिले छलफल भइरहेको छ, धेरै नीतिगत परिवर्तत गर्नु पर्ने भएमा अर्को साता मात्र समीक्षा सार्वजनिक हुनसक्छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, मुख्यतय बैंकरहरुले स्थिर ब्याजदर, विभिन्न प्रकारका सेवा शुल्कका बारेमा पुनरविचार गर्न सुझाव दिएका छन् ।’

बैकर्स र विज्ञहरुको सुझाव समेटेर मौद्रिक नीतिको समीक्षा गरिनुका साथै सेयर धितो कर्जाको सीमाको समेत पुन परिमार्जन हुने सम्भावना रहेको ती अधिकारीले जानकारी दिए ।

‘असारयता पुँजी बजारमा अन्य क्षेत्रमा जाने कर्जा समेत गएको देखिन्छ,’ ती अधिकारीले थपे, ‘पुँजी बजारमा आवश्यकताभन्दा बढी लगानी बढ्दो वस्तु उत्पादनका क्षेत्रमा लगानी घट्छ ।’
केन्द्रीय बैंकले अर्थतन्त्रको सकारात्मक विकास र विस्तारका लागि सेयर धितोको सीमा समयानुसार घढ्बढ गराउने गरेको उनको भनाइ छ ।

अघिल्लो आवसम्म यस्तो कर्जाको सीमा ५० प्रतिशत थियो । सेयर लगानीकर्ता र सरोकारवालाहरुको आग्रहमा राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा ६५ प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिदेखि बैंक तथा वित्त कम्पनीहरुले ७० प्रतिशतसम्म सेयर धितोमा कर्जा प्रवाह गर्न पाउँने व्यवस्था गरेको छ ।

पुँजी बजारमा कर्जा बढ्दा अर्थतन्त्र नकारात्मक दिशामा जाने जानकारहरु बताउँछन् । पछिल्लो ३ महिनामा मात्र विश्वमा १० प्रतिशत र नेपालमा ३५ प्रतिशतले सेयर बजारमा लगानी बढेको विभिन्न तथ्यांकले देखाउँछ ।
बैंक तथा वित्तीय क्षेत्र र पुँजी बजारको लगानीले वस्तु उत्पादन नगर्ने हुँदा यी क्षेत्रमा धेरै लगानी हुँदा देशको अर्थतन्त्र विकासमा नकारात्मक असर पर्ने राष्ट्र बैंक प्रवक्ता गुणाकर भट्टले बताए । ‘महामारी पछि अर्थतन्त्रलाई जोगाउने वा पुनरउत्थान गर्ने उत्पादन र निर्माण क्षेत्र हो, यो क्षेत्रमा लगानी नबढेसम्म देशको विकास सम्भव छैन,’ भट्टले क्किमाण्डूसँग भने, ‘सेयर बजार अहिले बढेको छ, यसका लगानी गरेर छोटो समयमा नै कमाउने बानी भएकाहरु अन्य क्षेत्रमा लगानी गर्ने इच्छा नै राख्दैनन् ।’

सेयर बजारका ठुला लगानीकर्ताहरुले बैंक तथा वित्त कम्पनीबाट अर्बौ कर्जा लिएर सेयर खरिद गर्ने र सेयर मुल्य बढ्दा तुरुन्तै बिक्री गर्दाा तरलताको अस्थिरता बजारमा आउने भट्टको भनाइ छ ।
‘यसले साना लगानीकर्ता मर्कामा पर्नुका साथै भविष्यमा देशको अर्थतन्त्र समेत नकारात्मक दिशा तर्फ जाने सम्भावना हुँन्छ,’ उनले थपे, ‘समयानुसार राष्ट्र बैंक र सरकारले केही नीतिगत परिवर्तन गरी पुँजी बजारलाई दिगो बनाएर अर्थतन्त्रको विकास गर्नुपर्छ ।’

जसका लागि राष्ट्र बैंकले यस क्षेत्रमा जाने कर्जाको सीमा र सरकारले यसमार्फत हुने आम्दानीको करको सीमामा पुनर विचार गर्नु आवश्यक रहेको उनले बताए ।
‘पुँजीगत लाभ कर होल्डिङ पिरियडको आधारमा लाग्ने हुनुपर्छ, अहिले सबै लगानीकर्तालाई ५ प्रतिशत पँजीगत लाभकरको व्यवस्था छ। ’ भट्टले भने ‘यदी ५ वर्षमा सेयर बिक्री गर्छ भने उसलाई १ प्रतिशत मात्र पुँजीगत लाभ कर लगाउन सकिन्छ ।’

तर आज किनेर भोली नै बिक्री गर्छ भने उसको रिर्टनमा राज्यले पनि राम्रो हिसाबमा सेयर लिएर निर्माण, स्वास्थ्य, शिक्षामा खर्च गर्न सक्ने उनको भनाइ छ ।

कोरोनाले थलिएको अर्थतन्त्रको पुनरउत्थान गर्नका लागि राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउँदै आर्थिक गतिविधि बढाउन मौद्रिक नीतिमा केही मौद्रिक उपकरणहरु खुकुलो गरेको उनले बताए । तर बैंक तथा वित्त कम्पनीले तरलता सहज हुँदा आवश्यकता भन्दा बढी सेयर बजारमा कर्जा प्रवाह गरेको उनको भनाइ छ ।

कोरोना भाइसरको प्रभावमा अन्य क्षेत्रमा कर्जा माग नहुँदा बैंक तथा वित्त कम्पनीले तरलता सल्ट्याउन सेयर बजारमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेको नेपाल ब्रोकर एशोसियसनका निवर्तमान अध्यक्ष भरत रानाभाटले बताए ।

‘लकडाउनमा बैंकमा कर्जाको माग थिएन भने अहिले पनि न्यून नै छ, उनले क्लिकमाण्डूसँग भने, ‘कर्जाको माग नभएपछि बैंकको ब्याजदर पहिलेको तुलनामा आधा नै घट्यो जसकारण बैंकबाट कर्जा लिएर भएपनि सेयर बजारमा लगानी धेरै भए ।’

लकडाउनदेखी हालसम्म पनि बैंक तथा वित्त कम्पनीहरुले ब्रोकरहरुमार्फत सेयर धितो कर्जा लिने लगानीकर्ता खोजी खोजी कर्जा दिने गरेका उनले जानकारी दिए ।


क्लिकमान्डु