घरजग्गाको कारोबार बढ्यो, चाडपर्वको समयमा १ लाख बढी कारोबार, रकम ३ अर्बमाथि



काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा बढेपनि अर्थतन्त्रलाई चलायमान बनाउनको लागि बिस्तारै बजारले गति लिन थालेको छ । त्यसैगरी, नेपालीहरूको महान चाडपर्व दशैंतिहारकै महिनामा पनि घरजग्गाको कारोबारले लय समात्न सफल भएको छ ।

कोरोना संक्रमण तीब्र रुपमा बढीरहेको चाडपर्वको समय रहेको कार्तिक महिनामा देशभरका भूमिसुधार तथा मालपोत कार्यालय २० दिन मात्रै कारोबार गरेको थियो ।

उक्त २० दिनमा पनि देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपि जस्ता कार्यगरी कुल एक लाख ४ हजार ९ सय २८ को कारोबार गरेको भूमि व्यवास्थापन तथा अभिलेख विभागको जनाएको छ ।

गत असोजमा देशभरका मालपोत कार्यालयबाट एक लाख ७० लाखको घरजग्गाको कारोबार गर्न सफल भएको थियो । असोज महिनाको तुलना कार्तिक महिनामा करिब ६६ हजारले घरजग्गाको कारोबार कम भएता पनि यस माहोलमा घरजग्गा कारोबारले लय लिएको विभागको भनाइ छ ।

विभागअन्तर्गत १ सय २६ कार्यालयमध्ये अनलाईन प्रणाली सञ्चालन भएका १ सय ८ कार्यालयहरूको मात्रै कारोबार भएको तथ्याङ्क समावेश रहेको विभागले जनाएको छ ।

साथै, अनलाईन प्रणाली लागु नभएका बाँकी १८ कार्यालयहरूको कारोवार यसमा समावेश गरिएको छैन । तर, यी कार्यालयहरूबाट पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ ।

त्यस्तै, देशभरका मालपोत कार्यालयबाट कार्तिक महिनामा ३६ हजार ६ सय ३८ लिखित पारित, १ हजार ८ सय ३३ नामसारी, २ हजार २ सय ६०संशोधन, ३६ हजार ६ सय ३८ रोक्का र १८ हजार १ सय १८ फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

सबैभन्दा बढी कारोबार गर्नेमा इन्रुवा
विभागको तथ्याङ्क अनुसार कार्तिक महिनामा सबैभन्दा बढी कारोबार गरेकोमा भूमि सुधार तथा मालपोत कार्यालय इन्रुवा रहेको छ ।

इन्रुवाले कार्तिक महिनामा १७ सय १२ लिखित पारित, १०६ संशोधन, १४ सय ३० रोक्का र ९ सय ३१ फुकुवाका साथै अन्य कार्य गरेर ४ हजार ४ सय ४२ घरजग्गाको कारोबार गरेको छ ।

त्यसैगरी, जनकपुरधाम, धनुषाले ३ हजार ५ सय ९३, नेपालगञ्ज, बाँके ३ हजार ५ सय ९२, भद्रपुर– झापाले ३ हजार ४ सय ५४, धनगढी–कैलालीले ३ हजार २ सउय ६१ घरजग्गाको कारोबार गरेको छ ।

भद्रपुर झापाले असोज महिनामै ६ हजार ८ सय ८१ कारोबार गरेको छ ।

त्यसैगरी, बेलाबारी– मोरङले ५ हजार ८ सय ८४, नेपालगञ्ज–बाँकेले ५ हजार ५ सय ९१, भक्तपुरले ४९ हजार ९, जनकपुरधाम–धनुषाले ४ हजार ८ सय ७३ लगायत अन्य देशभरका मालपोत कार्यालयले असोजमा उल्लेखनीय कारोबार गरेको छ ।

त्यसैगरी, उपत्यकामा भने सबैभन्दा बढी कारोबार गर्नेमा कलंकी मालपोत कार्यालय रहेको छ । कलंकी मालपोत कार्यालयले लिखित पारित, फुकुवा, रोक्कालगायत अन्य कार्य गरेर १९ सय ६५ घरजग्गाको कारोबार गरेको छ ।

त्यसैपछि मालपोत कार्यालय चावहिलले १६ सय ४२, ललितपुर लगनखेलले १४ सय १०, डिल्लीबजार मालपोत कार्यालयले १ हजार ६०, मनमैजु मालपोत कार्यालयले १ हजार १७ गरेको छ । साथै, साँखु र टोखाले पनि ६ सयभन्दा माथि घरजग्गाको कारोबार गरेको अभिलेख विभागले जनाएको छ ।

३ अर्ब राजस्व संकलन
कोरोना भाइरस महामारी तीब्र रुपमा बढी रहेको र चाडपर्वको समयमा पनि देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ६ करोड २५ लाख ६३ हजार राजश्व संकलन गरेको छ । कार्तिक महिनामा एक लाख ४ हजार घरजग्गाको कारोबार उक्त राजश्व संकलन भएको हो ।

देशभरका मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरी ३ अर्ब रकम संकलन गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

जसमा सेवाकरबाट २३ करोड ३८ लाख ७३ हजार, बागमतिबाट ७ करोड ५३ लाख ५४ हजार, रजिष्ट्रेसन दस्तुरबाट १ अर्ब ७२ करोड ३५ लाख ३४ हजार, छुटबाट २५ लाख १४ करोड ८ हजार, पूजीँगत लाभ करबाट ७३ करोड ५९ लाख ५६ हजार, विलम्ब शुल्कबाट १ लाख ८६ हजार, मुख्यमन्त्री स्वछता अभियानबाट २ करोड ९८ लाख ३ हजार राजस्व संकलन गरेको छ ।

राजश्व संकलनमा उपत्यका अगाडि
विगतको दिनमा झैं कात्र्तिक महिनामा पनि देशभरका राजश्व संकलन गर्नेमा अगाडि उपत्यका नै रहेको छ । तर, असोज महिनामा ललितपुर–लगनखेन मालपोत कार्यालयले सबैभन्दा बढी ४४ करोड ५ लाख ८३ हजार राजश्व संकलन गरेको थियो । तर, कात्तिक महिनामा लगनखेललाई उछिन्दै डिल्लिबजार मालपोत कार्यालयले २४ करोड २७ लाख ६२ हजार राजश्व संकलन गरेको छ ।

जसमा कार्यालयले सेवा करबाट ९२ लाख १३ हजार, बागमतिबाट १ करोड ७८ लाख ७३ हजार, रजिष्ट्रेशन दस्तुरबाट १७ करोड ४० लाख १५ हजार, छुटबाट १ करोड ९४ लाख १३ हनार, पूजीँगत लाभबाट ६ करोड ६ लाख ९६ हजारलगायत अन्य कार्यबाट २४ करोड राजश्व संकलन गरेको छ ।

त्यसैगरी, कलंकी कार्यालयले १८ करोड ७४ लाख ९८ हजार, चावहिलले १७ करोड ९१ लाख ६४ हजार, टोखा कार्यालयले १३ करोड ४१ लाख ५२ हजार, लगनखेल कार्यालयले १२ करोड ७४ लाख १२ हजार राजस्व संकलन गरेको छ ।

उपत्यका बाहिर धेरै राजस्व संकलन गर्नेमा चितवन
त्यसैगरी उपत्यका बाहिर सबैभन्दा बढी राजश्व संकलन गर्ने मालपोत कार्यालयमा चितवन रहेको छ । चितवन मालपोत कार्यालयले ९ करोड ५ लाख, ९७ हजार राजस्व संकलन गरेको छ । त्यसैगरी, कास्कीले ८ करोड ५५ लाख ८६ हजार, धनगढी–कैलालीले ८ करोड ४४ लाख ५९ हजार, पर्साले ७ करोड ६६ लाख २९ हजार र बुटवल–रुपेन्देहीले ७ करोड ५६ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु