लाभांश घोषणा गरेका बैंकको बोनस र नगद कति ?



काठमाडौं । सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म ११ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेको छन् ।

बैंक अफ काठमाण्डूले त लगानीकर्तालाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिइसकेको छ । तर अन्य बैंकले भने दिन बाँकी छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की भन्ने धेरैमा त्रास थियो । तर हालसम्म बैंकहरुले घोषणा गरेको लाभांश दर निकै आकर्षक देखिएको छ ।

बैंकहरुले न्यूनतम ८.२८ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । हालसम्म सबैभन्दा बढी एनआईसी एसिया बैंकले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै सबैभन्दा कम सनराइज बैंकको ८.२८ प्रतिशत रहेको छ । यो अवधिमा लाभांश घोषणा गरेका बैंकमा धेरै बोनस एनआईसी बैंकको १९ र सबैभन्दा कम एभरेष्ट बैंकको ५ प्रतिशत छ ।

लाभाशं घोषणा गरेका बैंकमा सनराइजको बोनस ५.८, नगद २.४८, नेपाल एसबीआई बैंकको बोनस ६, नगद ३.४७, एभरेष्ट बैंकको बोनस ५ र नगद ५.५३ प्रतिशत लाभांश गरी १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले बोनस ७, नगद ४.८४, ग्लोवल आईमएई बैंकको बोनस १४ र नगद २, कुमारी बैंकको बोनस १०.९ र नगद ३.१५ प्रतिशत, सिटिजन्स बैंकको बोनस ८ र नगद ३, सानिमा बैंकको बोनस १० र नगद ३.६ प्रतिशत र माछापुच्छ«ेको बोनस ७.०३ र नगद ३.३७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरण लाई नै जोड दिएको छ ।

कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन् भने बाँकी बोनस सेयर दिनुपर्ने छ । त्यो अनुसार नभएको खण्डमा लाभांश समेत संशोधन गर्नुपर्ने छ । अन्यथा राष्ट्र बैंकले लाभांश संशोधन गर्दैैन ।


क्लिकमान्डु