खतिवडाबाट तर्सिएको सेयर बजारले बिष्णु पौडेललाई विश्वास गर्यो, दोस्रो पटक नयाँ रेकर्ड



काठमाडौं । २०७२ सालमा भूकम्प र नाकाबन्दी गएपछि बिष्णु पौडेल अर्थमन्त्री बने ।

त्यो बेला र अहिलेको आर्थिक अवस्था केही हदसम्म उस्तै थियो । फरक थियो त्यो बेला संकट नेपालमा मात्र थियो अहिले कोभिड-१९ को कारण संकट भने विश्वव्यापीरुपमा फैलिएको छ । २०७२ सालमा प्रधानमन्त्री केपीशर्मा ओली नै थिए ।

४ वर्षअघि नेप्से परिसूचक १८८१ बिन्दुमा थियो । बिहीबार नेप्से परिसूचकले अहिलेसम्म्का सबै रेकर्ड तोडेको छ ।

सेयर बजारका लगानीकर्ताले कांग्रेसका डा. रामशरण महतलाई विगतमा रुचाउने भएपनि नेप्से परिसूचकमा नयाँ रेकर्ड भने कम्युनिष्ट पार्टीका बिष्णु पौडेल अर्थमन्त्री भएको बेला कायम भएको छ ।

बिहीबार नेप्से परिसूचक १९२६ को नयाँ रेकर्ड बनाएको छ ।

नेकपा नेतृत्वको सरकार २०७४ साल फागुनमा बनेपछि सेयर बजारका लगानीकर्ता हच्किएका थिए ।

अझ प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडालाई ल्याएपछि सेयर बजारमा निराशा छायो ।

अर्थमन्त्री बनेपछि खतिवडाले दिएको पहिलो अन्तर्वार्तामै सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिए । जसले गर्दा सेयर बजार थप ओरालो लाग्यो । खतिवडाले बेलाबेलामा दिने विवादास्पद अभिव्यक्तिले लगानीकर्ताहरुमा चरम निरासा पलाएको थियो ।

गत फागुनमा खतिवडाको राष्ट्रियसभाको कार्यकाल सकिने भएपछि सेयर बजार बढेको थियो ।

तर, अर्थमन्त्रीमा संसद् सदस्य नभएपनि ओलीले खतिवडालाई ६ महिना थप अर्थमन्त्रीको जिम्मेवारी दिए । त्यसपछि कोभिड १९ को कारण लामो सयम सेयर बजारको कारोबारसमेत भएन ।

नेकपाको आन्तरिक राजनीतिको कारण खतिवडाले अर्थमन्त्रीको पद छाड्नु पर्यो ।

अर्थमन्त्रीको रुपमा बिष्णु पौडेल आएपछि सेयर बजारमा कारोबार र परिसूचक दुबैले रेकर्ड नै कायम भएको छ ।

बिहीबारमात्र अहिलेसम्मकै उच्च ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकले समेत नयाँ रेकर्ड कायम राखेको छ ।

यसरी हेर्दा पौडेलको पालामा सेयर बजारले नयाँ रेकर्ड कायम राख्ने देखिन्छ ।

सेयर बजार परिसूचक बढ्नु बजारले अर्थमन्त्रीलाई विश्वास गर्नु एक खाले सफलता हो ।

सेयर बजारको आधारमा देशमा लगानीकर्ताको मनोविज्ञानलाई बुझ्न सकिन्छ ।

अर्थमन्त्रीकोरुपमा करिब डेढ महिनाको कार्यकालमा पौडेलले लगानीकर्ताको मनोविज्ञानलाई भने जित्न सफल भएको देखिन्छ ।

नेकपाको राजनीतिमा मिलसार र सबैलाई मिलाएर लैजाने क्षमता भएका पौडेलले नीतिगतरुपमा भने सुधार नगर्दासमेत मनोविज्ञान बढ्नुको पछाडि उनको शैली नै हो ।

तपाईं अर्थमन्त्री भएकै वेला किन सेयर बजारले रेकर्ड कायम गर्छ ? के चमत्कार गर्नुभयो ? क्लिकमाण्डूको प्रश्नमा पौडेलले भनेका थिए, ‘लगानीकर्तामा सकरात्मक सञ्चार भएको र विश्वास जागेको हो भन्ने लाग्छ, बाँकी कुरा तपाईंहरुले नै बुझ्ने र विश्लेषण गर्ने हो ।’

यसबाहेक सेयर बजार बढ्नुको कारण अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको सस्तो ब्याजदर तथा लगानीका अन्य क्षेत्र खुम्चेको कारण सेयर बजारमा लगानीकर्ता आएको कारणले गर्दा भएको हो ।


पुष्प दुलाल