समय लागेपनि कोरोना बीमाको पैसा ढुक्कले पाइन्छः बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे



कोरोना बीमा गरेका बिमितहरुले अहिलेसम्म २६ हजारको हाराहारीमा क्लेम दाबी गरेका छन् ।

भुक्तानीका लागि दाबी गर्नेमा सबै कागजात पुरा गरेर ९ हजार ३ सय को हाराहारीमा कागजात आएको छ । अहिलेसम्म झण्डै ४ हजारको हाराहारीमा दाबी भुक्तानी भएको छ भने २ हजार इडिसिडीमा गएको छ । त्यो फाइलको काम केही समयमा नै सकिने छ । अहिले विभिन्न बीमा कम्पनीहरुले पुलमा दैनिक डेढ सय देखि २ सयको हाराहारीमा फाइल पठाउने गरेका छन् । अहिले ३ हजार जति फाइल प्रकृयामा रहेको र एक साता भित्रै ३ हजार फाइलको काम सक्ने छ ।

कोरोना बीमाको दाबी भुक्तानी एउटा प्रकृयामा गएको र यसले धेरैहदसम्म काम गर्न सजिलो हुने छ । अब चाँडो दाबी भुक्तानीको काम पनि चाँडै सकिने छ । यो अवधिसम्म बीमितहरुले धेरै धैर्य धारणा गर्नुभयो । उहाँहरुले समयमा नै दाबी भुक्तानी पाउन सक्नु भएन । त्यो हामी सबैले बुझेको कुरा हो । यो भनेको हाम्रो दाबी भुक्तानी नगर्ने मनसाय होइन ।

अब भने सबै दाबी भुक्तानीको प्रकृया प्रभावकारी रुपमा हुने छ । हाल २६ हजार बाट ९ हजारको हाराहारीमा मात्रै कागजात आएको । बाँकी १७ हजार हाराहारीको कागजात आएको छैन,अब बीमितहरुले सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरेर आवश्यक कागजात पठाउनु होला । यो विषय हामीले भनिरहेका छौं । बीमितहरुले आफ्नो कम्पनीमा गएर समय समयमा आफ्नो कागजातको के भएको छ भनेर जानकारी लिइरहने हो भने छिटो छरितो हुने छ । जति बीमा कम्पनीले आवश्यक कागजात छिटो पठाउनु हुने छ त्यति नै चाँडो उहाँहरुको दाबी भुक्तानी हुने छ ।

पहिला नै कोरोना बीमा गरेकाले पीसीआर रिपोर्ट, नागरिकता, सक्कली दाबी भुक्तानी फारम पठाउनु पर्छ भने दोस्रो चरणको लागि घरमा बसेको छ भने स्थानीय तहले होम आईसोलेसनमा बसेको पत्र र अस्पतालमा बसेको छ भने डिस्चार्ज भएको पत्र थप चाहिन्छ । यी सबै कागजात पुरा गरेर बीमा कम्पनीमा बुझाउने हो भने दाबी भुक्तानी प्रकृया अझै चाँडो हुनेछ,सबै बीमितहरुलाई यही अनुसार छिटो काम गर्न अनुरोध गर्दछु । यो अवधिमा ढिला भएकोमा म बीमक संघको नाताले, कम्पनीको प्रमुख कार्यकारी अधिकृतको ताले क्षमा चाहन्छु । प्रकृया पुर्याएर आएको कागजातको दाबी भुक्तानी अब धेरै नलम्बिने छैन ।

पुलमा कागजात सममा नै आएन

यसको लागि सम्बन्धित बीमा कम्पनीले आफ्नो काम चाँडो गर्नुपर्छ । कुनै पनि कम्पनीबाट पुलमा आवश्यक सबै कागजात आएको छ भने ७ दिन भित्रै दाबी भुक्तानी पनि भएको छ । ईडीसीडी बाट कागजातको भेरिफाइ गर्नुपर्ने हो भने समय लाग्न सक्ने छ । यस्तो अवस्थामा ७ को ठाँउमा १४ दिनसम्म पनि लाग्ने छ । अहिले बीमा कम्पनीलाई पनि सेवाग्राहीको धेरै नै दबाब रहेको तर्क छ ।

कागजातका यी समस्या

कोरोना बीमा गर्नेमा कर्पोरेट क्लाइन्ट नै बढी रहेका छन् । विभिन्न शाखा कार्यालयबाट आफ्नो मुख्य कार्यालयमा आउन समय लाग्ने गरेको छ । कतिपय अवस्थामा कुरियरमा नै कागजात हराउने जस्ता समस्या पनि भएको छ । त्यसले पनि ढिलो भएको हुनसक्ने पाण्डेको तर्क छ । यता व्यक्तिगत तर्फ स्थानीय निकायमा गएर कागजात जुटाउन पनि सहज भने छैन ।

यस्तै सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सन्दर्भमा सबै कागजात स्थानीय निकायबाट नआएको खण्डमा उनीहरुको विभागले स्वीकृत गरेको खण्डमा हुनेछ ।

ढुक्क हुनुहोस, कोरोना गर्ने सबैको पैसा आउँछ

दाबी भुक्तानी प्रकृयामा भएको विभिन्न खाले ढिलाइको कारण बीमाको दाबी भुक्तानी समयमा नै नहुने हो की भन्ने कोही कसैमा आशंका छ भने त्यस्तो आशंकामा नरहन सबैलाई आग्रह गर्दछु । कोरोना बीमा गरेर कोरोना पोजेटिभ रिपार्ट आएका सबैले पैसा पाउने छन् । त्यसमा केही ढिलो चाँडो हुने भएपनि सबैले पाउने छन् । भेरिफिकेशनमा समय लाग्ने भएपनि नपाउने भन्ने प्रश्न नै हुँदैन । यो बीचमा चाडपर्व, पुलमा रहेर काम गर्ने, कोरोना विभागमा काम गर्ने कर्मचारीमा पनि कोरोना देखिएकोले दाबी भुक्तानीमा समय लागेको छ ।

बीमा कम्पनीले जतिसक्दो चाँडो कागजात पेश गर्नुपर्छ, त्यसको आधारमा दाबी भुक्तानी गरिएको छ, गरिन्छ र गरिनु पर्छ । ढिला भएकोमा हामी क्षमा चाहन्छौ, तर कसैले नपाउने भन्ने हुँदैन ।
अहिले पुलमा कागजात नै आउन ढिला भएको भन्दै त्यसको लागि बिमीतले आफुले बीमा गरेको कम्पनीलाई चाँडो काम गर्न अनुरोध गर्न समेत आग्रह गर्दछु ।

दोहोरो पनाले पनि समय लाग्यो

कोरोना बीमा कयौ बीमितले दोहोरो गरेको पाइयो । एक जनाको व्यक्तिले पनि गर्ने, संस्थागत रुपमा पनि गर्ने, कयौको सहकारीले पनि गर्ने गरेका कारण धेरैमा दोहोरो पना भयो । त्यसले गर्दा समय लागेको छ । कोरोनाको बीमा गर्नेहरुको दोहोरिएको खण्डमा जुन पहिलो मितिमा भएको छ, त्यसलाई नै मान्यता दिइने छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा बीमक संघका अध्यक्ष पाण्डेसँगको कुराकानीमा आधारित


क्लिकमान्डु