अर्थतन्त्रबाट ‘अलग’ फोरजी, २५ अर्ब लगानी व्यर्थ, कहाँ चुक्यौं हामी ?: विश्वास रेग्मीको लेख



चौथो पुस्ताको दूरसञ्चार प्रविधि मानिने फोरजी सञ्चालन र विस्तारका लागि नेपालका दूरसञ्चार कम्पनीहरुले अहिलेसम्म २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । २०७३ पुष १७ गते पहिलोपटक फोरजी सेवा सुरु भएको मितिले करिब ४ वर्षपछि नेपालमा यसको उपयोगीता र आकर्षण मूल्यांकन गर्ने हो भने त्यो निरर्थक जस्तै देखिन्छ ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका करिब ५५ लाख फोरजी ग्राहकमध्ये आधाले पनि सक्रियरुपमा यसको प्रयोग गर्दैनन्, जुन तथ्य अनौपचारिक रुपमा स्वयं सेवाप्रदायकहरु नै स्विकार गर्छन् ।

बाँकी विश्वमा स्थापित यो मोबाइल प्रविधिसँग आम उपभोक्तालाई जोड्न नेपालमा देखिएको कमजोरी के गुणस्तरसँग मात्र सम्बन्धित छ ? अथवा यसको उपयोगिता, मूल्य र प्रयोगका लागि अनुकुल संरचना ? नेपालको हकमा यी ४ आयामहरुको सामान्य उत्तरले मात्र पनि फोरजीप्रतिको आम ‘क्रेज’ किन बढेन भन्ने प्रष्ट हुन सकिन्छ । त्यो भन्दा अगाडि नेपालको इन्टरनेट प्रवृत्ति हेरौं ।

अहिले इन्टरनेटका मुख्य २ किसिमका प्रयोगकर्ता छन् । तारको माध्यमबाट फिक्स्ड इन्टरनेट चलाउने अनि माइक्रोवेभमार्फत मोबाइल डेटा चलाउने । फिक्स्ड इन्टरनेट व्यावसायिक अर्थात् संस्थागत रुपमा बढी प्रयोग भएको पाइन्छ । निजी इन्टरनेट सेवा प्रदायकहरुको आक्रामक बजार विस्तारको प्रतिस्पर्धाले अहिले फिक्स्ड इन्टरनेट प्रयोग गर्ने घरायसी प्रयोगकर्ताको संख्या पनि तिव्ररुपमा बढीरहेको छ । अप्टिकल फाइबर घरसम्म पुर्याएर दिइने यस्तो इन्टरनटेका धेरै सहरी प्रयोगकर्ता छन् । फिक्स्ड इन्टरनेटको पहुँच नै नभएका धेरै ग्रामिण क्षेत्रमा मोबाइल डेटा नै इन्टरनेटको एकमात्र विकल्प बनेको छ ।

फाईभजीकै तिव्र परीक्षण भइरहेको सन्दर्भमा फोरजीको उपयोगिता पुष्टि हुन सकेन भने अर्बौं लगानी जोखिममा हुने सम्भावना पनि उत्तिकै छ । फोरजीलाई अर्थतन्त्र विविध क्षेत्रसँग जोडेर देश सुहाउँदो सुविधा उपलब्ध नगराउने हो भने फोरजीका लागि भएका अहिलेसम्मका प्रयास व्यर्थ हुनेछन् ।

कतिपय सहरोन्मुख ग्रामिण क्षेत्रहरुमा फिक्स्ड इन्टरनेटको पहुँच हुन थालेपनि त्यो पर्याप्त छैन । इन्टरनेट पहुँचका हिसाबले सहरी क्षेत्रका प्रयोगकर्ता फिक्स्ड इन्टरनेटमा र ग्रामिण क्षेत्रका प्रयोगकर्ता मोबाइल डेटामा बढी निर्भर रहेको स्पष्ट देखिन्छ । स्वभाविक छ, आर्थिक गतिविधि बढी हुने ठाउँ सहर नै हो । फिक्स्ड इन्टरनेट यस्ता गतिविधिका लागि निकै सहयोगी पनि बनेको छ । आर्थिक गतिविधि कम हुने ग्रामिण क्षेत्रमा भने मोबाइल डेटाको प्रयोग नै अनिवार्य छ । लगानी पनि अधिक हुने तर व्यावसायिक प्रयोगका लागि त्यति प्रचलनमा नरहेको मोबाइल डेटा अझ भनौं फोरजीको प्रयोग हुन नसक्नुका कारण यो लेखमा ब्याख्या हुनेछ ।

तयार छैन संरचना

थ्रीजी सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्दा यतिबेला मात्र यसको प्रयोग अलि व्यापक बनेको छ । फोरजीको तुलनामा नेपालमा थ्रीजी प्रयोग गर्नेको संख्या दोब्बर बढी छ । थ्रीजी यतिबेला व्यापक हुनुका पछाडि यसप्रतिको विशेष आकर्षणले भने होइन । पूर्वाधार विस्तार र सेवा प्रवाहमा भएको ढिलाईले पहुँच नै ढिलो हुन पुगेको हो । तर फोरजीका लागि एक दशकपछि व्यापक हुने सुविधा छैन । फाईभजीको तिव्र परीक्षण र अझ सिक्सजीको सम्भावनाका विषयमा भइरहेका अनुसन्धानले फोरजीको उपयोगितामै प्रश्न उठ्न थालेको छ ।

भिडियो कन्टेन्टका लागि बढी उपयोगी मानिने फोरजीका व्यावसायिक सम्भावना थ्रीजीको तुलनामा धेरै नहुँदा पनि भविष्यमा लोकप्रिय हुने सम्भावना अलि कम छ । मोबाइल प्रविधिमा नयाँ-नयाँ अनुसन्धान र परीक्षण भइरहँदा नेपालमा ढिलो गरी भित्रिएको फोरजीको उपयोगका विषयमा भने सोच्नैपर्ने बेला आएको छ । खासगरी उत्पादकत्व वृद्धि र आर्थिक गतिविधिसँग फोरजीलाई जोड्न सकिने संरचना तयार गर्नु नितान्त आवश्यक छ । त्यस्ता संरचनाको नै नेपालमा अभाव छ ।

लेखक रेग्मी

नेपालमा फोरजी माथिको लगानी नयाँ प्रविधि जसरी पनि भित्र्याउनैपर्छ भन्ने ढंगबाट बढी भएको देखिन्छ । यसको व्यावसायिक सम्भावनाका आधारलाई धेरै प्राथमिकता नदिदा पनि फोरजीको अर्बौं लगानीको प्रतिफलको प्रतिक्षा लामो बन्ने देखिन्छ । यसमा दूरसञ्चार सेवा प्रदायकहरुकै बढी कमजोरी देखिन्छ । फोरजी उपलब्ध गराउनुअघि नै यसको व्यापक प्रयोगका सम्भावना र त्यस्ता संरचना तयारमा खासै ध्यान नदिदा नै यस्तो अवस्था आएको हो । नेटवर्क विस्तारसँगै त्यसको प्रयोगका अवसरहरु सिर्जना गर्ने प्रयासमा सेवाप्रदायकहरु चुकेकै हुन् । यद्यपि फोरजीलाई व्यापक बनाउन सक्ने सम्भावना भने टरिसकेको छैन ।

सेवाग्राहीसँग सम्बन्धित सरकारी सेवाप्रवाहलाई फोरजी प्रयोगसँग जोड्ने हो भने पनि यसको प्रयोग बढाउन सकिन्छ । नेपालमा इन्टरनेटको उपयोग गेमिङ्, सामाजिक सञ्जाल तथा मनोरञ्जनात्मक भिडियो कन्टेन्टमा बढी प्रयोग भइरहेको छ । व्यक्तिगत तवरमा प्रयोग हुने यस्ता कन्टेन्टमा विदेशी सामग्री नै बढी छन् । गुणस्तरीय लोकल कन्टेन्टमा लगानी गरेर फोरजी प्रयोगकर्ताको आकर्षण बढाउन सक्नेतर्फ पनि सेवाप्रदायकहरु लाग्न सक्ने अवसर बाँकी नै छ । यसले एकातिर ब्यान्डविथको उपयोग बढाउँछ नै अर्कोतिर आर्थिक कारोबार र व्यवसायसँग सम्बन्धित लोकल कन्टेन्टको प्रयोगले अर्थतन्त्रमा योगदान पनि पुर्याइरहेको हुन्छ ।

मूल्य नै बाधक

प्याक नलिई फोरजी प्रयोग गर्न सक्नु नेपालमा सम्पन्नताकै प्रतिक हो । दिनभर मोबाइलमा ‘रेगुलर इन्टरनेट’ चलाउने हो भने नेपालीको दैनिक औषत कमाई (रु. ३ सय)ले पनि पुग्दैन । डेटा प्याककै कुरा गर्ने हो भने फोरजी प्रयोगकर्ताका लागि विकल्प कम छन् । थ्रीजी र फोरजी प्रयोगकर्ताका लागि समान प्याक छन् । तिव्र गतिमा चल्ने भएकोले थ्रीजी समानका प्याकहरु फोरजी प्रयोगकर्ताका लागि पर्याप्त हुँदैनन् ।

समस्याबारे पर्याप्त जानकारी हुँदाहुँदै पनि गुणस्तर बढाउन नसक्नु सेवाप्रदायकको कमजोरी मात्र होइन, ग्राहकमाथीको गम्भिर ठगी पनि हो । गुणस्तर सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशिका जारी गरेपनि त्यस अनुसार अनुगमन नहुनु र अनुगमन भएर गल्ति भेटिएपनि निकै कम मात्र जरिवानाले गर्दा पनि सेवा प्रदायक आफै गुणस्तर सुधार्नेमा सुध्रिएको देखिँदैन ।

फिक्स्ड इन्टरनेटमा विश्वकै सस्तो इन्टरनेट पाइने देशमध्येको नेपालमा मोबाइल डेटा भने सर्वाधिक महङ्गो छ । सेवाप्रदायकहरुले प्रतिएमबी औषत एक रुपैयाँमा डेटा उपलब्ध गराएको भनेपनि ग्रामिण उपभोक्ताका लागि त्यो अझैपनि आफैमा महंगो हो । डेटा प्याकबाट सर्वसुलभ दरमा इन्टरनेट उपलब्ध गराइरहेको सेवाप्रदायकहरुको दाबी रहेपनि त्यो बाध्यकारीजस्तो मात्र देखिन्छ । प्रयोगकर्ताको आवश्यकताभन्दा पनि सेवाप्रदायकहरु नाफामै मात्र बढी केन्द्रित भएर मोबाइल डेटा प्याक ल्याएका जस्ता देखिन्छन् ।

एक दिनभित्रै सयौं एमबी डेटा प्रयोग गर्नुपर्ने, चर्को मुल्य तिरेर हप्ताभर मात्र प्रयोग गर्न सकिने प्याकहरु वास्तवमा प्रयोगकर्तामाथीको शोषण हो । बर्षभरी नै प्रयोग गर्न सकिने लार्ज डेटा प्याक सार्वजनिक गर्ने हिम्मत त सेवाप्रदायकमा छैन नै, चाडपर्व र विशेष अवसरका नाममा ल्याइने उस्तै प्रकृतिका र सिमित अवधिका प्याकहरु केवल प्रयोगकर्ता झुक्याउने अफर मात्र बनेका छन् । एकातिर प्रयोगकर्ताको आवश्यकता अनुसारका डेटा प्याकको अभाव र अर्कोतिर महंगो रेगुलर डेटाका कारण मोबाइल इन्टरनेट प्रयोगकर्तामैत्री देखिँदैन । अझ उच्च गतिको भनिएको फोरजी प्रयोग गर्दा डेटा खपत धेरै हुने भएकोले मूल्यकै कारण यसका सक्रिय प्रयोगकर्ता कम हुँदै गएक छन् ।

तथ्यांकमा फोरजी प्रयोगकर्ता बढी देखिनु तर वास्तविकतामा कम मात्र सक्रिय प्रयोगकर्ताका हुनुका पछाडि पनि मूल्य महत्वपूर्ण कारण हो । मुल्यकै कारण डेटा प्रयोग गरेर कार्यालय प्रयोजनका काम हुन सकेका छैनन् । कोभिडपछि बढेको भर्चुअल गतिविधिलाई लक्षित गर्दै फोरजी प्याक बिक्री गर्न सक्ने अवसरबाट सेवाप्रदायकहरु आफै पछि परेका छन् । लामो समयका लागि लार्ज फोरजी डेटा प्याक ल्याएर प्रयोगकर्तालाई अहिले अभ्यस्त बनाउन सक्ने हो भने पनि भविष्यमा फोरजी झन् व्यापक र उपयोगी बन्न सक्छ ।

कमजोर गुणस्तर

त्यसो त गुणस्तरका सम्बन्धमा हरेक सेवा र क्षेत्रहरुमा प्रश्न गर्न सकिने प्रशस्त ठाउँ छ नेपालमा । यद्यपि प्रविधिको प्रयोगलाई यसको गुणस्तरले बढी प्रभावित पार्ने भएकोले यो एकदमै अहम् मानिन्छ । अझ थपिने गुणस्तरकै कारण मोबाइल प्रविधिको पहिचान हुने भएकोले फोरजीसँग यसको गुणस्तरकै प्रश्न बढी आउँछ । थ्रीजीको तुलनामा उच्च गुणस्तरको डाउनलोड र अपलोड क्षमता भएकै कारण फोरजी स्थापित भएको हो ।

सरकारले पनि डिजिटल गभर्नेन्सको अवधारणा अघि सारेर विद्युतीय प्रणालीबाट सरकारी सेवा प्रवाह गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिसकेको छ । यस्तोमा फोरजीको अधिकतम उपयोग गराउन सकिन्छ । दूरसञ्चार सेवाप्रदायकहरु नै डिजिटल नेपाल निर्माणको सबैभन्दा भरपर्दा साझेदार बन्न सक्छन् ।

तर नेपालको सन्दर्भमा फोरजीको गुणस्तरका विषयमा व्यापक गुनासा सुनिन्छन् । पहिलो त यसको पहुँच नै सिमित छ । दोस्रो पहुँच भएका स्थानमा फोरजीको न्युनतम गुणस्तर पनि नपाएको, थ्रीजीभन्दा फरक नदेखिएको जस्ता अनुभवहरु प्रयोगकर्ताबाट आइरहन्छन् ।

औषत ४० एमबीपीएस स्पीड मानिएको नेपालको फोरजीको स्पीड आधामात्रै रहेको ओकलालगायतका तथ्यांकले देखाउँछ । यस्तो परिस्थितमा फोरजी विस्तारको गति किन बढ्न सकेन भनेर सेवाप्रदायक जति जानकार अरु हुँदैनन् । समस्याबारे पर्याप्त जानकारी हुँदाहुँदै पनि गुणस्तर बढाउन नसक्नु सेवाप्रदायकको कमजोरी मात्र होइन, ग्राहकमाथीको गम्भिर ठगी पनि हो । गुणस्तर सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशिका जारी गरेपनि त्यस अनुसार अनुगमन नहुनु र अनुगमन भएर गल्ति भेटिएपनि निकै कम मात्र जरिवानाले गर्दा पनि सेवा प्रदायक आफै गुणस्तर सुधार्नेमा सुध्रिएको देखिँदैन ।

अबको प्रयास

फोरजीको उपयोग ठूला साइजका फाइल डाउनलोड÷अपलोड, ट्रान्सफर, भिडियो प्रसारण, गेमिङ, मोबाइल एप लगायतका कामका लागि हुने हो । थ्रीजीबाट निकै समय लाग्ने यस्ता काम छिटो सम्पन्न गर्न नै फोरजी प्रविधि भित्रिएको हो । जुन उद्देश्यका साथ फोरजीको आविष्कार भएको हो त्यसको प्रयोग बढाउन अबका प्रयासहरुबीच पनि तादात्म्यता आवश्यक देखिन्छ ।

लेखको अगाडि उल्लेख गरिएजस्तै सार्वजनिक र निजी सबै सेवाहरुलाई अनलाइन प्रणालीमा रुपान्तरण गराउन फोरजी सबैभन्दा सहयोगी हुने देखिन्छ । सरकारले पनि डिजिटल गभर्नेन्सको अवधारणा अघि सारेर विद्युतीय प्रणालीबाट सरकारी सेवा प्रवाह गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिसकेको छ । यस्तोमा फोरजीको अधिकतम उपयोग गराउन सकिन्छ ।

दूरसञ्चार सेवाप्रदायकहरु नै डिजिटल नेपाल निर्माणको सबैभन्दा भरपर्दा साझेदार बन्न सक्छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमो फोरजीको उपयोग निकै धेरै हुन सक्छ । कोरोना संक्रमणले यसको लागि झन् अवसर उपलब्ध गराइदिएको छ । अनलाइन स्वास्थ्य परामर्श, अनलाईन शिक्षा जस्ता क्रियाकलाप बढीरहेको सन्दर्भमा त्यसैलाई सहायक हुने गरी फोरजी प्याकहरु ल्याउन सकिने पर्याप्त अवसर सेवाप्रदायकहरुलाई छ । यसबाहेक मोबाइल एपमा आधारित वित्तीय, ई कमर्श लगायतका सेवाहरुलाई विस्तार गर्न सक्ने सम्भावना झन् बढ्दो छ ।

भिडियो कन्टेन्टको उपयोग व्यापक बनिरहेको अहिलेको समयमा फोरजीलाई थप सर्वसुलभ बनाएर प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने अवसर पनि उत्तिकै छ । यी सबै प्रयासले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँछ नै ।

अन्यथा ब्रोडब्यान्ड इन्टरनेट मानिने थ्रीजी र फोरजीमा व्यापक अन्तर नदेखिने हो भने थ्रीजीमा अभ्यस्त प्रयोगकर्ता फोरजीमा फड्को मार्नु पर्ने कुनै आवश्यकता देखिदैंन । फाईभजीकै तिव्र परीक्षण भइरहेको सन्दर्भमा फोरजीको उपयोगिता पुष्टि हुन सकेन भने अर्बौं लगानी जोखिममा हुने सम्भावना पनि उत्तिकै छ । फोरजीलाई अर्थतन्त्र विविध क्षेत्रसँग जोडेर देश सुहाउँदो सुविधा उपलब्ध नगराउने हो भने फोरजीका लागि भएका अहिलेसम्मका प्रयास व्यर्थ हुनेछन् ।

(लेखक प्रविधि पत्रकार मन्चका अध्यक्ष हुन् ।)


पुष्प दुलाल