सिंहदरबारभित्र ७ अर्ब लगानीमा यस्तो बन्दै नयाँ संसद भवन, के के छन् विषेशता ?



काठमाडौं । सांसदहरुको संख्या ठूलो भएपछि सिंहदरबारभित्र भएको पूरानो संसद भवनले पुगेन । र, सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको पूर्णसदनका काम कारबाही सञ्चालन गरिरहेको छ ।

संसदजस्तो गरिमामय संस्था भाडामा लिएको भवनबाट भन्दा आफ्नै भवनबाट चलाउनुपर्छ भन्ने मान्यताअनुसार सरकारले सिंहदरबारस्थित पुतली बगैंचामा १ सय ७३ रोपनी ८ आनामा संघीय संसद भवनको निर्माण गरिरहेको छ ।

२०७६/६/१६ गते सरकारले टुन्डी शेक जेभीलाई यो भवन निर्माणको ठेक्का ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कार्य शुरु भएको ३ वर्षभित्र भवन बनिसक्नु पर्ने छ ।

सम्झौताअनुसार नै धमाधम काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

निर्माण भइरहेको भवनको योजना तथा वास्तुकलाको जिम्मा इन्गर कन्सल्टेन्सीले प्रालिले पाएको थियो भने विस्तृत संरचनाको डिजाइन डिगीकोन इन्जिनियरिङ कन्सल्ट प्रालिले पाएको छ ।

११ वटा भवन र पूर्वाधार बन्दै

सरकारको शहरी विकास आयोजनाद्धारा निर्माण भइरहेको संघीय संसद भवनभित्र ११ वटा भवन तथा पूर्वाधार निर्माण हुने विभागले जनाएको छ । निर्माण भइरहेको भवनमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरूको कार्यलय भवन रहेको छ ।

त्यसैगरी, उक्त भवनसँगै पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय भवान (पार्टी अफिस), संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ/सुरक्षाकर्मीको भवन हुने भएको छ ।

४५ प्रतिशत हरियाली

उक्त संसद भवनको आर्थिक वर्ष २०७५/२०७६ मा निर्माण गरी आव २०७८÷७९ मा सम्पन्न गर्ने गरी कार्य शुरु गर्ने भएको थियो ।

तर, कोरोना महामारीका कारण गत चैतबाट निर्माणमा निकै प्रभावित भएको सहरी विकास आयोजनाका उपप्रमुख प्रकिर्ण तुलाधार बताउँछन् ।

उनका अनुसार चालू आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको बताए । साथै, कोरोनाले काममा प्रभाव परेता पनि समयमै निर्माण सम्पन्न गर्नको लागि शहरी विकास मन्त्रालय, विभागले कम्पनीलाई दबाब दिइरहेको उनको भनाइ छ ।

यसैगरी, सरकारले बनाइरहेको आयोजनालाई चारवटा क्षेत्रमा विभाजन गरिएको छ । जसमा भवन क्षेत्र, खुल्ला क्षेत्र, हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक क्षेत्र रहेको छ । जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत ओगटेको छ भने खुल्ला हरियाली क्षेत्रले ४५ प्रतिशत र बाँकी क्षेत्रफल सडक पूर्वाधार तथा वाटर बडीले ओगटेको छ ।

आयोजनाका अनुसार मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदहरूको प्रवेशको लागि उत्तरतर्फ नयाँ गेट रहनेछ । त्यस्तै, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहनेछ ।

यस परिसरको योजनामा सुरक्षा निकायलाई विशेष ध्यान दिएको विभागले जनाएको छ । साथै, अति आधुनिक सुरक्षाको प्रविधिहरूबाट जाँच गरेर मात्र त्यसभित्र प्रवेश गर्न सकिनेछ ।

संसद भवन परिसरमा बन्ने सबै भवनहरूको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने खालको हुनुको साथै हाइ टेक आधुनिक ईन्जिनियरिङ डिजाइन प्रविधिलाई अपनाएर निर्माण गरिने विभागको भनाइ छ ।

सबै भवनहरू बढीमा ३ तल्लाको हुनेछ भने संसदीय दलको समिति भवन र कार्यालय भवन ५ तल्लाको हुनेछ । आवश्यकतानुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखेर बेसमेन्ट/सेमी बेसमेन्ट राखिएको छ ।

संसद निर्माण कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको राजनीतिक, इन्जिनियरिङ तथा आर्किटेक्चरल उपलब्धिको रुपमा चिनाउने विशेष चुनौतका साथै ‘स्टेट अफ आर्ट’को रुपमा लिन सकिने विभागको जनाएको छ ।

निर्माण भइरहेको हरियाली चौर, पानीका फोहोरा, सार्वजनिक खुल्ला चौर आदि खुल्ला क्षेत्रलाई योजनाबद्ध रुपमा प्रत्येक भवनको वरिपरि निर्माण गरिनेछ ।

उक्त बन्ने संरचनालाई आपतकालिन विशेष अवस्थाहरू- जस्तै भूकम्प, आगलागी आदि) लाई ध्यानमा राखि नेपालको मापदण्ड (नेशनल बिल्डिङ कोड, बिल्डिङ बाइ ल, प्लानिङ नर्मस् आदि) अनुरुप इन्जिनियरिङ डिजाइन गरिएको छ ।

पर्यावरणीय मैत्री जस्तै ग्राउन्ड वाटर रिचार्ज, सिवेज ट्रिटमेन्ट प्लान, सौर्य उर्जा, रेन वाटार हार्भेस्टिङ जस्ता प्रविधि अपनाइने भएको छ । त्यस्तै, दक्षिण मुख्य प्रवेशद्धारको दायाँतर्फ संसदको माथिल्लो सदन (अप्पर हाउस) राष्ट्रिय सभाको बैठक बस्ने हल निर्माण हुनेछ ।

यस्तो सुविधा हुनेछ

सरकारले बनाउँदै गरेको संसदीय भवनको प्रतिनिधि सभामा विभिन्न कार्यकक्षहरू हुने विभागले जनाएको छ । विभागका अनुसार भुई तल्लामा करिब ४ सय अट्ने सांसदहरू अट्नेछन् । साथै विभिन्न प्राविधिक कक्षहरू हुनेछ ।

त्यसैगरी, सभामुख कार्यकक्ष, प्रेस कन्फेरेन्स रुम, भीआइपी रुम कमिटि हल, ट्वाइलेट हुनेछ । त्यस्तै, ३ सय जना दर्शक/पत्रकार/आगन्तुक पाहुना अट्ने बाल्कोनी हल र २ सय जना अट्ने हल/सेकुरिटी/मार्सल रुम आदि हुनेछ ।

कुन भवन कति तल्लाको ?

त्यसैगरी राष्ट्रिय सभा भवनमा पनि विभिन्न प्रकारका सुविधासहित निर्माण हुने भएको छ । राष्ट्रिय भवनमा करिब १ सय जना सांसदहरू अट्ने ठूलो हल बन्ने भएको छ । विभिन्न प्राविधिक कक्षहरू (स्टुडियो रुम, कन्ट्रोल रुम, भिडियो रुम, रेकर्ड रुम) आदि रहेको छ ।

त्यसका साथै, सभा अध्यक्षको कक्ष, भीआइपी, कमिटि हल, २ सय जना अट्ने बाल्कोनी हल, करिब ३ सय जना क्षमताको एम हल, मेन्टेनेन्स रुम, मार्सल रुम र ट्वाइलेट बन्ने भएको छ ।

मुख्य संसद भवनको दायाँतिर ३ तल्लाको संसदीय सचिवालयको भवन रहनेछ । यस भवनमा संसदीय सचिवालयका विभिन्न कार्यकक्षहरू मिटिङ रुम, ट्रेनिङ हल प्राविधिक कक्षहरू हुनेछ ।

राष्ट्रिय सभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरूको भीभीआइपी कार्यालय भवन राखिएको छ । उक्त भवन ४ तल्लाको हुनेछ । भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा मिटिङ हलहरूको व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा भवनको उत्तरतिर पुस्तकालय भवन र चमेना गृह हुने छन् । पुस्तकालय ४ तल्लाको हुने छ भने चमेना गृह २ तल्लाको रहनेछ । पुस्तकालय भवनमा पुस्तक अध्ययन कक्ष, इ-लाईब्रेरी रुम, संग्रहालय, प्रशासनिक कक्ष छन् । चमेना गृहको भुइ तल्ला सर्वसाधारणका निम्ति छुट्टाइएको छ भने माथिल्लो तल्ला सभासदहरूको निम्ति राखिएको विभागले जानकारी दिए ।

मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन राखिएको छ । उक्त भवन ५ तल्लाको हुनेछ । यस भवनमा विभिन्न कक्षहरू जस्तै मिटिङ हल, कन्ट्रोल रुम, कर्मचारीहरू सचिव÷उपसचिव कार्यकक्षहरू हुनेछन् ।

संसदीय समिति भवनको सँगै दायाँतर्फ सानो छापाखानाको भवन रहेको छ । मुख्य संसद भवनको बायाँतर्फ उत्तरकुनामा पार्टी कार्यालय भवन राखिएको छ । भवन ५ तल्लाको हुनेछ र यस भवनमा पार्टी कार्यालयलाई चाहिने विभिन्न कार्यकक्षहरू मिटिङ हल, चायल्ड कियर निर्माण हुनेछ ।

त्यस्तै परिसर वरिपरि करिब ३५० वटा गाडीहरू पार्क गर्न मिल्ने गरी सर्फेस पार्किङको व्यवस्था गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, छुट्टै करिब ३ सय जति गाडी एकैचोटी पार्क गर्न मिल्ने गरी डबल बेसमेन्ट सहितको छुट्टै पार्किङ भवन सहित सुरक्षा निकायको भवन निर्माणको काम धमाधम भइरहेको छ ।


पुष्प दुलाल