गोदावरीमा यस्तो बन्दैछ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, के के छन् विषेशता ?



काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको लागि विभिन्न होटल धाउनु पर्ने बाध्यता रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गरिरहेको छ ।

सम्मेलन केन्द्रको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभागमा उपप्रमुख प्रकिर्ण तुलाधारले जानकारी दिए ।

सरकारले २०७६ कात्तिक २० गते केसी समानान्तर जेभीसँग उक्त सम्मेलन केन्द्र निर्माणका लागि सम्झौता गरेको थियो ।

शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका-३ मा उक्त केन्द्र निर्माण भइरहेको छ ।

निर्माण भइरहेको सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको बन्ने भएको छ । जेभी समानान्तरले भ्याटबाहेक ५८ करोड २४ लाख ४७ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।

तुलाधारका अनुसार निर्माण भएको केन्द्रको जग्गाको क्षेत्रफल ४३ रोपनी १५ आना रहेको बताए । साथै, निर्माण भइरहेको भवनको प्लिन्थ एरिया ६ हजार १२ वर्गकिलोमिटर रहेको छ ।

४३ रोपनी क्षेत्रफलमा बनिरहेको उक्त सम्मेलन ११ रोपनी १४ आना सिटीहल/सम्मेलन केन्द्र भवन निर्माण (२७ प्रतिशत), ३ रोपनीमा ३ आना आन्तरिक सडक (६.८१ प्रतिशत), १६ रोपनीमा २ आना बगैंचा तथा हरियाली (३६.६४ प्रतिशत), १३ रोपनीमा १ आना पार्किङ (२९.५५ प्रतिशत) गरी ४३ रोपनीमा सम्मेलन केन्द्र निर्माण भएको छ ।

जसमा विभागीय लागत इष्टिमेट भ्याट र कन्टिङजेन्सी बाहेक ७२ करोड ६९ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी बजेट व्यवस्थापनका लागि लागत इष्टिमेट भ्याट र कन्टिङजेन्सीसहित ९९ करोड ९६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

निर्माण भइरहेको केन्द्रको लागि शुरूमा आर्थिक वर्ष २०७६/०७७ मा ८० करोड र अन्तिम संशोधनबाट ३५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको विभागले जनाएको छ ।

विभागले शुरुमा आयोजना निर्माण अवधि ५ महिना अर्थात २०७६/१२/१९ सम्म सम्पन्न गर्न मिति तोकेको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा ठप्प भएको आयोजनामा २०७७ पौष मसान्तसम्म म्याद थप माग भएको विभागले जनाएको छ ।

कोरोना महामारीका अधिकांश आयोजना रोकिएकाले गति लिन सकेको थिएन । त्यसैले उक्त आयोजना सम्पन्न गर्नको लागि म्याद थप गरेको विभागका उपप्रमुख तुलधारले जानकारी दिए । उनका अनुसार कोरोनाले बाधा नपु¥याएको भए अहिलेसम्म निर्माण कार्य सम्पन्न भइसक्ने थियो ।

‘कोरोनाले गर्दा गत चैतदेखि असामसान्तसम्म काम गर्न पाएका थिएन,’ तुलाधरले क्लिकमान्डूसँग भने, ‘कोरोनाले गर्दा सबै आफ्ना गृहजिल्ला फर्केका हुनाले आयोजनाले समयमै गति लिन सकेको छैन ।’

जसले गर्दा कम्पनीले पौष मसान्तसम्म म्याद थप गर्न माग गरिएको र उक्त समयमा सम्पन्न गर्न लक्ष्य लिएको उनले बताए ।

१२ सय गाडी अट्ने

निर्माण भइरहेको सम्मेलन केन्द्रको सिट क्षमता ३ हजार रहेको छ । यसका साथै केन्द्रमा १२ सय गाडी पार्किङ गर्न सक्ने क्षमता रहेको विभागले जनाएको छ ।

त्यस्तै, ६ सय वटा कार पार्किङ, ५ सय वटा बाइक पार्किङ गर्न सक्नेछन् । साथै, ७ सय जनामा मानिसलाई पिक एण्ड ड्रप गर्न सक्ने विभागले जनाएको छ ।

केन्द्रको विशेषता

३ हजार क्षमताको सम्मेलन केन्द्र÷सिटी हलमा न्यूनतम ३ हजार व्यक्ति बसेर कार्यक्रम गर्न मिल्ने सुविधा सम्पन्न एक हल निर्माण गरिनेछ ।

मुख्य हलभित्र प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हलहरू निर्माण हुनेछन् । यसका साथै, उक्त भवनमा भीआइपी कक्ष, सहायता कक्ष र चेन्जिङ रुम निर्माण हुनेछ ।

मुख्य हलमा प्रवेश गर्नु अघि उत्तर र दक्षिण दिशामा दुई तल्ला बराबरको उचाई भएको दुई बहुउद्देश्यीय हल हुनेछन् ।

मुख्य हलमा न्यूनतम ३ हजार व्यक्ति अट्न सक्ने सिट रहने, कार्यक्रम प्रस्तुतिकरणका लागि मञ्च साथै आवश्यक अन्य ठाउँ तथा कक्षहरू हुनेछन् ।

कार्यलय कक्ष, भीआइपी कक्ष, सहायता कक्ष भएको ब्लक ३ तल्लाको हुनेछ । जसमा आवश्यकता अनुसार शौचालयहरूको व्यवस्था समेत गरिएको छ ।

मुख्य हलसँगै निर्माण हुने साना हल तथा अन्य कक्षहरूको ब्लक समेत समेटी बाहिरबाट समग्रमा एउटै भवन संरचना देखिने गरी सिटी हल/सम्मेलन केन्द्र निर्माण भएको छ ।


पुष्प दुलाल