गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण गृह बन्दै, लागत ७८ करोड



पोखरा । नेपाल आयल निगमले गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने भएको छ । २ वर्षभित्र निर्माण सक्ने योजना बनाइएको उक्त भण्डारण क्षमता नेपालको दोस्रो ठूलो भण्डारन हुनेछ ।

पोखरा महानगरपालिकाको वडा नम्बर २९ र ३० गगनगौँडास्थित निगमको प्रादेशिक कार्यालय मातहतमा ५/५ हजार किलोलिटर क्षमताका दुई वटा ट्यांकी निर्माण हुनेछ ।

निगमका अनुसार यसको कुल लागत ७७ करोड ७७ लाख रुपैयाँ लाग्नेछ । भण्डारन गृहको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मन्त्री लेखराज भट्टले शिलन्यास गर्ने कार्यक्रम छ ।

हाल २२ लाख ८० हजार लिटर डिजल भण्डारणको क्षमता हुँदा १० दिनको मात्रै माग धान्ने क्षमता थियो भने २ लाख ५० हजार लिटर पेट्रोलले बढीमा ३ दिनको माग मात्रै धान्ने क्षमता थियो ।

तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ ।

प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टिलेल ७६० किलोलिटर रहेको छ ।

नयाँ भण्डारण गृह बनेपछि हाल डिजेल भण्डारण हुँदै आएको टयाङ्कीमा पेट्रोल भण्डारण गर्ने निगमको योजना छ । निगमसँग हाल मुलुकभर डिजेलको माग आठ दिन र पेट्रोलको माग पाँच दिन धान्ने क्षमता छ ।

निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार हुन लागेको हो । विसं २०५६ यता निगमले नयाँ भण्डारण गृह बनाउन सकेको थिएन । पर्याप्त भण्डारण क्षमता नहुँदा २०७२ सालमा भारतले नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो । समयमै भण्डारण क्षमता विकास गर्न नसक्दा नाकाबन्दीका बेला इन्धन अभाव भएको भन्दै चर्को निगमको आलोचना भएको थियो ।

उक्त भण्डारन गृह निर्माण भइसकेपछि तनहुँ, स्याङजा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाको माग पूर्ती गर्नेछ । आयाल निगमले गण्डकी प्रदेशमा २१ वर्षपछि भौतिक पूर्वाधार निर्माण गर्न लागेको हो ।

डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ ।

इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ । डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिामा आधारित हुने छ । डिपोका भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीका कार्य पनि परियोजनाका शिलसिलामा हुने बताइएको छ ।

नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० टयाङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । टयाङ्कर अनलोडका लागि प्रतिघन्टा १२० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिने छ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगालागीलगायत दुर्घटना पहिचान गर्न विशेष प्रविधिमा डिपोमा जडान गरिनेछ ।

आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिने छ । कुनै पनि कारणले डिपोमा आगोलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा बनाइने छ ।

सत्तरी प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरणको प्रयोग गरिने छ । परियोजना सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको ब्याकअपका रुपमा पनि पोखरा डिपोले काम गर्ने छ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनामा समेत ठूलो सुधार हुने कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको विश्वास छ ।


क्लिकमान्डु