महासंघ चुनावः उम्मेद्वार चुनावी प्रचारका लागि देश दौडाहमा, पूर्वअध्यक्षहरु सहमति खोज्दै



काठमाडौं । चुनावको मिति नजिकिँदै गएपछि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउन व्यवसायीहरु आ-आफ्नो प्यानलै घोषणा गरेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

अहिलेका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले बरिष्ठ उपाध्यक्षमा आफ्नो टिमसहित उम्मेद्वारी दर्ता गराएर कोरोना भाइरसको कुनै पर्वाह नगरी चुनावी प्रचारका लागि देश दौडाहमा निस्किएका छन् ।

ढकालले पश्चिमबाट आफ्नो चुनावी अभियान शुरु गरे भने प्रधानले पूर्वबाट । संयोग नै मान्नुपर्छ ढकाल पश्चिमका हुन् भने प्रधान पूर्वका ।

यसरी बरिष्ठका उम्मेद्वारहरु आफ्नो टिमसहित प्रचारमा निस्किएका बेला पूर्वअध्यक्षहरु भने काठमाडौंबाट सहमतिको प्रयास गरिरहेका छन् । सहमति जुटाउनका लागि कुराकानी गर्ने जिम्मा पूर्वअध्यक्षद्वय रविभक्त श्रेष्ठ र महेशलाल प्रधानलाई दिइएको छ ।

उनीहरुले यसअघि पनि दुबै पक्षका उम्मेद्वारसँग पटकपटक सर्वसहमतिको प्रयास गरेका थिए । तर, उक्त प्रयास सफल भएन । महासंघले चुनावी प्रक्रिया शुरु भयो र दुबै पक्षले उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा होमिए ।

पछिल्लो समय स्वत अध्यक्ष बन्दै गरेका अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सहमतिको प्रयास थालेका छन् । किशोर प्रधानको पक्षमा खुलेरै भोट माग्दै हिँडेका गोल्छा सहमति गराउन अग्रसर देखिएका हुन् ।

‘मैले सबै पूर्वअध्यक्षहरुलाई सहमतिमा नेतृत्व चयन गरौं, म सहमतिको बाधक बन्दिन, सहमति गराउन अग्रसर हुन्छु भनिसकेको छु,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘असम्भव भन्ने कुरा केही पनि हुँदैन । मलाई विश्वास छ हामी सहमति जुटाउन सक्छौं ।’

अहिले अर्थतन्त्र धेरै कमजोर भइसकेको छ, उद्योगी व्यवसायीहरुको हालत खराब भइरहेको बताउँदै सहमति गराउने जिम्मा पाएका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘सामान्य अवस्था भएको भए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्दा हुन्थ्यो । तर, अहिले परिस्थिति असामान्य छ । चुनावी प्रतिस्पर्धा गरेपछि इगोको लडाइँ हुन्छ । जसले महासंघलाई झन कमजोर बनाउन सक्ने जोखिम देखेर नै हामीले सर्वसहमतिको प्रयास गरेका हौं ।’

उम्मेद्वारहरुबीच एक अर्कालाई आरोप प्रत्यारोप पनि शुरु भइसकेको छ । ढकालले पटक-पटक कोर व्यवसायीले मात्रै व्यवसायीका एजेण्डा बुझ्नसक्ने र सरकारसँगको समन्वयकारी भूमिका खेलेर महासंघलाई अघि बढाउन सक्ने व्यक्ति आफूमात्रै भएको दावी गर्दै आफ्ना प्रतिस्पर्धीलाई घुमाउरो तरिकाले कमजोर सावित गर्न लागि परेका छन् ।

उता प्रधान भने सरकारसँग लडेर, भिँडेर अघि बढ्नुपर्ने र त्यो काम ढकालबाट कुनै पनि हालतमा सम्भव नभएको दावी गर्छन् । त्यस्तै, विवादित व्यवसायी पूर्वअध्यक्ष चण्डीराज ढकालको अनावश्यक सक्रियता र हस्तक्षेपले महासंघले आफ्नो शाख गुमाएकाले यो पटक महासंघमा चण्डीराजलाई राज गर्न नदिन आफूलाई जिताउनूपर्ने भन्दै आफ्ना प्रतिद्वन्द्वीप्रति खनिएका छन् ।

चन्द्र ढकाललाई चण्डीराज ढकालको समर्थन छ । जतिसुकै विवादमा परे पनि जिल्ला नगरका मतदातामा चण्डीको राम्रो पकड भएको महासंघका नेताहरु बताउँछन् ।

‘यो एकअर्काबीचको आरोप प्रत्यारोप गर्ने समय होइन,’ श्रेष्ठले भने, ‘तिहारलगत्तै सबै पूर्वअध्यक्षहरु र दुबै पक्षका उम्मेद्वार (चन्द्र र किशोर)लाई राखेर सहमति गराउने प्रयास गर्छौं ।’

सहमति गराउनुपर्छ भन्ने बैठकमा पूर्वअध्यक्ष चण्डीराज ढकाललाई बोलाउने गरिएको छैन । कहिलेकाहीँ बोलाइहाल्दा पनि ढकाल त्यस्तो छलफलमा जाँदैनन् ।

पूर्वअध्यक्षहरूको बैठकमा विनोदबहादुर श्रेष्ठ, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य सहभागी हुने गरेका छन् ।

पछिल्लो समय निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष गोल्छा पनि सहमति जुटाउनका लागि केही बैठकमा सहभागी भएका छन् ।

सहमति जुटाउन लागि परेका एक पूर्वअध्यक्षका अनुसार किशोर प्रधान पूर्वअध्यक्षहरुले गरेको सहमति आफ्नो पक्षमा नभए पनि स्वीकार गर्न तयार भएको बताएका छन् । तर, चन्द्र ढकालले भने आफ्नो नाममा सहमति भएमात्रै आफू मान्न तयार भएको होइन भने चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् । जसकारण पनि सहमतिको सम्भावना अलि कम रहेको जानकारहरु बताउँछन् ।

‘चन्द्रजीले पनि पूर्वअध्यक्षहरुले आफ्नो पक्षमा सहमति नगरे पनि मान्छु भन्न सक्नुभएको भए सहमतिको छलफल अलि गहन रुपमा अघि बढ्ने थियो,’ ती पूर्वअध्यक्षले भने ।

चन्द्र ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्नका लागि अत्यन्तै उपयुक्त पात्र भए पनि सहमतिका लागि लचक हुनुपर्ने ती पूर्वअध्यक्षको भनाइ छ ।

चन्द्र ढकाल केही लचिलो भए उनैलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत् गराउने र किशोर प्रधानलाई बिशिष्ट वा मानार्थ सदस्य बनाउनुपर्ने विकल्पका बारेमा पनि पूर्वअध्यक्षहरुबीच छलफल भएको छ ।

यस्तो सहमति भएको खण्डमा प्रधानको चुनावी खर्च ढकालले ब्यहोर्नुपर्ने हुन्छ । महासंघमा यसअघि पनि यस्तो चलन चलिसकेको छ ।

त्यस्तै, अर्का पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ पनि सर्वसहमतिमा नेतृत्व चयन गरेर महासंघलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

‘यो चुनाव लडेर मनमुटाव गर्ने समय होइन, सहमति गरेर एकतावद्ध भइ अघि बढ्नुपर्ने बेला हो,’ श्रेष्ठले भने, ‘सहमतिमै महासंघको हित छ । तर उम्मेद्वारका पछाडि भएका केही व्यक्तिहरु सहमति हुन नदिन लागेका छन्, जुन दुखद् पक्ष हो ।’


पुष्प दुलाल