तिहारमा मिठाईको अर्डर छैन, व्यवसायी भन्छन्- व्यापार हुने आशा छैन



काठमाडौं । भाइमसला, झिलिमिलिसँगै मिठाईको पर्व पनि हो तिहार । पछिल्लो सयम तिहारमा लक्ष्मी पूजाको दिन विभिन्न प्रकारका मिठाई र भाइटिकाका दिन रसबरी, गुलाब जामुन, लालमोहनजस्ता मिठाईका परिकार ल्याएर खुवाउने चलनले मिठाईको अत्यधिक प्रयोग हुने गर्दछ ।

तिहार नजिकिँदै गर्दा मिठाई भण्डारहरूलाई उत्पादन गर्न भ्याईनभ्याई हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा मिठाई भण्डारहरूमा विगतको जस्तो भ्याईनभ्याईको अवस्था छैन ।

करिब ८ महिनाको बन्दाबन्दीले व्यापार ठप्प भएको व्यवसायीले दशैंमा केही मात्राले व्यापार गरेको व्यवयासीहरूले बताएका छन् ।

दशैंमा मिठाईको चाड नभए पनि सामान्य अवस्थाभन्दा केही मात्राले व्यापार भएको उनीहरूको भनाई छ ।

सामान्य अवस्थाभन्दा करिब २५ प्रतिशतले तिहारमा मिठाईको व्यापार बढ्ने गर्दछ । तर, कोरोनाले गर्दा तिहारमा पनि व्यापार नहुने भएपछि व्यापारहिरू चिन्तित बनेका छन् ।

दशैंको माहोलमा थोरै मात्राले व्यापार गरेको व्यवसायीहरू तिहारमा राम्रो व्यापार हुने आशाका साथ बसेका थिए । तर, बजारको माहोल हेर्दा तिहारमा पनि व्यापार नहुने भएकाले आशा पनि निराशामा परिणत भएको व्यवसायीहरू बताउँछन् ।

साथै, बजारमा माग कम भएसँगै कुनै पनि मिठाईको मूल्य नबढ्ने व्यवसायीहरूको भनाइ छ । विगतको दिनमा जुन मूल्य छ यो वर्ष पनि त्यही मूल्य कायम भएको मिठाई भण्डार व्यवसायीहरूले बताएका छन् ।

यतिबेला विभिन्न ठाउँबाट लक्ष्मी पूजाको दिनका लागि धेरै मिठाईको अर्डर आउँथ्यो यो वर्ष शून्य जस्तै रहेको महाराजगञ्जस्थित रहेको टिप टप स्वीट्सका शाखा प्रबन्धक दीपकराज थपलिया बताउँछन् ।

उनका अनुसार विगतको जस्तो यो वर्ष ग्राहकको चाँप नभएका कारण सामान्य रुपले तयारी गरेको बताए । अहिलेको तिहारको माहोल विगतको दिनमा दैनिक व्यापार हुनेको जस्तो अवस्था रहेको उनको भनाइ छ ।

‘यसपटक कुनै पनि अर्डर आएको छैन । हाल काउन्टरमा भएको व्यापार मात्रै हो,’ उनले क्लिकमान्डूसँग भने, ‘कोरोनाले गर्दा यो वर्ष करिब ४० प्रतिशत मात्रै व्यापार हुने अनुमान गरेका छौं ।’

विगतको दिनमा कम्पनीहरूले लक्ष्मी पूजा गरेर मिठाईहरू बाँड्ने गथ्र्यो तर यसपटक भने त्यस्तो खालको कम्पनीहरूको कुनै पनि अर्डर नआएको उनले गुनासो पोखे ।

‘तिहार आउन अब ५ दिन मात्रै बाँकी छ । यो बेला अर्डर भएको सामानको प्याकेजिङलगायत अन्य सबै तयारी अवस्थामा हुन्थ्यौं । तर, यो वर्ष अर्डर नभएकाले कुनै पनि सामान प्याकिङ गर्नुपर्ने छैन,’ उनले भने ।

तिहारको माहोलमा पनि मानिसको भिड निकै कम देखिएपछि तिहारमा पनि व्यापार बढ्ने आशा नरहेको उनले बताए । तिहारमा लड्डु, पेँडा र वर्फीलगायत लालमोहन, रसबरी तथा गुलाब जामुनको व्यापार हुने गर्दछ ।

त्यसमा पनि सबैभन्दा बढी बिक्री हुने भनेको धनतेरश र लक्ष्मीपूजामा हुने गर्दछ । तर, अहिलेको माहोल हेर्दा ४० प्रतिशतले पनि व्यापार नहुने भन्ने चिन्ताले बढी पिरोल्न थालेको उनले बताए ।

यसपटक पहिलेको तुलनामा कम सामान तयार गरेको क्षेत्रपाटीमा रहेको श्री कुमारी स्वीट्स सपका सञ्चालक सरोज ताम्राकार बताउँछन् ।

अहिले टाढाबाट हुने अर्डरहरू सबै शुन्य अवस्थामा झरेको र तिहारमा पनि व्यापार नहुने उनले अनुमान गरेका छन् ।

दशैंमा पनि ६० देखि ७० प्रतिशतले मात्रै व्यापार भएको थियो । त्यही अनुसार तिहारमा पनि हुने उनले जानकारी दिए । तिहार आउन ५ दिन बाँकी भएकाले मानिस कतिको आउँछ र कतिले व्यापार हुन्छ भन्ने अनुमान गर्न निकै कठिन भएको उनी बताउँछन् । तर, व्यापार भने निकै कम हुने उनको बुझाइ छ ।

यस्तै आँगन नेपालका कर्मचारी मुकेश चौधरीका अनुसार पनि यस पटकको तिहारका लागि सामान्य तयारी गरेकोे बताए ।

उनका अनुसार यो वर्ष करिब ६० प्रतिशतले व्यापार हुने अनुमान गरेको बताए ।

‘विगतको दिनमा अर्डर धेरै हुन्थ्यो । तर, यो वर्ष मुस्किलले ३,४ वटा ठाउँबाट अर्डर आएको छ,’ उनले भने, ‘यसले गर्दा विगतको जस्तो भ्याईनभ्याई हुने अवस्था छैन । बजारमा तिहारको माहोलमा भिड तथा उत्साह निकै कम भएकाले व्यापारमा कमी आउने आशा गरेको छ ।’

हाल आँगनको उपत्यकाभित्र पाँच वटा शाखा छ भने उपत्यका बाहिर विराटनगर र पोखरामा एक/एक वटा शाखा छन् । विगतको तिहारमा सबै शाखामा उल्लेखनीय व्यापार गथ्र्यो तर यो वर्ष व्यापारमा उत्साह नआउने उनको भनाइ छ ।

विभागले थाल्यो विशेष अनुगमन
दशैंमा खाद्य तथा मासुमा विशेष अनुगमन गरेजस्तै तिहारमा मिठाई भण्डारमा विशेष अनुगमन गर्न थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बजारमा चाडपर्वको बेलामा गुणस्तरहित सामान बिक्री गर्ने, उत्पादन गर्दा गुणस्तहिन कच्चा पदार्थ प्रयोग गर्ने, म्याद सकेको सामान बिक्री गर्ने तथा मूल्य वृद्धि गर्ने प्रवृत्ति मौलाएको हुनाले तिहारमा मिठाई भण्डारलाई केन्द्रित गरेर तीब्र अनुगमन गरेको विभागका निर्देशक शिवराज सेडाईँले जानकारी दिए ।

हाल विभागबाट दैनिक निन्तर रुपमा बजार अनुगमनमा लागि परेको उनले बताए । साथै, अहिले प्रत्येक दिन विभागमा छलफल गरेर भाइमसला तथा मिठाईमा विशेष ध्यानमा राखी अनुगमन गरेको र खराबी देखिएमा कारवाहीको दायरामा ल्याएको उनको भनाइ छ ।


क्लिकमान्डु