ब्रोकर कमिसन घटाउने अवस्था छैन: ब्रोकर संघका अध्यक्ष



सन्तोष मैनाली स्टक ब्रोकर एशोसियनको अध्यक्षमा निर्विरोध चुनिएका छन् । ब्रोकर एशोसियनको अध्यक्षको रुपमा मैनालीले गर्ने कार्य र सेयर बजारको विषयलाई लिएर क्लिकमाण्डूका लागि शोभित थपलियाले मैनालीसँग गरेको कुराकानी

नेपालको पूँजी बजार विकासको लागि के गर्ने योजना बनाउनु भएको छ ?

दोस्रो बजारमा पूर्ण रुपमा प्रविधिको प्रयोग आवश्यक छ । विश्व बजार हेर्ने हो भने प्रविधिबाटै फड्को मारेको छ । हामीले पनि प्रविधिको प्रयोग ब्यापक बनाउन आवश्यक छ । अहिले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई यो भन्दा माथिल्लो तहमा लैजानु छ । यसको माध्यमबाट बजार विस्तारलाई प्रभावकारी रुपमा लैजान आवश्यक छ । यसबाट लगानीकर्ता, बजार निर्माता, ब्रोकरको जोखिम न्यूनिकरण हुने खालको प्रविधिको प्रयोग आवश्यक छ । यसको लागि हामीले कम्पनी क्यापटेक प्रालि स्थापना पनि गरिसकेका छौं । निवर्तमान उपाध्यक्ष टंक गौतमले लिड गरिरहनु भएको छ । यसमा काम भइरहेको छ ।

हामीले अहिले इन्ट्रा डे टे«डिङ सुरु गर्न आवश्यक छ । यसले बजारमा तरलताको माग बढन जान्छ । अहिले समग्र बजार पूँजीकरणको केही हिस्सा मात्रै बार्षिक कारोबार हुने गरेको छ । समग्र बजार पूँजीकरणको न्यून रुपमा कारोबार हुने गरेको छ ।

स्टक मार्केट भनेको जति बेला पनि आउन सक्ने र जति बेला पनि बाहिर निस्कन सक्ने खालको हुनुपर्छ । त्यो नहुँदा ठूलो भोलुममा आउने इन्भेष्टरलाई त्यसले कन्फिडेन्समा लिन सक्दैन । त्यसको लागि इन्ट्रा डे ट्रेडिङ सुरु गर्ने, अर्को भनेको रियल सेक्टरका धेरै कम्पनीलाई प्रवेश गराउने काम गर्न आवश्यक छ । इन्ट्रा डे टे«डिङ सुरु गर्ने हो भने सेक्युरिटी लेन्डिङ एण्ड बरोइङ अप्सन चाहिन्छ ।

मूल्यमा धेरै उतार चढाव नआउने केही कम्पनीमा सर्ट सेलिङको प्रावधानमा पनि जान सकिन्छ । त्यसको लागि भौतिक पूर्वाधार तयार राख्नुपर्छ । त्यसको लागि सबैभन्दा पनि योग्य कम्पनी छानेर काम गर्न सकिन्छ ।

पूँजीबजारमा डेरिभेटिभ उपकरणहरु ल्याउन आवश्यक छ । अहिले भएको बन्ड मार्केटमा कारोबार निकै कम भएको छ । मार्केटडेफ्ट हेर्दा बायर र सेलर कम रहेको छ । अब बन्ड मार्केटको तरलता बढाउनु पर्छ । अहिलेको ध्यान यी विषयमा रहेको छ । यसको लागि बोर्ड र नेप्सेसँग आवश्यक सहकार्यका काम गरिने छ ।

लगानीकर्ताको लागि सूचना प्रवाहमा जोड दिन आवश्यक छ । त्यो हुँदा लगानीकर्ता हल्लाको पछि लाग्न नपरोस । हरेक कम्पनीको वास्तविकता सहजै थाहा पाउन सकियोस । त्यसमा यो कार्यसमितिले काम गर्ने छ । लगानीकर्ता सचेतना आवश्यक छ । यसमा पनि हाम्रो काम हुनेछ । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।

अहिले लगानीकर्ताहरुले ब्रोकर कमिशन तत्काल घटाउनु पर्योभनेका छन् । यसको लागि तपाईले कसरी पहल गर्नुहुने छ ?

ब्रोकर कमिशनको विषयमा धेरै नै छलफल भएको छ । ब्रोकर कमिशन पहिला २ पटक घटिसकेको छ । हामीले ब्रोकरले पाउने वास्तविक कमिशन कति हो भनेर बजारलाई जानकारी दिन आवश्यक छ । अहिले ०.४ देखि ०.६ प्रतिशत रहेको छ । त्यसमा ब्रोकरको मात्रै हेर्ने हो भने ०.३२ देखि ०.४८ प्रतिशत मात्रै हो । अन्तराष्ट्रिय अभ्यासमा हेर्ने हो भने यो कमिशन धेरै हैन ।

यसमा अझै छलफल हुन आवश्यक छ । केही समय कारोबार बढ्यो भन्दैमा कमिशन घटाउनु भन्दा पनि बजारको साइकलको अवस्था हेरेर त्यो अवधिमा ब्रोकरले कति कमाएका छन त्यो हेरेर औषतमा निकाल्नुपर्छ ।

हामीले विदेशी अभ्यास मात्रै हेर्ने गरेका छौं । उनीहरुको आम्दानीको स्रोत केके छन त्यो हेरेका छैनौ । विदेशमा कतिपय ‘०’ प्रतिशतमा काम गरिरहेका हुन्छन । तर उनीहरु नै सबै भन्दा धेरै कमाउने ब्रोकर रहेका छन् । तसर्थ नेपालमा लगानीकर्ताहरुले अन्य खालको शुल्क व्यहोर्नु परेको छ की छैन ? त्यो हेर्न आवश्यक छ । ब्रोकरलाई बार्षिक १५,२० प्रतिशत कमाइ भएपुग्छ । त्यो भयो भने ब्रोकर सन्तुष्ट हुनेछन् ।

अहिले प्रविधिको प्रयोग गरेर अघि बढनको लागि आफ्नै लगानीमा काम गर्ने भनेर ब्रोकरहरु पनि लागि रहेका छौं । हामी लगानीकर्ताहरुलाई प्रभावकारी सेवा दिन चाहन्छौ । त्यसको तयारीमा लागेका छौं । हामी अर्डर प्लेसमेन्ट मात्रै नभएर लगानीकर्तालाई अध्ययन गर्न आवश्यक डाटा उपलब्ध गराउने तयारीमा हामी छौं । तसर्थ यस्ता सेवा थप्दा यो कमिशन दर प्रयाप्त नहुनपनि सक्छ । यो नबढला भन्न पनि सकिन्न । यसको लागि सबै पक्ष बसेर छलफल गर्न आवश्यक छ । हामीले दिन खोजेको सेवा र भइरहेको कमिशन दरलाई हेरेर निर्णय आवश्यक छ ।

तपाईको कार्यकालमा लगानीकर्ताले ब्रोकरलाई हेर्ने नजरमा परिवर्तन ल्याउनको लागि के गर्नुहुन्छ ?

लगानीकर्तालाई ब्रोकरसँग विश्वास हुनको लागि सेवा गुणस्तरिय हुन आवश्यक छ । सेवा गुणस्तरिय बढाउन प्रविधि नै प्रयोग गर्नुपर्छ । विगत ८ महिना बजारमा धेरै लगानीकर्ता प्रवेश गरेका छन् । अब ब्रोकरले क्षमता बढाउनु पर्छ । त्यही अनुसारको प्रविधि आवश्यक छ । लगानीकर्तालाई किनेको सेयर र बेचेको पैसा समयमा नै पाउँछु भन्ने विश्वास हुन आवश्यक छ । त्यो नियमीत पनि हुनुपर्छ । चाहेको ठाँउबाट बजारमा सहजै कारोबार गर्न पाउनुपर्छ । यो भएपछि समस्या सुधार हुँदै जाने छ ।

अहिलेसम्म मार्जिन लेन्डिङ प्रभावकारी हुन सकेको छैन । तपाईले यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान के काम गर्नुहुन्छ ?
केही ब्रोकरहरुले तीन वर्षको नविकरण गरिसक्नुभएको छ । यो अवधिमा मार्जिन ट्रे्डिङ अन्तर्गत केही कारोबार भएका छन् । यसमा ब्रोकरले चाहे अनुसार सेवा दिन पनि सकेनन् । लगानीकर्ता पनि आकर्षित हुन सकेनन् । त्यसको राखिएको मापदण्ड लगानीकर्ताको लागि उपयोगी भएनन् भने ब्रोकरले पनि नयाँ सेवा दिँदा आम्दानीमा टेवा पुग्ने र सेवा प्रभावकारीतामा ध्यान दिएको हुन्छ ।

अहिलेको मोडलमा जाँदा फण्ड कहाँबाट ल्याउने भन्नेमा समस्या छ । पूँजी मात्रै बढाएर मार्जिन लेन्डिङ सेवा दिने हो भने कहाँ सम्म जान सकिन्छ ? इक्विटीको लागत बढी नै हुन्छ । बढी लागत भएको इक्विटी ल्याएर लेन्डिङ सम्भव छैन । अहिले फण्ड कहाँबाट ल्याउने भनेर त्यसको मोडल बन्दै छ । त्यसका कष्ट अफ फण्ड बैंकको लेन्डिङ रेट अनुसार भयो भने यो प्रभावकारी हुनेछ । यसमा नेप्से र सेबोनसँग कुरा भइरहेको छ । अब यो चाँडै नै बजारमा आउने छ । यसमा गर्न बाँकी कामहरु सक्न धेरै समय नलाग्ला ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषय अहिले निकै चर्चामा रहेको छ । ब्रोकरहरुले यसमा आर्थिक चलखेल गरे भन्ने पनि सुनिन्छ, खास के हो, अब कसरी अगाडि बढनुपर्ला ?

यो विषयमा हामी सुरु देखि नै प्रष्ट हुन सकेका छैनौ । सुरुदेखि नै कम लागतमा सेवा दिनुपर्ने हो । हाम्रो जोड लगायत बढाउनेमा नै रहयो । बैंकका सहायक कम्पनीले पनि शाखा नै खोल्नुपर्ने हुन्छ । बाहिर नजाने हो भने काठमाडौं भित्रै २७ वटा ब्रोकर थपिने मात्रै हो त ? अहिलेको अवस्थामा थोरै लागतमा उपत्यका बाहिर गएर पनि सेवा दिनु नै हो । लागत बढ्नु भएन । बजार विस्तारको लागि हामी कहिल्यै पनि बाधक बन्दैनौ । अहिले सब ब्रोकर मार्फत जान सकिने थियो की ? मनिट्रान्सफर वा सहकारीबाट जान सकिन्छ की वा उनीहरुलाई अधिकारीक प्रतिनिधि तोकेर जान सकिन्छ की ? त्यस्ता विभिन्न मोडलमा छलफल आवश्यक छ । यसअघि भएको छलफलमा कम लागतको लागि आधिकारिक प्रतिनिधि ठिक हुने देखिएको हो ।

बैंक आउन रोकियो भने त्यसले प्रत्यक्ष लाभ कसलाई हुन्छ उसले रोक्यो भन्ने हुन्छ । त्यो स्वभाविकै हो । तर आर्थिक चलखेल भयो भन्ने निराधार कुरा हो । बैंकका सहायक कम्पनी आउने भन्दै गर्दा त्यसले ट्रेडिङ कस्ट घटाउँछ वा घटाउँदैन ? बजारको विस्तारमा सहयोग गर्छ वा गर्र्दैन भन्ने विषयलाई केन्द्रमा राखेर हेर्ने हो भने समस्याको समाधान देखिन्छ । यसमा हाम्रा केही धारणा रहे ।

त्यो भनेको बैंकका सहायक कम्पनीलाई रोक्ने होइन । यसमा उठेको विषय भनेको भित्री कारोबारको विषय हो । यो ठूलो चुनौती रहेको छ । यसको लागि हामीले कानून बनाउन सकेको छैन । यस्तो बेला बैंक आउँदा के होला भन्ने चासो हो । साथै अहिले भएका ब्रोकर पनि राम्रो प्रविधि हुने हो भने बजार विस्तार गर्न तयार छौं । प्रविधि प्रभावकारी हुने हो भने अहिले भएको ब्रोकर पनि धेरै हो । प्रविधिले ब्रोकर घटाउन सक्छ । अब संख्या थप्नु भन्दा पनि पहुँच विस्तारमा काम गर्न आवश्यक छ । धेरै संस्था हुँदा नियमनमा पनि चुनौतीपूर्ण हुन्छ । प्रविधिको प्रयोग बढाउने हो भने भएका ब्रोकर पनि मर्ज गर्नुृपर्ने हुन्सक्छ ।

अन्त्यमा केही भन्नु छ ?

अब हामीले लगानीकर्ता शिक्षा र विश्लेषण दिनु आवश्यक छ । लगानीकर्ताले कुनै डाटा खोज्दा किन्नु पर्ने बाध्याता थियो । त्यसको विश्वसनियतामा पनि प्रश्न नै रहेको थियो । अब त्यो डाटा सहजै पाउने वातावरण बनाउनुपर्छ । आजको दिनमा टिएमएसमा कुनै कम्पनीको बारेमा खोज्ने हो भने केही पनि भेटिदैन । नियामकमा पनि खोजेको जति जानकारी पाउन सकिँदैन । यसले लगानीकर्ताको विश्वास जगाउन सक्छ ।


क्लिकमान्डु