सहकर्मीहरु जीवित ऐना हुन्, अरुलाई हानी हुने बानी छाड्नुपर्छः बैंकर वुद्धि मल्लको लेख
एकजना बिराटनगरबाट पोखरा फर्कंदै थिए । रातको समय । त्यसमा पनि सिधा अनि चाक्लो बाटो प्रतिघण्टा १०० किलोमिटरभन्दा बढीको स्पिडमा कार कुदाउँदै थिए ।
उसका अघिपछि मालबाहक ट्रकहरु थिए । त्यसमध्ये एउटा ट्रकको पछाडिको लाइट फुटेको थियो । जसले ट्रक पछाडि हुने सवारी चालकलाई समस्या परिरहेको थियो ।
किनभने, गाडीहरु तीव्र गतिमा भएकाले ट्रकको पछाडिको बत्ति नभएकाले पछाडिका सवारी चालकहरुले आफ्नो गाडी ट्रकको एकदमै नजिक आएपछि मात्रै अगाडि ट्रक छ भनेर थाहा पाउँथे ।
ट्रकको पछाडिको लाइट बिग्रेर ट्रकको गतीमा त केही पनि फरक परेको थिएन । ट्रक चालकले ट्रकलाई आफ्नो हिसाबले चलाइ रहेकै थिए ।
तर त्यो चालकले आफ्नो कारणले अरुलाई समस्या परेको छ भन्ने हेक्का समेत राखेको थिएन् । जसको कारणले पछाडिका सवारीहरु अचानक ब्रेक लगाउनु पर्ने स्थिति पैदा भई दुर्घटना पनि हुन सक्थ्यो ।
ट्रकको जस्तै उदाहरण मानिसले जानेर वा नजानेर अरुलाई यसरी नै दुःख दिइरहेका हुन्छन् । संस्थामा काम गर्दा मानिसले आफ्नो ब्यवसायिक जीवनलाई अगाडि बढाउँदै जाँदा उनका व्यवहार तथा बानीले अन्य सहकर्मी साथीहरुलाई विभिन्न समस्यामा पारेको हुनसक्छ ।
ऊ आफू खुशी हुन खोज्दा सहकर्मीलाई दुःखी तुल्याएको हुनसक्छ । आफूले सजिलो रोज्दा साथीलाई अप्ठ्यारो परेको पनि हुनसक्छ । तर, अधिकांश मानिसले यसबारे सोचेका समेत हुँदैनन् ।
बाल्यकालमा, विद्यार्थी जीवनमा हामीले अधिकांश समय घरमा नै बिताउँछौं । तर, व्यवसायिक जीवन शुरु भएपछि हामीले आफ्नो समय घरभन्दा बढी कार्यालयमा सहकर्मी साथीहरुसँग बिताइरहेका हुन्छौं ।
तर, कतिपयले यति ठूलो समय बिताउने साथीहरुलाई जानेर वा नजानेर दुःखी बनाइरहेका हुन्छन् ।
हामीले बाटोमा यात्रागर्दा कहिलेकाँही कुनै गाडीले कालो धुँवा फाल्छ त कुनै गाडीले हिलो छ्यापेर जान्छ । धुँवा फाल्ने, हिलो छ्याप्ने गाडीलाई त केही हुँदैन । तर त्यसले धुँवा खानेर हिलो छ्याप्पिने व्यक्तिलाई भने असर गर्छ ।
त्यसरी नै काम गर्ने सिलसिलामा मानिसहरुले आफ्ना सहकर्मीहरुलाई धुँवा फाले जस्तै वा हिलो छ्यापे जस्तै कुनै असर पार्ने कार्य गरिरहेको हुनसक्छन् ।
जंगलको राजा सिंहले आफू केही कदम अगाडि बढेपछि पछाडि फर्केर हेरेर सिंंहावलोकन गर्छ अनि सावधान हुन्छ, त्यसरी नै हामीले दैनिक कार्यक्षेत्रमा आफूले गरेको कामकोे सिंहावलोकन गर्नुपर्छ ।
अन्तरिक्ष यात्री रोनाल्ड जे. ग्यारोनले भनेका छन्, ‘एकआपसमा विश्वास र सम्मानको वातावरण भएपछि साँचो, ईमान्दारीपूर्ण सम्बन्ध बन्न सक्छ । र, जसले बलियो र दीर्घकालीन सम्बन्धको जग निर्माण गर्छ ।’
त्यस्तै उनले मानिसहरु विशेषगरी आफ्ना सहकर्मीसँग भएका बैठकभन्दा उनीहरुसँग भएका सामाजिक अन्तक्रियाहरु सम्झन मन पराउँछन् भनि सहकर्मीहरुसँगकोे व्यक्तिगत सम्बन्धमा जोड दिएका छन् ।
मानिस भविष्यका लागि सोच्ने, अरुका लागि सोच्ने भएकाले नै अन्य प्राणीभन्दा फरक र सर्वाेश्रेष्ठ प्राणी भएको हो । त्यसैले श्रेष्ठताका लागि मानिसले प्रतिस्पर्धा गर्दछ । र, यही प्रतिस्पर्धाले मानिसले मजबुत बनाउँछ । निखार्छ पनि ।
तर, प्रतिस्पर्धाको नाममा आफ्ना सहकर्मीहरुलाई चुनौतीको रुपमा हेरियो भने यसले व्यक्तिगत सम्बन्धलाई नराम्रोसँग असर पार्छ । र, फलस्वरुप संस्थालाई नै असर पार्छ ।
मानिसले पहिलो शिक्षा परिवारबाट पाउँछ । त्यसपछि स्कूल, कलेजबाट र त्यसपछिको महत्वपूर्ण अनि व्यवहारिक शिक्षा अनुभवद्वारा हासिल गर्छ ।
जुन उसले काम गर्ने सिलसिलामा आफ्ना सहकर्मी साथीहरुबाट पाउँछ । सहकर्मीसँग समधुर सम्बन्ध बनाएको मानिसले जस्तोसुकै कठिन परिस्थितीमा पनि आफूलाई प्रमाणित गर्न सक्छ । र, व्यवसायिक जीवनमा जतिसुकै कठीनाइमा पनि नहड्बडाउने साहस जुटाउन सक्छ ।
घोडा तबसम्म छिटो दौडन सक्दैन, जबसम्म उसले आफूजस्तै दौडने अर्काे घोडा भेट्टाउँदैन । सहकर्मीहरु भनेको पनि त्यस्तै हो ।
मानिसले आफ्नो कार्यसम्पादनलाई सुधार गर्नका लागि राम्रो सहकर्मीहरुको आवश्यकता पर्छ । कतिपय अवस्थामा उनीहरुले अभिभावकको भूमिका त कतिपय अवस्थामा गाइडको भूमिका त कतिपय अवस्थामा अन्य आवश्यकता अनुसारको भूमिका निभाएर सल्लाह, सुझाव, मागदर्शन तथा हौसला दिइरहेका हुन्छन् ।
दुम्सीको शरीरभरी नै तिखा प्वांखहरु हुन्छन् । तर ती प्वाँखहरु उसले आफ्नो शरीरमा नै लुकाएर राखेको हुन्छ । र, आफूलाई आवश्यकता परेको बेलामा मात्र आत्मरक्षाका लागि निकाल्छ ।
एउटा जनावर दुम्सीले त अरुलाई हानी हुन्छ भनेर आफूमा भएको शक्तिलाई शरीरभित्रै लुकाएर राख्छ भने हामी मानिस भएर एउटै कार्यालयमा काम गर्ने सहकर्मीहरुलाई हानि हुन्छ कि भनेर सोच्चु एकदमै आवश्यक छ ।
आफूमा भएको भएको ज्ञान, बल, सीप तथा आत्मविश्वास साथीहरुलाई हानी गर्नका लागि नभई साथीहरुलाई सहयोग गर्नुपर्छ ।
आजभोलि कतिपय मानिसहरु सफलताको नाममा अल्पकालीन फाइदामा दौडिरहेको पाउँछौं । जसका कारणले सहकर्मी साथीहरुको महत्व पनि अल्पकालीन नै हो भन्ने हिसाबले सोच्ने गरेको पाइन्छ ।
कार्यालयका साथीहरु कार्यालयको कामका सिलसिलामा मात्रै चाहिने हो भन्ने भावनाले गर्दा एउटै कार्यालयमा काम गर्ने साथीहरु बीचमा पनि राम्रो सम्बन्ध स्थापित हुन नसकेको पाइन्छ ।
तर, नेपालमा पनि केही यस्ता संस्थाहरु छन् । त्यहाँ केही दिनमात्र पनि आफ्ना कार्यालयका साथिसँग भेट्न नपाउँदा एक अर्काप्रति माया, सम्मानको कारणले छट्पटी हुने पनि देखिएको छ ।
एउटा संस्थाको कर्मचारी १० दिनको वार्षिक विदा बस्दा समेत साथीहरुसँग भेट्न पाएकाले अत्यास लाग्यो भनेर विदाको दिनमा पनि भेट्न कार्यालय आएको पनि उदाहरण छन् ।
भनिन्छ, मानिस सफल हुनका लागि उसमा असल बानी हुनुपर्दछ । जसका लागि त्यागको भावना हुनुपर्छ । साथिहरु समक्ष रिस, डाह, ईष्र्या, घमण्डआदिको त्याग गर्नसके एउटा असल सहकर्मी बन्न सकिन्छ ।
म के हुँ भन्दा पनि मैले के दिन सक्छु भन्ने सोचेमा एउटा असल साथी बन्न सकिन्छ । उच्च पद हासिल गर्नु सबैको लक्ष्य हुन्छ नै ।
तर, पदसँगै कति साथीहरुको मनि पनि हासिल गर्ने पनि लक्ष्य लिएमा राम्रो टिमवर्क बन्नमा मद्दत भई लक्ष्य हाँसिल गर्न पनि सकारात्मक भूमिमा खेल्छ ।
व्यवसायिक जीवनमा सफल भए पनि सहकर्मीहरुको मन जित्न नसक्ने मानिस खेल जितेर पनि दर्शकको मन जित्न नसकेको खेलाडी जस्तै हुन्छ ।
त्यसैले खेल पनि अनि मन पनि जित्नका लागि खेलमा इमान्दारिता देखाउनुपर्ने आवश्यकता भएजस्तै व्यवसायिक जीवनमा पनि सफल हुनु साथै साथीहरुको मन समेत जित्नका लागि व्यवसायिक इमान्दारिता र व्यक्तिगत इमान्दारिता दुबै देखाउनु पर्ने हुन्छ ।
जसबाट साथीहरुको विश्वास आर्जन हुन्छ र विश्वासले सहयोगको आदानप्रदान गर्ने वातावरण सिजना गर्दछ ।
सफलता प्राप्त गर्न मेहनत अति आवश्यक छ र मेहनत कुनै कन्जुस्याँई गर्नु हुँदैन । र, ज्ञान, सीप, पद, शक्तिआदिको बलमिच्याँँई पनि गर्नु हुँदैन । प्रतिस्पर्धाका नाममा खुट्टा खिचाई पनि गर्नु हुँदैन ।
आफ्ना साथीहरुको चित्त दुखाएर क्षणिक कसैले खुसी प्राप्त गर्न त सक्ला । तर दीर्घकालमा साथीहरुलाई दिएको घाउले आफैंलाई पोल्छ ।
त्यसैले मेरो बानीले कसैलाई हानी भएको छ कि भनेर एकपटक सोच्नु सबैको कर्तव्य हो ।
साथीहरु भनेको जीवित ऐना हुन् जसले हामीलाई आवश्यक पृष्ठपोषण दिइरहेका हुन्छन् । अरुलाई हानी हुने बानी छोड्नुपर्छ ।