अमेरिकाको चुनावमा कति खर्च हुन्छ ? कहाँबाट आउँछ पैसा ?



काठमाडौं । यतिबेला विश्वकै महाशक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचन भइरहेको छ । उक्त निर्वाचनमा कति खर्च हुन्छ होला ? विश्वभरका सबै मानिसको मनमा उब्जने प्रश्न हो यो ।
शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्वाचनमा हुने खर्च पनि थोरै हुँदैन । कतिपय देशको वार्षिक बजेटको आधाभन्दा बढी खर्च हुने गरेको छ ।

हरेक मानिसको मनमा निर्वाचनमा कति खर्च लाग्छ भन्ने मात्रै होइन त्यो पैसा कहाँबाट आँउछ होला ? कसले दिन्छ होला ? निर्वाचनको समयमा हुने खर्चको स्रोत के होला ? भन्ने सबैको मनमा लाग्ने गरेको छ ।

हेरौं, अमेरिकाको निर्वाचनमा कति खर्च हुन्छ अनी कहाँ बाट आउँछ त्यो पैसा ।

यसअघि सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा अमेरिकामा ६.५ अर्ब अमेरिकी डलर खर्च भएको बिबिसीले जनाएको छ ।

त्यो बेला राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प निर्वाचनमा होमिएका थिए । त्यो बेला अहिलेको निर्वाचनमा भन्दा बढी नै खर्च भएको अनुमान गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यो वर्ष विश्वभर फैलिएको कोरोना भाइरसको असर अमेरिकामा पनि निकै रहेको छ ।

जसले गर्दा नोभेम्बर ३ मा भएको मतदानमा खर्च कम भएको आंकलन गरिएको छ । तथापी खर्च भने न्यून छैन । अमेरिकामा हुने राष्ट्रपति निर्वाचन त निर्वाचन हुनुभन्दा एक डेढ वर्ष अघि नै त्यसको सरगर्मी बढन थाल्छ । जसले गर्दा निर्वाचनमा खर्च बढेको हो ।

सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमामा ६.५ अर्ब अमेरिकी डलर खर्च भएको भनिए पनि सन् २०२० को अर्थात यो वर्षको निर्वाचनमा कति खर्च भयो भन्ने यकिन तथ्याङक आइसकेको छैन ।

यसअघिको ५ वटा निर्वाचन हेर्दा सन् २००० मा भन्दा केही बढी २००४ मा खर्च भएको देखिन्छ । त्योभन्दा बढी सन् २००८ मा खर्च भएको देखिन्छ ।

त्यसपछिका वर्षमा घटेको देखिएको छ । सन् २००८ को तुलनामा सन् २०१२ र २०१६ मा निर्वाचन अभियानमा हुने खर्च क्रमशः घटेको छ । २०२० मा भने कति खर्च हुने हो यकिन गर्न सक्ने सम्भावना न्यून छ । तथापि कोरोनाको कारण यो वर्षको खर्च कम हुने आंकलन गरिएको छ ।

कहाँ हुन्छ खर्च ?
अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी खर्च त्यहाँका सञ्चार माध्यममा हुने गरेको छ । निर्वाचन हुनुपूर्व टेलिभिजनमा उमेद्वारले विविध विषयमा छलफल तथा अन्तक्रिया गर्ने गर्दछन् । ठूलो रकम त्यसमा नै खर्च हुने गरेको छ ।

निर्वाचनको समयमा उमेद्वाारले टेलिभिजनमा विज्ञापन बजाउनु पर्छ । जसले उमेद्वारको एजेन्डाका बारेमा आफ्ना मतदाताले थाहा पाउन भनेर बढी विज्ञापन गर्नुपर्छ ।

अमेरिकाका टेलिभिजनहरुको विज्ञापन रेट ज्यादै महंगो हुने गरेको छ । महंगो विज्ञापन दरको कारण पनि खर्च निकै बढने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । अघिल्ला निर्वाचको तुलनामा अहिले टेलिभिजनको विज्ञापनको खर्च भने केही घटेको छ । अहिले विभिन्न सामाजिक सञ्जाल (डिजिटल) मा बढी विज्ञापन हुन थालेको छ । जसले गर्दा केही कम होला की भन्ने अपेक्षा पनि गरिएको छ ।

निर्वाचनको समयमा उमेद्वारले एक राज्यबाट अर्को राज्यमा जानको लागि हवाई उडानको प्रयोग गर्ने गर्दछन् । २०१६ को निर्वाचनमा हेर्ने हो भने ट्रम्प र क्लिन्टनले देश दौडाहमा जाँदा प्रतिव्यक्ति ४.५ करोड डलरभन्दा बढी खर्च गरेको पाइएको थियो ।

यो वर्ष कोरोनाका कारण त्यसमा केही कमी आउने आंकलन गरिएको छ ।

निर्वाचनको समयमा कर्मचारी खर्च पनि त्यती धेरै हुने गरेको पाइन्छ । २०१६ को निर्वाचनमा ट्रम्पले कर्मचारी खर्च कति भयो भनेर सार्वजनिक नगरेपनि क्लिन्टले भने कर्मचारीको लागि नै ८.५ करोड डलरको हाराहारीमा खर्च गरेकी थिइन ।

यो वर्षको निर्वाचन अभियानमा ४ अर्ब डलर भन्दा बढी खर्च भए आंकलन गरिएको छ ।

कहाँबाट आउँछ त्यत्रो पैसा ?
सबैको मनमा उब्जने अर्को प्रश्न भनेको निर्वाचन अभियानमा त्यत्रो खर्च गर्न कहाँबाट आउँछ पैसा ? यसको जवाफ भनेको चन्दा र जनताको आर्थिक सहयोग ।

अघिल्ला निर्वाचनको समयमा भएको खर्च हेर्ने हो भने जम्मा खर्चमध्ये एक तिहाइ जति २०० डलर वा थोरै चन्दा दिने अमेरिकी नागरिकबाट संङकलन भएको हुन्छ ।

तर २०० जनाभन्दा थोरै व्यक्तिको समूहले मात्रै त्यो निर्वाचनमा १ अर्ब डलर जति खर्च संकलन गरिदिएका थिए ।

निर्वाचनको समयमा सबै जनताले चन्दा दिन पाउँदैनन् । त्यसका लागि अमेरिकी नागरिक नै हुनुपर्छ । अमेरिकी जनताले पनि मनलाग्दी रुपमा चन्दा दिन पाउँदैनन् ।

त्यसका लागि पनि मापदण्ड बनाइएको हुन्छ । अमेरिकी नागरिकमध्ये एक व्यक्तिले कुनै उम्मेद्वारलाई २ हजार ८ सय डलरभन्दा बढी दिन पाउँदैनन् । मापदण्डले नै त्यो व्यवस्था गरेको छ । कसैलाई त्योभन्दा बढी चन्दा दिन मन लागेको खण्डमा राजनीतिक दलको कोषमा त्यसभन्दा बढी रकम दिन सकिने छ ।

जनताबाट संकलन भएको पैसा मात्रै नभएर निर्वाचनको लागि भनेर उम्मेदवार र राजनीतिक दलहरुले चन्दा संकलन गर्न समिति नै बनाउने गर्दछन् । त्यसले पनि निर्वाचनको अभियानमा खर्च गर्नका लागि पैसा संकलन हुने गरेको छ ।

निर्वाचनको समयमा उमेद्वारसँग प्रत्यक्ष सम्पर्क नराखी पीएसीएस भन्ने स्वतन्त्र समूहले पनि निर्वाचनका लागि आवश्यक पैसा संकनल गर्न सक्ने व्यवस्था छ ।

अमेरिकामा रोचक पक्ष के छ भने राजनीतिक अभियानमा कति खर्च गर्ने भन्ने कुनै सीमा नै तय भएको छैन । यति खर्च गर्न पाइन्छ भन्ने तय नभएका कारण अमेरिकाका निर्वाचन बढी खर्चालु हुने गरेका छन् ।

-बीबीसी


क्लिकमान्डु