निर्माण सामग्रीको मूल्य घट्यो, विकास निर्माणले गति लिएका २५ %ले मूल्य बढ्न सक्ने



काठमाडौं । कोरोना महामारीका कारण भौतिक पूर्वाधार निर्माणले गति लिन नसक्दा बजारमा निर्माण सामग्रीको माग र मूल्य दुबै घटेको छ । कोरोना महामारीले गत चैतबाट निर्माणको कार्यमा गति लिन नसक्दा माग र मूल्य दुबै घटेको हो ।

लकडाउन र निषेधाज्ञा खुकुलो भएपनि विकास निर्माणको कामलाई लक्षित गरी निर्माण सामग्रीको उत्पादन, आयात तथा ढुवानीमा सहज बनाएको थियो । तर, कामदार अभावले सामग्रीको माग नै घट्यो । जसले गर्दा निर्माणको काम र सामग्रीको मूल्यमै गिरावट आएको छ । गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतभन्दा बढीले उत्पादन तथा मागमा कमी आएको निर्माण सामग्री उत्पादन गर्ने व्यवसायीहरूले बताएका छन् ।

कोरोनाले निर्माण सामग्री उत्पादनमा मात्र होइन बजारमा माग पनि ह्वात्तै घटेको उद्योगीहरूले बताएका छन् । लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन तथा बजार माग घटेकाले निकै मारमा परेको उनीहरूको भनाइ छ ।

यो वर्ष मनसुन र लामो लकडाउनको समयमा अधिकांश मजदुर कोरोनाको डरले आफ्नो गाउँमा गएकाले इँटा उत्पादनमा ५० प्रतिशतले घटेको इँटा उत्पादक संघका अध्यक्ष मेहन्द्र बहादुर चित्रकारले बताए । हालको स्थितिलाई हेर्ने हो भने इँटाको व्यापार ठप्प जस्तै रहेको उनले बताए ।

‘हरेक वर्ष मंसिरबाट उत्पादन शुरु हुन्थ्यो तर मनसुनका कारण उत्पादन राम्रो हुन सकेको थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘फागुनबाट केही मात्रामा उत्पादन शुरु भएको थियो । तर, कोरोनाले गर्दा त्यो पनि उत्पादन गर्न पाएन ।’

वार्षिक ३ अर्ब रुपैयाँ बराबरको इँटा उत्पादन भइरहेकोमा यसवर्ष डेढ अर्ब रुपैयाँको मात्र उत्पादन भएको संघका अध्यक्ष चित्रकारले जानकारी दिए । उत्पादन कम भए पनि कोरोनाले गर्दा बजारमा माग कम भएकाले अभाव भने नहुने उनको भनाइ छ ।

उनका अनुसार विगतका दिनमा उत्पादन भएको इँटा बजारमा मौज्दातमा रहेकाले घाटा व्यहोर्दै बेच्न बाध्य भएको बताए । लामो समयको बन्दाबन्दी अझै खुल्ने निश्चित नभएपछि उद्योग चलाउनकै लागि भएपनि प्रति इँटा ३,४ रुपैयाँ घटाएर बेचिरेको उनको भनाइ छ ।

हाल उपत्यकामा ११० वटा इँटा उद्योग सञ्चालन छन् भने एउटा उद्योगमा ३ देखि ४ सयसम्म मजदुर कार्यरत छन् । उपत्यकामा मात्रै ३० देखि ४० हजार मजदुरले रोजगारी पाएका थिए । तर, कोरोनाले गर्दा सबै कम्पनी बन्द भएसँगै बेरोजगार हुन पुगेको उनले बताए ।

नेपालमा इँटा उत्पादनमा नेपालको मजदुर पर्याप्त नभएकोले गर्दा करिब ७० प्रतिशत मजदुर भारतको भएकाले अहिले इँटा उत्पादन भने ठप्प रहेको उनी बताउँछन् । भारतको मजदुर हाल आउने अवस्था नरहेकाले विकास निर्माणको कामले गति लिएमा इँटाको मूल्य बढ्ने उनको अनुमान छ ।

त्यस्तै, कोरोनाको समयमा अधिकांश विकास निर्माणले गति लिन नसक्दा बजारमा २० प्रतिशत मात्रै सिमेन्ट उत्पादन भएको र बजारमा माग पनि कम भएकाले सिमेन्टको मूल्यमा गिरावट आएको सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

गत वर्षको तुलनामा यो वर्ष प्रति बोरा सिमेन्ट ५० देखि ७५ रुपैयाँसम्म घटेको उनको भनाइ छ । हाल पीपीसी सिमेन्ट प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँ पर्छ भने ओपीसीको ६ सयदेखि ७ सयसम्ममा खरिद गर्न सकिन्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञा र दशैंको माहोलले विकास निर्माणले गति लिन नसक्दा मूल्य निकै कम भएको उनको भनाइ छ । तर, तिहार छठ सकिने वित्तिकै विकास निर्माणले गति लिन सक्ने उनको विश्वास छ । साथै, अहिले गिरावट आएको मूल्य केही हदसम्म वृद्धि हुने उनको बुझाइ छ ।

‘वार्षिक १० मिलियन टन खपत हुनेमा अहिले उत्पादन २० मिलियन टनमा सीमित भएको छ,’ उनले भने, ‘तर, कोरोनाको समयमा कर्मचारी काम गर्न आउन सकेको छैन । यसले गर्दा धेरै समस्यामा परेको छ ।’

हाल नेपालभर ६२ वटा सिमेन्ट उद्योग छन् । ती क्षेत्रमा कार्यरत ४ देखि ५ सय कर्मचारीलाई मासिक तलब पनि दिन नसक्दा व्यवसाय धारासायीमा परेको उनको भनाइ छ ।

साथै बन्दाबन्दी लम्बिँदै जाँदा धेरै सिमेन्ट उद्योग बन्द हुने अनुमान लगाएका छन् । साथै, अहिले गोदाममा नै अबौंको सिमेन्ट थन्किएर बसेकोले अर्बौ घाटा व्यहोर्न बाध्य भएको उनले बताए ।

त्यस्तै, हाल बजारमा स्टिलको मूल्य प्रतिकेजी ७० देखि ८५ रहेको छ । कोरोनाले गर्दा ठूला–ठूला आयोजनाको काम रोकिएकाले बजारमा डण्डी तथा छडको माग निकै कम भएकाले मूल्यमा विगतको तुलनामा ५ देखि १० रुपैयाँले कम भएको नेपाल स्टिल फर्निचर संघले जनाएको छ । तर, तिहार छठपछि विकास निर्माणको कामले गति लिएका प्रति केजी २० देखि २५ प्रतिशतसम्म मूल्य बढ्न सक्ने निर्माण व्यवसायीहरुले बताएका छन् ।

स्थानीय तहले काम गर्न नदिँदा समस्या

अधिकांश विकास निर्माणको काम स्थानीय तहमा रहेकाले स्थानीय तहमा कोरोनाको समयमा विकासको आयोजनाको काम गर्न खोज्दा संक्रमण फैलिने भन्दै विरोध गरेका कारण समस्या भइरहेको अध्यक्ष सिङ बताउँछन् । निर्माण व्यवसायीले निर्माणले गति लिने विश्वासका साथ तयारी गरेको छ तर गति लिनलाई व्यवहारिक रुपमा स्थानीय तहले कति सहज वातावरण मिलाउँछ त्यसमा भर पर्ने बताए ।

यसका साथै, स्थानीय तहले काम गर्नको लागि कति उत्साहित गर्छ त्यसले पनि निर्माणले गति लिने उनको भनाइ छ ।

विकास निर्माणले गति लिएमा हप्ता दिनमै मूल्य बढ्ने महासंघको दाबी

चैतदेखि नै विभिन्न विकासको आयोजना निर्माण गर्न पाएको छैन । साथै, बजारबाट निर्माण सामाग्रीको माग पनि हुन सकेको छैन । कोरोनाले गर्दा अधिकांश आयोजना अलपत्र अवस्थामा छन् ।

त्यसमा सरकारले निर्णय गरेको म्याद थपको बारेमा कस्तो आयोजनालाई म्याद थप गर्ने भन्ने विषयमा त्रुटिपूर्ण भएकाले समस्यामा परेको उनको भनाइ छ ।

कोभिडको समयमा म्याद सकेको र कोभिडको समयमै सम्झौता भई काम गर्न नपाएका आयोजना रहेको छ । त्यसमा सबै प्रकारका आयोजनामा म्याद थप गर्नुपर्नेमा म्याद सकेको र कोभिडको समयमा सम्झौता भएको आयोजनामा मात्रै म्याद थप गर्ने निर्णय लिएको छ । जसले गर्दा निर्माण व्यवसायीहरूले काम गर्न निकै समस्या भइरहेको उनले बताए ।

हाल कोरोनाले गर्दा बजारमा निर्माण सामग्रीको माग कम हुँदा मूल्यमा गिरावट आएको छ । तर, विकास निर्माणको कामले गति लिने हप्ता दिनमै उद्योगीहरूले सबै सामानको मूल्य वृद्धि हुने उनको भनाइ छ । साथै, सबै निर्माण सामग्रीमा २० देखि २५ प्रतिशतसम्म मूल्य बढाउन सक्ने उनले दाबी गरे ।

हालसम्म आइपुग्दा पनि कतिपय डण्डी उद्योगीले प्रतिकेजी ४/५ रुपैयाँ बढाइसकेको उनको बुझाइ छ । उद्योगीहरुले माग आएको खण्डमा बढाउने र माग कम भएको अवस्थामा घटाउने गर्दा व्यवसायीहरू मारमा पर्ने गरेको उनको भनाइ छ ।

निर्माण व्यवसायीहरूले पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्नेलाई निर्देशन दिने हो भने दुई, तीन वटा कुरामा ध्यान दिई निर्णय लिएमा मात्रै सञ्चालनमा ल्याउन सक्ने उनको भनाइ छ । पहिलो कोरोनामो प्रोटोकल निश्चित गरेर काम अगाडि बढाउनुपर्यो । दोस्रो सबै निर्माण आयोजनाको म्याद थप गर्ने र तेस्रोमा भुक्तानी सहजता गरेर पाँच प्रतिशत धरौटी रकम चाँडोभन्दा चाँडो उपलब्ध गराइदिएको अवस्थामा मात्रै गति लिन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु