व्यवसायीको गुनासोः गभर्नरसा’ब बैंकहरु ‘साहू महाजन’जस्ता भए



काठमाडौं । कोरोनाका कारण उद्योग धन्दा व्यवसाय चौपटमा परेको छ । कोरोनाले सबैलाई समस्यामा पारेको छ ।

यही बेला केही व्यवसायी भने असाध्यै ठूलो मर्कामा परेका छन् । उनीहरु आफ्नो व्यवसाय निरन्तर अगाडि बढाउने कि व्यवसाय छाडेर अर्कै काम गर्ने भन्ने दुविधामा छन् ।

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनको अवस्थामा बारेमा छलफल गरेको थियो । छलफलमा सहभागी केही व्यवसायीले बैंक तथा वित्तीय संस्थाले दुःख दिएको भन्दै गुनासो गरेका थिए ।

मकावानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटुवालको भनाई सबैभन्दा मर्मस्पर्शी थियो । उनले बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई हालखबर सोधेको भन्दै दैनिक जसो नै फोन गरेर मानसिक तनाव दिने गरेको सुनाए ।

‘अरु सामान्य बेला हालखबर सोध्न नपर्ने, कोरोना प्रभावित भएर उद्योग व्यवसाय बन्द भएको बेला हालखबर के छ भन्दै सोध्नुको कारण के हो ? हामी बुझ्दैनौ र ?’ उनले भने ।

राष्ट्र बैंकको निर्देशन बैंक तथा वित्तीय संस्थाका स्थानीय शाखाका कर्मचारीले अटेर गरेको, माथिबाट निर्देशन नआएको भन्दै कार्यान्वयन नगरेको र व्यवसायीलाई थर्काउने गरेको कटुवालको भनाइ छ ।

स्थानीय बैंकका शाखाले माथिको निर्देशन ल्याउनुस् भन्दै व्यवसायीलाई छुट नदिने, बरु जरिवाना लिने र कालोसूचीमा राख्ने धम्की दिने गरेको गुनासो समेत कटुवालले गरे ।

उनले बैंकका शाखा आफैले निर्जीबन बीमा गराउने र व्यवसायीलाई ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न समेत जवरजस्ती गर्ने गरेको सुनाए ।

‘तपाईको उद्योग, प्रतिष्ठान, व्यवसायको बीमा गरियो, अब जीवन बीमा पनि गर्नुस् भन्दै दबाव दिन्छन्, त्यो पनि आफ्नै समूहकोकम्पनी मार्फत । किस्ता समेत आफैं तिर्छांै भन्दै बैंकको खाताबाट रकम काटेर दिने गरेका छन्,’ उनले भने ।

कर्णाली प्रदेशबाट छलफलमा सहभागी भएका व्यवसायी धनबहादुर रावतले कुनै पनि बैंकका शाखाले कर्णाली प्रदेशमा कुनै पनि सुविधा नदिएको गुनासो गरे ।

उनले नवीकरण शुल्कको नाममा राष्ट्र बैंकले तोकेको भन्दा बढी शुल्क लिएर बैंक तथा वित्तीय संस्थाका शाखाले व्यवसायीलाई पेलेको गुनासो गरे ।

पढाई लेखाई कम भएका, सूचना तथा जानकारीको अभावमा व्यवसायी मर्कामा परेको उनले सुनाए ।

मझौला उद्योगले सूचनाको पहुँचमा कमी भएकाले पनि समस्या भएको छ । जुन बोल कबोलमा ऋणीलाई कर्जा दिने गरिएको थिया, त्यो कार्यान्वयन नगरिएको उनको भनाइ छ ।

‘व्याज घटाउने काम भएको छैन, धेरै बैंकले आज डकुमेन्टको चार्ज २ देखि ३ प्रतिशतसम्म शुल्क लिइएको अवस्था छ,’ उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका खिमबहादुर हमालले पहुँचवालाले मात्रै सुविधा राष्ट्र बैंकले दिएको सुविधा पाएको आरोप लगाए ।

‘बैंक तथा वित्तीय संस्थाले लकडाउनमा ब्याज मिनाहा गरेपनि सेवा शुल्क बढी लिने गरेका छन्, राष्ट्र बैंकले हेरिदिनुपर्यो,’ उनले भने ।

सरकारी तथा निजी क्षेत्रका कुनै पनि बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार सुविधा नदिएको उनले बताए । मारमा परिरहेको बेला यस्तो अवस्थामा थप शुल्क लिएर हैरान बनाएको भन्दै हमालले राष्ट्र बैंकको ध्यानकर्षण गराए ।

पुनरकर्जा प्रभावकारी बन्न नसक्दा ७५ प्रतिशत व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले व्यवसायीलाई पलायन हुनबाट रोक्ने वा कायम राख्ने भन्ने निक्र्योल राष्ट्र बैंकले गरिदिनुपर्ने उनले बताए ।

उद्योग वाणिज्य संघ लमजुङका राजेश थापाले बैंक तथा वित्तीइ संस्थाले नाफाको लोभमा व्यवसायीलाई मार्ने काम गरेको गुनासो गरे ।

बैंक तथा वित्तीय संस्थाले आफूलाई निर्देशन नआएको भन्दै कुनै पनि सुविधा दिन नमानेको थापाको भनाइ छ ।

व्यवसायीलाई घरबेटीले पनि छुट नदिएको भन्दै उनले बाँच र बचाउ भन्ने अवस्थामा समस्यामा परेका व्यवसायीलाई राहत दिन कोही कसैले पनि ध्यान नदिएको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाका स्थानीय शाखाले कालो सूचीमा राख्ने भन्दै धम्की दिने गरेको उनले गुनासो गरे । उनले बैंकमा पैसा राखेर खानेलाई कस्नुपर्नेमा व्यवसाय गरेर खानेलाई कसिएको भन्दै आपत्ति जनाए ।

उद्योग वाणिज्य संघ रौतहटका पण्डित जैशवालले बैंक वा वित्तीय संस्थाबाट व्यवसायी पीडित भएको गुनासो गरे । उनले भने ‘बजारमा गएको पैसा फिर्ता भएको छैन, व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । हामीलाई मार्ने कि जोगाउने छिटो निर्णय गरिदिनुपर्यो ।’

उनले कोभिड १९ अगाडि भन्दा बढी शुल्क लिएर कर्जा नवीकरण गरिएको र कोही कोहीलाई त तेब्बर शुल्क समेत लिइएको बताए ।

उद्योग संघ मोरङका अध्यक्ष भीम घिमिरेले भने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन मात्रै भएपनि आफूहरुलाई धेरै राहत हुने सुनाए ।

उनीले व्यवसायी हतोत्साहित भएपनि निरुत्साहित भने नभएको भन्दै सरकारको तर्फबाट आफूहरलाई पैसा नभई नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन गर्न माग गरे ।

व्यवसायी दिनेश श्रेष्ठले बैंकलाई नाफा बढाउने चिन्ता मात्रै भएको भन्द्यै व्यवसायीलाई मर्कामा पारिएको बताए ।

उनले भने ‘बैंकले अहिलेको अवस्थामा व्यवसायीलाई प्रतिपक्षको रुपमा ठानेका छन् । बैंकलाई व्याज, बैंकलाई नाफा बढाउनमा चिन्ता छ । उद्योगी व्यवसायीलाई बचाउने र विस्थापित नहुन् भन्ने तर्फ उनीहरुको ध्यान छैन ।’

उनले स्प्रेडदर ३ प्रतिशत बनाउन सुझाव दिए । उनले थपे ‘बैंक तथा वित्तीय संस्था विगतका सामन्त्जस्ता भए । जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ प्रस्तुत भए ।’


पुष्प दुलाल