नयाँ नोट साट्नु नपर्दा बैंकरलाई राहत, २५ प्रतिशत भार कम भयो



काठमाडौं । कोरोनाका कारण लामो समयसम्म बैंकहरु सीमित कर्मचारी, सीमित शाखाबाट मात्रै सीमित सेवा दिइरहेका थिए ।

अझ कर्मचारीहरुमा कोरोना संक्रमण हुन थालेपछि कैयन बैंकमा कामको भार अन्य कर्मचारीमा थपिएको थियो ।

यसैपनि दशैं जस्तो चाडभन्दा अगाडि कामको चाप बढी नै हुने गर्छ । तर यसपटक दशैं अगाडि नयाँ नोट सटही गर्न नपर्ने भएपछि भने बैंकरहरुलाई कामको चापमा केही राहत मिलेको छ ।

बैैंकर्सहरु दशैंलक्षित काम नोट सटही गर्नु नपर्दा २५ प्रतिशतले घटेको बताउँछन् । साथै यसपाली त बैंकरलाई दशैंमा आफन्तलाई नयाँ नोट कोसेली दिनुपर्ने झन्झट पनि हटेको छ ।

दशैमा टिका र जमरासँगै नयाँ नोटलाई पनि उत्तिकै महत्व दिइन्थ्यो । राष्ट्र बैंकले पनि यही समयमा नयाँ नोट सार्वजनिक गर्दै आएको थियो । त्यसैले गत वर्षसम्म हरेक दशैंमा नयाँ नोट लिनेहरुको लाइन बैंकहरुमा लामो हुन्थ्यो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल नयाँ नोटको सटही नहुने भएपछि काम २५ प्रतिशतले कमी भएको बताउँछन् ।

‘नयाँ नोट वितरण गर्ने भनेपछि हरेक बैंकहरुले कम्तीमा पनि ५÷७ वटा शाखा कार्यालयमा छुट्टै कर्मचारी खटाउनु पथ्र्यो,’ कार्यकारी निर्देशक नेपालले क्लिकमाण्डूसँग भने, ‘जसले गर्दा वर्क लोड बढ्थ्यो ।’

विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना केन्द्रीय कार्यलय र अन्य विभिन्न कार्यालयहरु नोट सटही गर्दथ्यो । नयाँ नोट सटहीमा नै राष्ट्र बैंकका करिब ३५ देखि ४० जना कर्मचारी खटिने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।

‘ती कर्मचारीले आफ्नो नियमित काम छोडेर नोट वितरणको काममा लाग्नु पथ्र्यो,’ उनले थपे, ‘दशैको १ महिना अगाडिबाटै राष्ट्र बैंकमा नियमित कामको अतिरिक्त नयाँ नोट सहटीका लागि कर्मचारी व्यवस्थापनका योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्थ्यो ।’

नयाँ नोटको रौनक सर्वसाधारणमा भए पनि कोरोना संक्रमणको जोखिमका कारण नयाँ नोट सटही गर्नु नपर्दा बैंकरहरु भने खुसी भएको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

‘कोरोनाको संक्रमण जोखिमबीच नयाँ नोट सटहीको व्यवस्थालाई निरन्तरता दिइएको थियो भने नोट सटही गर्दा नै कोरोना फैलन सक्ने सभावना रहन्थ्यो,’ सीइओ पोखरेलले भने, ‘केन्द्रीय बैंकको निर्णयले कोरोना संक्रमणको जोखिम कम भएको छ ।’

कोरोना संक्रमणको अहिलेको अवस्थामा राष्ट्र बैंकले नोट सटहीलाई निरन्तरता देला र बैंकहरुमा थप भिडभाड बढ्ने आँकलनमा बसेका बैंकरहरु अहिले खुशी रहेको उनले बताए ।

कोरोना संक्रमणको जोखिममा यसपालीको दशैमा नयाँ नोट सटही स्थगित भएसँगै दशै लक्षित नयाँ नोट सटहीको प्रचलन सधैलाई हट्नु पर्ने राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीइओ कविराज अधिकारीले बताए ।

‘आवश्यक भएमा अन्य समयपनि नयाँ नोट लिन सकिने व्यवस्था छ,’ डेपुटी सीइओ अधिकारीले भने, ‘दशै लक्षित नयाँ नोट सटहीका लागि नै बैंकहरुले कर्मचारीहरुको काम र सिफ्ट परिवर्तन गर्नु पथ्र्यो ।’

कोरोना संक्रमण जोखिम कै कारण अहिलेको दशैमा नयाँ नोट सटही रोकिँदा बैंकरहरुलाई कामको भार केही भएको उनले बताए ।

बैंकरको कोसोली ‘नयाँ नोट’ यस वर्ष भएन
विगतका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीलाई दशै आफन्तले कोसेली माग्ने भनेको नयाँ नोट हुने गथ्र्यो । तर यस वर्षको दशैमा भने नयाँ नोट सटही नभएपछि कोसेलीमा नयाँ नोट दिनु नपरेको एक बैंकका अधिकृतले बताए ।

‘बैंकमा काम गर्ने भएपछि आफन्तबाट दशै आउन लागेपछि नयाँ नोटको डिमाण्ड हुन्थ्यो,’ ती अधिकृतले भने, ‘एक डेढ लाख रुपैयाँ त नयाँ नोट बाँड्दा नै सकिन्छ, १५÷२० हजार गर्दै आफन्तबाट नयाँ नोटको माग हुन्छ, अब पैसा फिर्ता देउ सबैलाई मिल्दैन ।’

नयाँ नोट कोसेली बाँड्नु नपर्दा बैंकरको यस वर्षको दशैमा खर्च बचेको उनको भनाइ छ । विगत वर्षहरुमा दशैको विदा हुनु अघि नयाँ नोट सटहीको चटारोले गर्दा नियमित काम सधै ओभर टाइम लिएर गर्नु परेको एक वाणिज्य बैंक कर्मचारीले बताए ।

‘आफ्नो विभागको काम र नयाँ नोटको काम गर्नु पर्दा प्रायः ओभर टाइम लिनु पथ्र्यो,’ ती कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘यो वर्ष त यी सबै पनि समस्या बैंकरको टाउकोबाट हटेको छ ।

नयाँ नोट सटहीको विभागमा परेको प्रायः कर्मचारीले गणनामा भुलचुक भएर खल्तीबाट गर्नुपर्ने भुक्तानीको भार पनि हटेको उनले बताए ।

‘नयाँ नोट आपसमा टाँसिएका हुन्छन्, मेसिनमा राख्दा पनि अलग भएको हुँदैनन्, त्यसकारण केही ग्राहकलाई सटही गरिने भन्दा बढी नयाँ नोट जान्छ’ उनले थपे, ‘हामीले कुनै दिनमा त २/४ हजार नै आफ्नो खल्तीबाट तिर्नुपर्थ्यो ।’

नयाँ नोट सटही नहुँदा ग्राहक र कर्मचारीमा कोरोना संक्रमण जोखिम कम हुनुका साथै बैंकरलाई यसको अतिरिक्त धेरै फाइदा भएको उनको भनाइ छ ।


क्लिकमान्डु