असोजको अन्तिम साता ७३ अर्बले निक्षेप बढ्दा बैंकहरुको कर्जा ६९ अर्बले बढ्यो



काठमाडौं । असोजको अन्तिम सातामात्र वाणिज्य बैंकहरुले ६९ अर्ब रुपैयाँले ऋण बढाएका छन् । असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपैयाँ ऋण बैंकहरुले प्रवाह गरेकोमा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपैयाँमा पुगेको छ ।

अन्तिम सातामा गाडी खरिदका लागि तथा अन्य उपभोग्य वस्तुको लागि ऋण बढेको छ । यस्तै दशैंले समेत केही ऋण बढाउन मद्दत गरेको हो । यसबाहेक हरेक वर्षमा हुने त्रैमासको अन्तिममाम ऋण तिर्नको लागि ऋण लिने प्रवृतिले समेत ऋण बढाएको हो ।

चैतदेखि भएको लकडाउनको कारण बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाह बढेको थिएन ।  तर,असोज महिनामा पछिल्लो ६ महिनामा नै उच्च रकमले ऋणको माग बढेको देखिएको छ ।
२७ वटा वाणिज्य बैंकले असोज ३० गतेसम्म २९ खर्ब ४१ अर्ब रुपैयाँ ऋण दिएका छन् । असोज महिनामा मात्र १ खर्ब १४ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ ।

वाणिज्य बैंकसँग अहिले स्वदेशी स्वदेशी मुद्रामा ३५ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एकसातामा निक्षेप मात्र ७३ अर्बले बढेको छ । यसको कारण रेमिटेन्स बढेको तथा तीन महिनादेखि सरकारी कर्मचारीको तलब एकमुस्ट दशैं भत्ता सहित सरकाले पठाउदा समेत भएको हो ।

सरकारी कर्मचारीको तलब सरकारी बैंक सहित निजी बैंकमा जान्छ भने पेन्सन होल्डरले सरकारी बैंकबाट पेन्सन बुझ्ने गर्छन् । स्थानीय तहमा खटिने कर्मचारीले तीन महिनादेखिको तलब एकैपटक असोजको अन्तिम साता एक महिनाको अतिरिक्त दशैं भत्ता सहित बुझेका थिए । यस्तै पेन्सन पाउनले पनि दशैंमा एक महिना बराबरको अतिरिक्त भत्ता पाउने गर्छन् ।


क्लिकमान्डु