हामी ‘स्मार्ट’ बैंकको रुपमा प्रस्तुत भएका छौं



२१औं वर्ष प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ‘स्मार्ट बैंक’ भन्ने नारा नै अघि सारेको छ । माछापुच्छ्रेले के कस्ता स्मार्ट बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएकोछ ?

२० बर्षदेखि ग्राहकको आवश्यकता र चाहाना अनुरुप सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक २० बर्षको दौरानमा थुप्रै महत्वपूर्ण उपलब्धिहरु हासिल गरिसकेको छ । स्थापनाकालदेखि नै हामी हाम्रा ग्राहकलाई समयानुकुल विभिन्न प्रविधियुक्त सेवा प्रदान गर्दैआइरहेका छौं । यही क्रममा २ दशकको यात्रा पार गरिसक्दा हामीले डिजिटाइजेशनको क्षेत्रमा एउटा फड्को मारेका छौं ।

हामीसँग भएका डिजिटल सेवाहरुलाई हामीले परिस्कृत र परिमार्जित गर्दै लगेका छौँ । हामीसँग हरेक वर्ग र तहका ग्राहक महानुभावहरु आवद्ध हुनुहुन्छ । त्यसैले हामीले प्रदान गर्ने सेवाहरु पनि हरेक वर्ग र तहले प्रयोग गर्नसक्ने किसिमको हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहिआएको छ ।

त्यसैअनुरुप हामीले डिजिटल सेवालाई एकदमै सजिलो र भरपर्दो बनाउने अभियान नै चलाएर ग्राहकलाई साच्चिकै डिजिटल अनुभव दिने तरिकाले काम गरेका छौं । हामीसँग मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, अनलाईन खाता खोल्ने र अनलाइन क्रेडिट कार्ड अप्पलाइ गर्ने, अनलाईनबाट नै मुद्धति खाता खोल्ने लगायतका लगायतका थुपै अद्धितिय सेवाहरु रहेका छन् ।

यतिमात्र नभएर कागज विहिन ग्रिन पिन, बिना चेक नगद झिक्न मिल्ने स्मार्ट टेलर शुरु लगायतका सुविधा हालै मात्र हामीले सुरु गरेका सुबिधाहरु हुन् । अत्याधुनिक प्रविधिमा आधारित ग्राहक सेवा केन्द्र तथा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याट बट ‘माया’ ले पनि माछापुच्छ्रे बैंकलाई स्मार्ट बैंकको रुपमा उभ्याएका छन् । साच्चिकै डिजिटल बैंकिङ खोज्ने ग्राहकहरुको लागि हामी सही रोजाइ हौं । २१ वर्ष प्रवेशको अवसरमा स्मार्ट बैंकको रुपमा यही सन्देश हामीले दिन खोजेका हौं ।

आजको दिनमा अधिकांश बैंकहरुले डिजिटल र स्मार्ट बैंकिङलाई आक्रमकरुपमा अघि बढाइरहेका छन् । डिजिटल र स्मार्ट बैंकिङमा माछापुच्छ्रे बैंकको छुट्टै विषेशता के हो ?

तपाईहामी सबैलाई थाहा भएकै कुरा हो २१ औँ शताब्दि टेक्नोलोजीको युग हो । टेक्नोलोजीले हरेक क्षेत्रमा यति धेरै प्रतिस्पर्धा बढाएको छ कि जसबाट बैंकिङ क्षेत्र अछुतो रहन सकेको छैन । पछिल्ला केहि वर्षहरुमा नेपाली बैंकिङ क्षेत्रमा डिजिटाईजेशनको पाटोमा एकदमै धेरै उपलब्धिहरु हासिल भईसकेका छन् । केहि बर्ष अघिसम्म हाम्रो लागि मोवाईल बैंकिङ सेवा हाम्रो लागि नौलो थियो अहिले आएर यो सेवा अपरिहार्य जस्तै बनेको छ । अहिलेको बैंकिङ पहिले जस्तो बेंकमै गएर चेक काटेर वा अन्य कुनै माध्यम प्रयोग गरेर गरिने बैंकिङजस्तो छैन ।

अहिले हामी जहाकहिबाट पनि बैंकिङ सुविधा उपभोग गर्न सक्छौ । अहिले प्राय सबैं बैंकहरुले यि सेवाहरु प्रदान गरिरहेका छन् जुन बैंकहरुको लागि अपरिहार्य आवश्यकता हो । तर अब म तपाईको प्रश्नमा आउन चाहन्छु माछापुच्छ्रे बैंक अरु बैंक भन्दा किन भिन्न छ अझ भनौ किन स्मार्ट छ ? सबैभन्दा पहिले म डिजिटाईजेशनमा हाम्रो सबैंभन्दा पछिल्लो र महत्वपूर्ण उपलब्धिबाट शुरु गर्न चाहन्छु जुन हो वि च्याट वालेट । नेपालमा सबैंभन्दा पहिले वि च्याट वालेट भित्र्याउने हाम्रो बैंक हो । त्यसैगरि स्मार्ट टेलर बैंकको अर्को डिजिटल उपलब्धि हो जुन हामीले हाम्रो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा हालसालै मात्र संचालनमा ल्याएका छौं । जसको माध्यमबाट क्युआर कोर्ड स्कान गरि ग्राहकले १ लाख रुपैयाँसम्मको रकम सजिलै आफ्नो खाताबाट लाइन नबसी बिनाचेक निकाल्न सक्नुहुनेछ ।

कर्पोरेट इन्टरनेट बैंकिङ पनि बैंकको अर्को सुविधा हो । जसबाट बिभिन्न कार्यालयहरुले आफैं आफ्नो अनुकुलको समयमा आफ्ना कर्मचारीको तलव व्यवस्थापन गर्न, कर्मचारीहरुको जानकारी अद्याबधिक गर्न लगायतका काम गर्न सक्नुहुनेछ । त्यसबाहेक मेलै अघि नै भनिसकेक ग्रिन पिन, माया, ग्राहक सेवा केन्द्र लगायतका सेवाहरु अन्य बैंकको तुलनामा फरक र परिमार्जित सेवाहरु हुन् ।

कोरोना महामारीपछि डिजिटल बैंकिङलाई आक्रमकरुपमा विस्तार गर्ने रणनीतिका साथ तपाईंहरु अघि बढ्नुभएको हो ?

कोभिड १९ बैंकहरुका लागि चुनौतिको साथसाथमा अवसर पनि बनेको जस्तो मलाई लाग्न थालेको छ । अवसर यस अर्थमा कि कोभिड १९ को महामारी देखिन थाले पछि बैंकहरुका डिजिटल सेवाहरुको उपयोगमा उल्लेख्य वृद्धि भइरहेको तथ्याङकहरुले पनि देखाइरहेका छन् । हाम्रै बैंकको कुरा गर्ने हो भने कोभिड महामारीपछि मोवाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्या पहिलेको तुलनामा ५ गुणाले बढेर गएको छ । त्यसमा पनि मोवाइल बैंकिङ प्रयोग गरेर रकम आदानप्रदान गर्ने, बिभिन्न सेवाहरुको बिल तिर्नेलगायत अन्य सेवाहरुको उपयोग गर्ने दर उल्लेख्य बृद्धि भएको छ ।

मैले यो तथ्याङक यहानेर किन पनि प्रस्तुत गरिरहेको छु भने आखिर मोवाईल बैंकिङ हामीसँग पहिले नै भएको सुविधा हो । तर यसको उपयोगमा मानिसहरु हिचकिच्याउने गर्दथे । तर जब कोभिडको कारण नगदरहित कुराहरु बाहिर आयो यसको कारणले मानिसहरु खोजीखोजी सबै डिजिटल सेवा प्रयोग गर्न थालेका छन् । यसको मतलब हामीसँगै भएको स्रोत र साधान उपयोग गर्ने हो भने हामी समयको धेरै बचत गर्न सक्दछौं । र, उक्त बचत भएको समयलाई अन्यत्र कुनै रचनात्मक काममा लगायन सक्यौ भने त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्दछांै । जुन हामी जस्तो विकासोन्मूख देशको लागि अत्यन्तै जरुरी कुरा हो ।

कोभिड १९ अहिलेको विश्वव्यापि चुनौती हो । तर अब यसलाई समस्या भन्दा पनि अवसरको रुपमा लिएर अगाडी बढ्नुको बिकल्प छैन जस्तो मलाई लाग्छ । माछापुच्छ्रे बैंकको उद्देश्य सबै ग्राहकहरुले घरै बसी सम्पूर्ण बैकिङ सुबिधा प्रदान गर्न सक्षम बन्ने नै हो । हामी नारामा मात्र स्मार्ट बेंक बनिरहेका छैनौं व्यवहारमा पनि अझ स्मार्ट बन्ने हारसम्भव प्रयत्नमा लागिरहेका छौं । समयनुकुल नयाँ नयाँ प्रविधिहरुको विकास र विस्तार गर्न र अहिले भएका प्रविधिहरुमा अतिरिक्त सुबिधाहरु थप गर्दै लैजाने रणनितिका साथ काम गरिरहेका छौं ।

बैंकले हालैमात्र नेपालमै पहिलोपटक विच्याट(पेमेन्टको शरुवात गरेको छ । यो सेवाले कस्ता सेवाग्राही लाभान्वित हुन्छन् ?

नेपालमा सबैंभन्दा पहिले वि च्याट वालेट भित्र्याउने बैंक नै माछापुच्छ्रे बैंक हो । जसको माध्यमबाट चिनबाट नेपाल आउने चिनिया पर्यटकहरुले सहज र सरलरुपमा नेपालमा आफुले प्रयोग गरेको सेवा तथा बस्तुको रकम भुक्तानी गर्न सक्नुहुनेछ । यो भन्दा अगाडी नेपाल आउने पर्यटकहरुलाई होटलमा बस्दा होस्, सामानहरु खरिद गर्दा होस् रकम भुक्तानी गर्न निक्कै झन्झट व्यहोनु पर्दथ्यो ।

तर अव माछापुच्छ्रे बैंकले ल्याएको वि च्याट वालेटले नेपाल आउने पर्यटकको पेमेन्ट सम्बन्धि सम्पूर्ण समस्या समाधान गर्नेछ । अहिले कोभिडको कारणले नेपालमा पर्यटक आउन नसके पनि यो समस्या समाधान हुने वित्तिकै हामीले ल्याएको वि च्याट वालेटले पर्यटन व्यवसायमा ठुलो योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ ।

२०७५ भदौमा माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘मायाँ’को शुरुवात गरेको थियो । मायाँको रेस्पोन्स कस्तो छ ? प्रभावकारीता कस्तो छ ? र, कति ग्राहकहरुले यसबाट सेवा लिए ?

माया नेपाली बैंकिङ इतिहासको पहिलो च्याट बट हो जसको माध्यमबाट ग्राहकले तत्कालै बैंकका बारेमा थुपै जानकारीहरु लिन सक्नुहुन्छ । फेसबुक हामी सबैले प्रयोग गरिरहेको सामाजिक संजाल हो त्यहि संजालको म्यासेन्जरको प्रयोग गरेर हामीले बैंकको बारेमा थुपै जानकारीहरु प्रदान गरिरहेका छौं । जुन ग्राहकको लागि अत्यन्तै सहज र सरल माध्यम हो । मलाई लाग्छ हामीले मायाको सुरुवात गरेपछि धेरैको नजर हामीतिर थियो । यसपछि धेरै बैंकले च्याट बटको शुरु पनि गरे ।

हामीले जुनरुपमा मायालाई आगाडी ल्याएका थियौं त्यसको उद्देश्य परिपूर्ति भइरहेको छ । अहिले तपाईले हेर्नुभयो भने हाम्रो फेसबुक पेजमा रेसपोन्स रेट एकदमै राम्रो रहेको छ ।

कतिपय बैंकहरुले मोवाइलबाटै कर्जाको आवेदन दिएर कर्जा लिनसक्ने योजनाहरु ल्याइरहेका छन् । माछापुच्छ्रे बैंकले चाहीँ डिजिटल बैंकिङसम्बन्धी के कस्ता नयाँ योजना ल्याउने तयारी गरिरहेको छ ?

अनलाइन क्रेडिट कार्डको आवेदन दिने व्यवस्था हामीले शुरु गरिसकेका छौं । मोबाइल वा वेवसाइटबाटै कर्जा आवेदन दिने सुविधा हामी छिट्टै ल्याउदैछौं । त्यसको लागि हाम्रो आन्तरिक तयारी भइरहेको छ । हाम्रा छिट्टै आउने नया योजनाहरुमा डलर क्रेडिट कार्ड, कन्ट्याकलेस कार्ड, बैंकको आफ्नै वालेटलगायत छन् । हामी अरु थुप्रै एक्साइटिंग डिजिटल प्रोडक्ट र सर्भिसहरु ल्याउने क्रममा छौं ।

बैंकहरु डिजिटल बैंकिङमा आक्रमक हुनुको कारण अबको बैंकिङ डिजिटलबिना संभव छैन भनेर हो ?

मैलेअघि नै भनिसके २१औं शताब्दी बिज्ञान र प्रविधिको युग भनेर । यहि समयमा विश्वले धेरै उपलब्धिहरु हासिल गरिसकेको छ । हुन त बिज्ञान प्रविधिका नकरात्मक र सकरात्मक दुवै पाटा छन् ।

हो, जति हामी डिजिटाइजेशनमा गएका छौं उति नै जोखिमहरु पनि बढेका छन् । तर यसो भन्दै गरेपनि हामी अवको भविष्य डिजिटल नै हो भनेर यसमा देखिने जोखिमहरु कम गरेर सहज रुपमा ग्राहकलाई सेवा प्रदान गर्दै जाने भन्नेमा नै केन्द्रित छौं । अहिलेको समयमा मानिसहरु धेरै व्यस्त छन् । बैंक गइराख्ने बैंक पुगेर लाइन बस्न सबैलाई झन्झट र असहज लागिरहेको हुन्छ । यस्तो अवस्थामा विकल्प भनेको डिजिटल बैंकिङ नै हो । हामी हाम्रा छिमेकी देशहरुले डिजिटल क्षेत्रमा गरेको प्रगति मात्र हेरौं भने पनि हामीले यो क्षेत्रमा अझ धेरै प्रगति गर्न बाँकी छ भन्ने आभास हुन्छ । कोभिडको माहामारी भन्दा पहिला पनि ग्रँहकहरुले छिटो छरितो सेवा खोजिरहेको, हात हातमा नै बैंक चाहिरहेको र बैंकले पनि आक्रामकरुपमा सर्भिसहरुलाई डिजिटाइज गरिरहेको अवस्था थियो । झन् कोभिडले गर्दा ग्राहकहरुलाई बैंकसम्म पुग्न जोखिम बढेको परिप्रेक्ष्यमा डिजिटल प्रडक्टहरुको आवश्यकता झन टड्कारो भएको छ ।

डिजिटल बैंकिङको अभ्यासमा अन्य बैंकसँग तुलना गर्दा माछापुच्छ्रेको स्थान कहाँ छ ?

हामी छोटो समयमै आक्रामकरुपमा अगाडि बढेको बैंकहो । विगत पाच ६ वर्षमा हामीले उल्लेख्य प्रगति गरेका छौं । डिजिटल सेवाहरु प्रदान गर्ने हकमा कुनै पनि बैंकले प्रदान गर्ने सेवाहरु हामीसग उपलब्ध छ । त्यसबाहेक हामीले नयाँ इन्नोभेटिभ सर्भिसहरु पनि लञ्च गर्दै आएका छौं । च्याट बट, अनलाइन मुद्दती खाता खोल्ने, किसान क्रेडिट कार्ड, स्टुडेन्ट क्रेडिट कार्ड, शाखारहित बैंकिंङ सेवाबाट रियल टाइममा खाता खोल्ने जस्ता फिचरहरु पहिलो पटक हामीले नै भित्र्याएका हौं । हालै, नेपालमा पहिलो पटक वि च्याटको भुक्तानी सेवा हामीले शुभारम्भ गरेका छौं ।

डेटाको कुरा गर्ने हो भने हामीले १९९ स्थानमा एटीएम जडान गरेका छौं । र, एटीएममा हुने कारोबारको भोल्युममा हामी धेरै अगाडि छौं । क्रेडिट कार्डको बिजनेसमा हामी टप फाइभभित्र छौं । पीओएस, क्युआर र मोबाइल बैंकिङको कारोबारमा पनि हामी अब्बल स्थानमा छौं ।

बैंकमा कति ग्राहक छन् । र, त्यसमध्ये कतिले डिजिटल सर्भिस लिइरहेका छन् ?

हाम्रा झण्डै १० लाख ग्राहक हुनुहुन्छ त्यसमध्ये आधा ग्राहकहरु कुनै न कुनै माध्यमबाट डिजिटल सर्भिसमा आबद्ध हुनुभएको छ । तर, सक्रियरुपमा डिजिटल सर्भिसहरु उपयोग गर्ने ग्राहकहरु अलि कम हुनुहुन्छ । ३ लाखजति ग्राहकहरुले कुनै न कुनै डिजिटल च्यानलमा सक्रिय रुपमा डिजिटल सर्भिसहरु प्रयोग गर्नुहुन्छ । यो संख्या निरन्तर बढिरहेको छ । विशेषगरी कोभिडको माहामारीपछि यो संख्या उत्साहजनकरुपमा बढेको छ ।


पुष्प दुलाल