दशैंतिहारको माहोलमा ५० प्रतिशत मात्रै व्यापार, बजारमा नयाँ सामानको अभाव



काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैं नजिकिँदै गर्दा विगतको दिनमा बजारमा नयाँ लत्ता कपडा तथा सामान किन्ने मानिसको भीड हुन्थ्यो । साथै, त्यही अनुसार व्यापार हुने गर्दथ्यो । व्यापारको केन्द्र मानिने महाबौद्ध, न्यूरोड, भृकुटिमण्डपमा मानिसको ठेलमठेल भीडमा किनमेल हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा बजारमा मानिसको भीड कमसँगै व्यापार पनि हुन नसकेको न्यूरोडका व्यवसायीहरूले बताएका छन् ।

हाल दशैंको माहोल नजिकिँदै गर्दा मानिसको भीड बढेता पनि व्यापार भने हुन नसेकेको उनीहरूको गुनासो छ । कोरोनाले गर्दा करिब ८ महिनादेखि नाका बन्द भएकाले बजारमा नयाँ सामानको अभाव देखिएको छ । जसले गर्दा बजारमा ग्राहकहरूले नयाँ सामानको माग गरिरहेको व्यवसायीहरूको भनाइ छ । कोरोनाले गर्दा नयाँ सामानको आयात गर्न नपाउदा बजार पुरानै सामान उपलब्ध भएका कारण ग्राहकहरूले नयाँ सामानको खोजीमा रहेको उनीहरु बताउँछन् ।

साथै, हाल बजारमा नयाँ सामान नहुँदा बजारमा मानिसको भीड देखिएता पनि खरिद भने निकै कम भएको उनीहरू भनाइ छ ।

हाल बजारमा व्यवसायीहरूले कतिपय गत वर्षको सामान बिक्री गरिरहेको छ भने कतिपय कलकोत्ताबाट महंगो भाडा तिरेर सामान आयात गरेको सामान बिक्री गरिरहेको छ ।

५० प्रतिशतले व्यापार कम

कोरोना महामारीले पिल्सिएको न्यूरोडको व्यापार दशैंको माहोलमा गत वर्षको तुलनामा ५० प्रतिशतले व्यापारमा कमी आएको व्यवसायीहरूले बताएका छन् ।

यसैगरी कोरोनाले गर्दा यो वर्षको दशैंको माहोलमा ५० प्रतिशतले व्यापारमा कम भएको खिचापोखरीस्थित रहेको सिउल इन्टरनेशनलका सञ्चालक पुरुषोत्तम हुमागाई बताउँछन् ।
कोरोनाले गर्दा विषेश सतर्कता अपनाउनु पर्ने भएकाले बजारमा मानिसको भीड कम भएको उनको बुझाइ छ । साथै, कोरोनाको समयमा जति पनि आएको ग्राहकले पनि पूर्ण रुपमा खरिद गर्न नसकेको उनले जानकारी दिए ।

साथै, विगतको दिनमा उपत्यका बाहिरको लत्ता कपडा लिन आउने मानिकाको भीड पनि निकै बढी हुन्थ्यो । तर, यो वर्ष कोरोनाको महामारीमा करिब ५० प्रतिशत व्यापारी मात्रै सामान लिन आएको उनले बताए । त्यसैगरी, यो वर्ष यातायातको समस्या तथा आर्थिक मन्दिका कारण पनि व्यापार व्यवसाय सञ्चालनमा निकै समस्या परिरहेको उनको बुझाइ छ ।

‘कोरोना महामारीले गर्दा बजारमा लत्ता कपडाको मूल्य बढी भएको भन्ने कुराहरू आएको भएता पनि विगतको तुलनामा यो वर्षको मूल्यमा फरक छैन्,’ उनले भने, ‘कोरोनाको बीचमा केही व्यापारीहरूले नयाँ सामान खरिद गरेर ल्याउँदा बढी महंगो हुन पुगेको हो ।’

करिब ८ महिनादेखि तोतोपानी नाका बन्द अवस्थामा रहेता पनि बजारमा सामानको भने अभाव नभएको उनले बताए । धेरै जसो व्यवसायले मौज्दातमा रहेको सामान र जहाजबाट भएर पनि बजारमा परिपूर्ति गरिरहेको उनको बुझाइ छ ।

यस्तै, विशाल बजारस्थित न्यू एनएस ट्रेडर्स रेडिमेड होलसेलका सञ्चालक नारायण बस्यालका अनुसार कोरोनाले गर्दा दशैंको बेला पनि व्यापार शुन्य रहेको बताए । पछिल्लो समय बजारमा मानिस देखिएता पनि भनेजस्तो व्यापार हुन नसकेको उनले अनुभव गरे ।

साथै, बजारमा ग्राहकले खोजेअनुसार सामानको अभाव देखिएको उनले जानकारी दिए । हाल केरूङ, तोतोपानी नाका बन्द भएका कारण भन्सारबाटै सामान आउन नसकेको उनको बुझाइ छ ।
उनका अनुसार पसलमा मौसम अनुसार सामान बिक्री हुने भएकाले मौसम अनुसारको सामान उपलब्ध नभएको बताए । साथै, सामान आउने नाका पूर्ण रुपमा बन्दले गर्दा बजारमा नयाँ सामानको भने अभाव नै रहेको उनले बताए ।

यसैगरी बजारमा चलहपहल बढी भएता पनि व्यापार भने निकै कम रहेको पुखुद्यां मार्गस्थित रहेको रेडिमेड पसलका सञ्चालन दिनेश महर्जनले बताए ।

कोरोना महामारीका कारण नाकाबाट सामान आउन नपाएको र मानिसको किन्ने क्षमता पनि निकै कम भएका कारण बजारमा व्यापार कम भएको उनको बुझाइ छ । उनका अनुसार लकडाउन हुनुभन्दा त यति हुनु पनि राम्रो रहेको बताए ।

‘अहिले मानिसको भीड भने सामान्य अवस्था जस्तै रहेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, व्यापारमा भने हुन सकेको छैन्् । साथै, बजारमा गारमेन्टको सामान पनि अभाव देखिएको छ ।’
यो वर्षको दशैंमा करिब ५० देखि ६० प्रतिशतले व्यापारमा कमी आएको उनले बताए । ‘गत वर्षको जस्तो सामानको गुणस्तर, प्रकार छैनन् । यसले गर्दा व्यापारमा त घट्ने उनै भइहाल्यो,’ उनले भने, ‘कोरोनाले गर्दा मान्छेले हुल गर्न डराउँछन् । साथै कति मानिसको मासिक तलब आएन र कतिपयको बोनस आएको छैन ।’ जसले गर्दा मानिसको भीड पनि घट्यो र व्यापार पनि घटेको छ ।

संकटमा व्यवसाय
सरकारले अधिकांश सामान छिमेकी देशबाट आयात गर्दै आएकोमा गत फागुनदेखि विभिन्न नाकाबाट भित्रिने सामान ल्याउन सकेको छैन । तातोपानी नाकाबाट भित्रिने कन्टेनरको कर्मचारीमा कोरोना देखिएसँगै नेपालमा सामान भित्रिन छोडेको हो । हाल कोरोनाले गर्दा करिब २० अर्बको सामान नाकामा अड्किएको हिमालपारी व्यापार संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।
उनका अनुसार दशैंतिहार लक्षित सामान आउनुपर्नेमा अहिले बजारमा सामान आइनपुग्दा व्यवसायी संकटमा परेको बताए । बजारमा दशैंको लागि सबैभन्दा बढी लत्ता, कपडा, जुत्ता तथा अन्य सामान बिक्री हुन्थ्यो । तर, यो वर्ष दशैंको उक्त नाकाबाट सामान नआउँदा धेरै व्यवसायी मारमा परेको उनको भनाइ छ ।

अहिले पनि नाकामा करिब १७, १८ सय कन्टेनर अड्केको छ भने रसुवाबाट मात्रै दैनिक ६,७ वटा कन्टेनर आइरहेको उनले बताए । हाल कुन नाकाबाट कति आइरहेको भन्दा पनि सबै नाका खुलेको अवस्थामा ४,५ सयको हाराहारीमा कन्टेनर नेपाल प्रवेश गर्ने गरेको उनले बताए । उनका अनुसार नाकामा रहेको सामान आइपुग्न अझै सामान ५,६ महिना लाग्ने उनको अनुमान छ ।
साथै, अहिले बाइरोडबाट सामान नआउने भएपछि अधिकांश व्यवसायीले बाइसिपबाट ल्याइरहेको उनको भनाइ छ । त्यति मात्रै नभई तिहारमा सबैभन्दा बढी इलेक्ट्रिका सामानको बिक्री हुन्थ्यो । तर यो वर्ष उक्त नाकामा अड्किएको सामान ल्याउन सकेनौं भने सामानको निकै अभाव देखिने उनले बताए ।


क्लिकमान्डु