अझै पनि ५ वाणिज्य बैंकको कल डिपोजिट राष्ट्र बैंकले तोकेभन्दा धेरै, कारवाही होला ?



काठमाडौं । सञ्चालनमा रहेका २७ मध्ये ५ बैंकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेका छैनन् ।

गत आर्थिक वर्षमा केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीलाई २०७७ असार मसान्तसम्म कुल निक्षेपमा कल निक्षेपमा तोकिएको सीमामा कल निक्षेप कायम गर्न निर्देशन दिएको थियो ।

तोकिएको समयावधिमा वाणिज्य बैंकले १० प्रतिशत, विकास बैंक र वित्त कम्पनीले १५ प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन थियो ।

राष्ट्र बैंकले एकिकृत निर्देशन २०७५ जारी गर्दै स्वीकार गरिएको कल निक्षेपको अंश कुल निक्षेपमा ‘क’ वर्गका बैंकले १० प्रतिशत, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी कायम गर्ने नपाइने व्यवस्था गरेको थियो । जसको राष्ट्र बैंकले २०७७ असार मसान्तको सो सीमा भित्र ल्याइसक्नु पर्ने उल्लेख गरेको छ ।

नियामक निकायले जारी गरेको निर्देशन कार्यन्यवन गर्नु पर्ने समय समाप्त भएको समेत ३ महिना भइसकेको छ । तर यस अवधिमा केही वाणिज्य बैंकहरु उक्त निर्देशनको पालना गर्नभन्दा उल्लघंन गर्नमा नै अग्रसर छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सद्वारा उपलब्ध तथ्यांक अनुसार भदौ मसान्त ५ वटा वाणिज्य बैंकहरुले तोकिएको सीमा भन्दा बढी कल निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकले कल निक्षेपको सीमा पुर्याउन दिएको समय यही असार मसान्तमा सकिएको हो । सो अवधिसम्म वाणिज्य बैंकहरुले संकलित कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतमात्र कायम गरी राष्ट्र बैंकको अर्को निर्देशन नआउँदासम्म सोही कायम गर्नु पर्ने हो ।

तर भदौ मसान्तसम्म बैंकहरुले संकलन गरेका निक्षेपको तथ्यांक हेर्दा प्राइम कर्मशियल बैंक, प्रभु बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंकको कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतभन्दा बढी छ ।

जारी निर्देशन पालना गर्न बैंकहरुलाई समय समयमा अनुस्मारण गराइरहेको भएपनि हाल कोभिड काल चलिरहेको कारण ताकेता लगाउन भने नसकिएको राष्ट्र बैंक बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए ।

‘अहिलेसम्म छुट तथा सहुलियत दिने भनेर केही निर्णय गरिएको छैन्,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘कोभिडको कारण बैंकहरुले गत आवमा जारी भइ २०७७ असार मसान्तसम्म कार्यन्यवन गर्नु केही निर्देशन पालना गर्न नसकेको कारण देखाइरहेका छन् ।’
राष्ट्र बैंकले यस सम्बन्धी बैंकहरुसँग थप प्रतिक्रया लिएर अध्ययन तथा छलफल गर्ने उनले बताए ।

‘तत्काललाई कल निक्षेप सीमामा कायम नगर्ने बैंकहरुलाई कारवाही नै गर्ने भनेर केही निर्णय भएको छैन,’ ती अधिकारीले थप, ‘चालु आवको मौद्रिक नीतिको समीक्षामा केही छुट तथा सहुलियको व्यवस्था हुन सक्ला ।’

मौद्रिक नीतिको समीक्षामा कल निक्षेप कायम नगर्ने बैंकहरुलाई छुट तथा सहुलिय नभएमा ती बैंकहरु कारवाहीमा पर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार तथ्यांकअनुसार भदौ मसान्तसम्म प्राइम कर्मशियल बैंकले १ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको गरेको थियो । बैंकले सो अवधिमा कुल निक्षेपको १५.३३ प्रतिशत अर्थात् १९ अर्ब २६ करोड रुपैयाँ कल निक्षेप संकलन गरेको हो ।

यस्तै, प्रभु बैंकले भदौ मसान्तसम्म १ खर्ब ३४ अर्ब ९१ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेको थियो । जसमा बैंकले कल निक्षेप १३.४५ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ ।

(भदौ मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेपमा कल निक्षेपको हिस्सा चार्टमा देखाइएको छ )

त्यसैगरी, नबिन बैंकले सो अवधिमा पनि कुल निक्षेपमा कल निक्षेपको हिस्सा १३.२१ प्रतिशत कायम गरेको छ । बैंकले भदौ मसान्तसम्म १ खर्ब ८६ अर्ब ६५ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेको थियो । जसमा २४ अर्ब ६५ करोड रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

यस्तै, नेपाल एसबीआई बैंकले भदौ मसान्तसम्म कुल १ खर्ब ४७ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसको १०.८२ प्रतिशत अर्थात् १५ अर्ब ९७ करोड रुपैयाँ कल निक्षेपको हिस्सा छ ।

साथै हिमालन बैंकले पनि कुल निक्षेपमा कल निक्षेपको हिस्सा १०.१२ प्रतिशत कायम गरेको छ । भदौ मसान्तसम्म बैंकले १ खर्ब ३६ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसमा बैंकले १३ अर्ब ८२ करोड रुपैयाँ कल निक्षेप संकलन गरेको गरेको हो ।

के हो कल निक्षेप ?

अल्पकालिन समयको लागि जम्मा गरिने निक्षेपलाई कल डिपोजिट भनिन्छ । बैंकहरुमा यस प्रकारका निक्षेप राख्न संस्थागत वा ठुला व्यवसायीक घरानाहरुले कल निक्षेप खाता खोलेका हुन्छन् । यस प्रकारका खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने समयको भने टुंगो हुँदैन ।

कल खातामा जम्मा भएको निक्षेप अल्पकालीन प्रकृतिको हुने हुँदा बैंकहरू यस्तो निक्षेपको ब्याजदर अन्य निक्षेपको भन्दा थोरै निर्धारण गरका हुन्छन् ।  यद्यपि, हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने व्यवस्था गरेको छ । बैंकहरुले लिने निक्षेपमध्ये सबैभन्दा थोरै साधारण बचतको ब्याजदर साधारण बचतको नै हुन्छ ।

कल निक्षेप घटाउन किन आवश्यक छ ?

प्रायजसोः कल खातामा जम्म हुने रकम अत्यन्तै अल्पकालिन प्रकृतिको हुन्छ । व्यापार व्यवसाय गर्दा छोटो समयको लागि प्राप्त हुने रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीहरुले प्रायः यो खाता प्रयोग गर्छन् ।

कुल निक्षेपमा ठुलो हिस्सा कल निक्षेप राख्ने बैंकले दिर्घकालीन लगानी गर्न नसक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘कल निक्षेपबाट प्राप्त रकमलाई बैंकले कर्जा लगानी गर्दा त्यो बैंकको तरलता व्यवस्थापन जोखिममा पर्छ,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने, ‘कल निक्षेपबाट कर्जा लगानी गर्ने बैंकले भोलिका दिनमा निक्षेपकर्तालाई जम्मा गरको पैसा दिन समेत नसक्ने अवस्था आउँछ ।’

तरलता व्यवस्थापन गर्ने नसक्ने बैंकहरुको बिस्तारै जोखिम बढी ती बैंक संकटमा पर्न सक्ने भएकाले राष्ट्र बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतमात्र कायम गर्ने भनेको उनले बताए ।

कल निक्षेपमा संस्थागत निक्षेपकर्ताहरुले ब्याजदरमा बढी मोलमोलाइ गर्ने प्रवक्ता भट्टको भनाइ छ ।

‘कल डिपोजिटरहरुलाई बैंकहरुले साधारण बचतकर्तालाई भन्दा बढी महत्व दिनुका साथै बढी ब्याज समेत दिएकोे गुनासो आयो,’ उनले थपे, ‘जसले गर्दा कल खातामा रकम जम्मा नगर्ने सर्वसाधारण निक्षेपकर्ता मारमा परेको हुँदा कल निक्षेपको ब्याजमा समेत सीमा लगाइएको छ ।’

हाल बैंकहरुले साधारण बचतमा दिएको ब्याजको ५० प्रतिशतभन्दा बढी ब्याज कल निक्षेपमा दिन नपाउने उनले जानकारी दिए ।

राष्ट्र बैंकले तोकेको सीमा भित्र कल निक्षेपको हिस्सा कायम गर्न नसक्ने बैंक तथा वित्त कम्पनीहरु दफा १०० बमोजिमको कारवाहीमा पर्ने भट्टले बताए ।


पुष्प दुलाल