ई-टेन्डर जसले गुण्डाराज सकायो, व्यवसायमा प्रतिस्पर्धा



काठमाडौं । करिब ५ वर्षभन्दा अगाडिको कुरा हो । कुनै पनि निर्माण व्यवसायी कम्पनीले टेन्डर पाउनु भनेको सबैभन्दा शक्तिशाली मानिन्थ्यो । त्यस समयमा टेन्डर हातपर्नु भनेको पनि युद्ध जित्नु सरह हुन्थ्यो । साथै, उक्त समयमा जो कोही सामान्य व्यक्तिले टेन्डर पाउने परिकल्पनामा मात्रै सिमित हुन्थ्यो ।

करिब ५ वर्ष अगाडि टेन्डर पाउन निर्माण व्यवसायीहरूले ठूलाठूला राजनितिक व्यक्तित्व र गुन्डाहरूको सहायताले मात्रै टेन्डर पाउँथ्यो । तर, अहिले प्रविधिको विकाससँगै सामान्य व्यक्तिले पनि टेन्डर पाउन सक्ने सहज वातावरण निर्माण भएको छ ।

विगतको दिनमा टेन्डरको समयमा धेरै झमेला र ‘रिस्क’ साथ टेन्डर हात पार्नुपर्ने अवस्था भएकाले व्यवसायीहरूले नै डिजिटल प्लेटफर्ममार्फत कारोबार गर्ने माग राखे पछि २०७२ सालदेखि निरन्तर डिजिटल प्लेटफर्म ‘ई–टेन्डर’मार्फत कार्यहरु गर्दै आएका छन् ।

विगतको दिनमा बाहुबली प्रयोगबाट मात्रै टेन्डर पाउन सकिन्थ्यो भने अहिले ई–टेन्डरमा कसैको रोकावट र विना झमेलाका साथ पेश गर्दा बाहुबलीको प्रयोगको अन्त्य भएको निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिङ बताउँछन् । उनका अनुसार ई–टेन्डर नहुँदा निर्माण व्यवसायीहरूले धेरै गुन्डा प्रयोग गरेर टेन्डर हाल्न नदिने, कार्यालयको मानिसलाई कुटपिट गर्ने, कार्यालयबाट चलखेल हुने साथै राजनैतिकको व्यक्तित्वको प्रयोगबाट टेन्डर पाउने वातावरण रहेको अनुभव सुनाए ।

त्यति मात्रै नभई टेन्डर हाल्न जाँदा बाटोमै कुटपीट गरेर जाने नदिने तथा कार्यालय घेराउ गरेर कसैलाई टेन्डर हाल्न नदिनेजस्ता गतिविधि हुने गरेको उनले बताए । तर, २०७२ सालमा ई–टेन्डरको सुरुवातीसँगै ती विभिन्न गतिविधिबाट मुक्त भएको उनी बताउँछन् ।

साथै विभिन्न कामहरू सहज तरिकाले घर वा अफिसमा बसी बसी हुने भएकाले अहिले सबै व्यवसायीले सहज वातावरण निर्माण भएको उनीहरूको भनाइ छ । ‘विभिन्न कार्याहरूमा हस्तक्षेप हुँदै हात पर्नुपर्ने अवस्थामा अहिले घरमा बसीबसी काम गर्न पाउँदा कसलाई सजिलो हुँदैन,’ उनले भने ।

ई–टेन्डरको शुरुवातीसँगै आफुले गर्न सक्ने कामहरूमा सामान्य व्यवसायीहरुले कसैको सहयोगविनै टेन्डर हात पार्न सक्नेछन् । व्यवसायीको दादागिरी र हस्तक्षेपको बीचमा डिजिटल प्लेटफर्ममार्फत सबै टेन्डर हाल्न पाउँदा सबैले सहज अनुभूति गरेको सिङको भनाइ छ ।

अहिले कुनै पनि टेन्डर आह्वान गरेको अवस्थामा सबै व्यवसायीले आफ्नो लागत खर्चदेखि सबै हिसाब गरेर पेश गर्छन् । त्यसमध्ये सबैभन्दा थोरै मूल्यमा गर्न सक्ने वा टेन्डरको प्रक्रिया पूरा गरी दक्ष भएको अवस्थामा कन्स्ट्रक्सन कम्पनीले सिधै टेन्डर पाउने गर्दछ ।

यसका साथै, इ–टेन्डरले कुनै पनि कम्पनीको गोपनियतामा कसैले असर नपुर्याउने संघको बुझाइ छ ।

चलखेलमा नियन्त्रण
ई–टेन्डर आउनुभन्दा अगाडि चलखेल तथा भ्रष्टचार कुरालाई यस क्षेत्रमा सामान्य मानिन्थ्यो । कुनै पनि टेन्डर आह्वान गरेको अवस्थामा ठूला ठूला व्यवसायीहरुको चलखेल हुन्थ्यो ।

त्यसबेला गोपनियता भङ्क हुने, कार्यालबाट चलखेल हुने, टेन्डरको समय अवधि हुँदाहुँदै दाखिला गर्न नदिने र कतिपय अवस्थामा टेन्डरको रेटहरू घटाउने घट्ना धेरै घट्ने गथ्र्यो । तर, अहिले यी सबै कार्यबाट मुक्त भई स्वच्थ प्रतिस्पर्धाको वातावरण निर्माण भएको व्यवसायीहरुको बुझाइ छ ।

यस्तै अहिले टेन्डरिङमा चलखेल नभएता पनि अन्यमा भने त्यो परिपाटी रहेको उनको भनाइ छ । अहिले अन्य निर्माण सामाग्रीको गिटी, बालुवा ओसारपसार र क्रसरहरूमा दादागिरी नै चल्ने गर्दछ । साथै, नदीजन्य निर्माण सामाग्रीमा उत्खनन् देखि ओसारपोसारमा तस्करीको संस्कार नै रहेकोले यसमा भने नियन्त्रण गर्न नसकेको सिङको भनाइ छ ।

ई–टेन्डरले बनाएको सहजता

ई–टेन्डरको प्रविधि सञ्चालन आएसँगै खर्चमा भने धेरै कम आएको व्यवसायीहरूको भनाइ छ । विगतको दिनमा टेन्डरको लागि स्वयं व्यक्तिको उपस्थिति हुनुपथ्र्यो भने अहिले सबै अनलाइनबाट हुने भएकाले खर्च भने कम भएको महासंघका अध्यक्ष सिङ अनुमान लगाएका छन् ।

५ वर्ष अगाडि टेन्डरको लागि कागजी कामको लागि मात्रै करिब १ हजार देखि १५ सयसम्म खर्च हुने गर्दथ्यो । साथै, टेन्डर हाल्नको लागि व्यक्ति स्वयं पुग्नुपर्ने भएकाले सामान्य अवस्थामा पनि ३ हजारदेखि ५ हजारसम्म खर्च हुन्थ्यो । अझ उपत्यका बाहिर जानु परेको अवस्थामा टेन्डरको कागजात पेश गर्न जानुपरेको अवस्था करि १५ हजारदेखि २० हजारसम्म खर्च हुन्थ्यो ।

तर, अहिले यी सबै व्यक्तिहरूको आवश्यक नरहेको उनी बताउँछन् । त्यस्तै विगतको दिनमा टेन्डर तयार पार्नको लागि ४,५ कर्मचारीले २,३ दिन समय खर्चिनुपथ्र्यो । अहिले भने २ जना व्यक्तिले नै करिब ४ घण्टाको अवधिमा टेन्डरको लागि आवश्यक कागजात बनाउन सकिने भएको छ ।

ई–टेन्डरमा के छ बेफाइदा
ई–टेन्डरका कारण खर्च कम र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण भएता पनि प्रविधिले पनि कहिले भने काम नगरेको सिङको अनुभव छ ।

कुनै पनि टेन्डर आह्वान गरेको अवस्थामा त्यही दिन टेन्डर भर्नेको चाँप धेरै भएका कारण सिस्टम पुरै ह्याङ हुने उनको भनाइ छ । ‘अहिले प्रविधिको प्रयोगले विगतको तुलनामा धेरै सहज बनाएको छ,’ उनले भने, ‘तर कहिले काहि समयमा टेन्डर पेश गर्दा ह्याक हुँदा धेरैको यसमा गुनासो आइरहेको छ ।’

टेन्डरहरु ह्याक भएकाले टेन्डर समयमा नजाने, टेन्डरमा भाग लिएता पनि अपग्रेड नहुने समस्याले गर्दा भाग लिन नपाउने भन्नेजस्ता समस्याहरु भोगिरहेको हुनाले यसलाई समाधान गर्न पहल भइरहेको उनको भनाइ छ ।

यसका साथै, टेन्डर पेश गर्दा प्रक्रियामा गलत हुँदा त्यसलाई हेरफेर गर्न भने नमिल्नाले धेरै समस्या भइरहेको बताए । तर पछिल्लो समय रेलवे कम्पनीबाट हेरफेर गर्न पनि सक्ने रैछ भन्ने अनुमान गरेको उनले जानकारी दिए ।

उनका अनुसार जति नै समस्या भएता पनि आवश्यक अनुसार सिस्टम चाहिँ क्षमता भने अझै अपग्रेड हुनुपर्ने बताए । नेपाल सरकारद्धारा शुरु गरिएको पीपीएमओ सिस्टमको क्षमता बढाउनुपर्नेमा जोड दिँदै आएको महासंघले जनाएको छ ।

हाल सरकारले सञ्चालनमा ल्याएको पीपीएमओ सिस्टमले अहिलेको व्यवसायीलाई धानेको छैन् । कुनै पनि टेन्डरको लागि सबै व्यवसायीहरूले एकैपटक पेश गरेर अन्तिमसम्म टेन्डरमा सहभागी गराउने परिपाटी अध्ययन गरेर टेन्डरको सिस्टम विकास नभएको उनको भनाइ छ ।

हाल १७ हजार हाराहारीमा निर्माण व्यवसायी छन् । उपत्यकामा मात्रै करिब २ हजारभन्दा बढी निर्माण व्यवसायीहरु छन् । विगतको दिनमा पनि आकर्षित हुँदै आएको यो सिस्टममा अझ कोरोनाको समयमा झन बढी आवश्यक रहेको देखाएको उनले बताए । साथै, अहिले समस्या देखिएता पनि यसैमा जानुपर्छ भनेर यसमा सहमति जनाइरहेको उनको बुझाइ छ ।


क्लिकमान्डु