औपचारिकरुपमा सार्वजनिक नभइ कोरोना कहरमै बिक्यो ६ वटा २ करोड पर्ने बीएमडब्लु कार



काठमाडौं । विश्वविख्यात लक्सरी गाडी बीएमडब्लु औपचारिकरुपमा नेपाल भित्रिएको छ । लामो समयको प्रयासपछि बीएमलब्लु गत साउनमा नेपाल भित्रिएको हो ।

व्यापारिक घराना लक्ष्मी ग्रुपले जमर्नी कार निर्माता बीएमडब्लुलाई नेपाल भित्र्याएको हो । लक्ष्मी प्रिमियम मोटर प्रालि बीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता हो । काठमाडौंको तीनकुनेमा यसको शोरुम छ ।

सन् २०१४ मै लक्ष्मी ग्रुपले बीएमडब्लु भित्र्याउने सम्झौता गरेको थियो । तर आवश्यक तयारी गर्दागर्दै भुकम्प गएपपछि प्रक्रिया स्थगन भएको थियो ।

‘हामीले सन् २०१४ को अन्त्यतिर बीएमडब्लुको आधिकारिक बिक्रेता डिलरसिप लिने सम्झौता गरेका थियौं । पछि भूकम्प गयो र २०१६ मा सार्वजनिक गर्ने योजना बनाएका थियौं । त्यो पनि विविध कारणले सफल भएन र गत साउनमा गाडी भित्र्याएका छौं,’ लक्ष्मी ग्रुपका सञ्चालक निराकर श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

साउनयता अहिलेसम्म ६ वटा गाडी बिक्री गरिसकिएको श्रेष्ठले जानकारी दिए । लक्ष्मी प्रिमियम मोटर प्रालिले न्यूनतम् १ करोड ९० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्म पर्ने डेढ दर्जन बीएमडब्लु कार भित्र्याएको थियो ।

‘अहिलेसम्म २ करोड रुपैयाँ पर्ने ६ वटा गाडी बिक्री गरिसकेका छौं,’ उनले भने, ‘कोरोना कहरमा पनि प्रिमियम ब्राण्डका गाडी यो परिमाणमा बिक्री हुनुलाई सन्तोषजनक नै मान्नुपर्छ ।’

सञ्चालक श्रेष्ठ

पहिले नै बीएमलब्लु किन्न भनेर तयारी अवस्थामा बसेकाहरुले किनेको र नयाँ इन्क्वायरी भने खासै नआएको उनको भनाइ थियो ।

सामान्य अवस्था भएको भए एक वर्षमा १०० वटासम्म गाडी बिक्री गर्ने कम्पनीको लक्ष्य थियो । तर, यो वर्ष भने उक्त लक्ष्य भेट्टाउन सक्ने अवस्था छैन ।

नेपालमा यसअघि पनि बीएमलब्लु गाडी आएको थियो । तर आधिकारिक डिलरसिपसहित भने पहिलोपटक बीएमलब्लु भित्रिएको हो । बीएमडब्लु नेपाल आएसँगै यसको प्रतिस्पर्धा मर्सिडिजसँग हुने छ । विश्वव्यापीरुपमा प्रिमियम ब्राण्डका नेपालमा उपलब्ध गाडी मर्सिडिज र बीएमडब्लु हुन् ।

‘लक्जरी र ब्राण्डेड गाडीका पारखीहरुलाई लक्षित गरेर हामीले बीएमडब्लुलाई नेपाल भित्र्याएका हौं,’ श्रेष्ठले भने, ‘चाँडै नै औपचारिकरुपमा सार्वजनिक गर्छौं ।’

बावेरियन मोटर वर्क्स (बीएमडब्लू) जर्मनको अटोमोबाइल्स कम्पनी हो । सन् १९१६ मा स्थापना भएको कम्पनीले कार बाहेक मोटरसाइकल समेत उत्पादन गर्छ । यसका संस्थापक कार्ल र्याप हुन् ।

सन् १९४५ सम्म बीएमडब्लुले विमानको इन्जिन समेत बनाएको थियो । तर, पहिलो विश्व युद्ध पछि वर्सैलिस युद्धविराम सन्धी अनतर्गत बीएमडब्लूले एयरक्राफ्टको इन्जिन उत्पादन बन्द गरेको थियो ।

बीएमडब्लुले सन् १९२३ मा मोटरसाइकल र सन् १९२८ मा कारको उत्पादन सुरु गरेको थियो । लग्जरी गाडी भएपनि बीएमडब्लूको स्वामित्व भने सार्वजनिक निकायसँग बढी रहेको छ ।

व्यक्तिगत रुपमा बीएमडब्लूका ठूला सेयरधनी स्टीफन क्वान्ड र सुसैन क्वैलटसँग बढी छ । जसमा स्टीफनसँग २९ प्रतिशत र सुसैनसँग २१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सन् २०१९ मा जर्मनको बीएमडब्लूले २५ लाख गाडी विश्वभरमा बिक्री गरेको थियो । सन् २०१९ मा १०४ बिलियन युरोको बिक्री बीएमडब्लूले गरेको थियो । यसको बजार पूँजीकरण करिब ४३ अर्ब अमेरिकी डलर रहेको छ ।

सरकारले लक्जरी गाडीको आयातमा निरुत्साहित गरेका कारण बीएमडब्लु अझ धेरै महंगो बन्न पुगेको छ । सरकारले १००० सीसीसम्मका गाडीमा २५१ प्रतिशत, १००० देखि १५०० सीसीसम्मका गाडीमा २६३ प्रतिशत, १५०० देखि २००० सीसीका गाडीमा २६६ प्रतिशत, २००० देखि २५०० सीसीसम्मका गाडीमा ३०३ प्रतिशत र २५०० देखि ३००० सीसीका गाडीमा ३२६ प्रतिशत राजस्व असूली गर्दै आएको छ ।

लक्ष्मी प्रिमियम मोटर प्रालिले भित्र्याएका बीएमडब्लु गाडी २००० देखि ३००० सीसीसम्मका रहेका छन् । जसकारण ४ करोडको गाडी किन्नेले ३ करोड रुपैयाँको हाराहारीमा सरकारलाई कर तिर्नुपर्छ ।


पुष्प दुलाल