जागिरेको संकट टार्ने साथी बन्यो नविल बैंक, फोनबाटै आवेदन दिएर १ लाखसम्म ऋण पाइने



काठमाडौं । ‘एउटा समस्या पर्यो मिल्छ भने अतिकति पैसा सापटी देउ न, अहिले मेरो तलब आएको छैन्, आउने बित्तिकै दिन्छु ।’

माथिका भनाइ प्रायः मध्यमस्तरको तलब आम्दानी भएका कर्मचारीका हुन् । किनभने निम्न र मध्यमस्तरको  तलबखानेहरुको नियमितभन्दा २/४ हजार रुपैयाँमात्रै एक्स्ट्रा खर्च भयो भने महिना नमर्दै अरुसँग सापट माग्न बाध्य हुनुपर्छ ।

आफ्नो साथीको अवस्था पनि उस्तै हुनेहुँदा कतिपयले २/४ हजार सापटी पाउन पनि धेरै मान्छेसँग बिलौना गाउनुपर्छ ।

निश्चय पनि यो समस्या तपाईं हामीमध्ये कतिपयले यसअघि नै भोगिसकेका र कतिपयले भने अहिले भोगिरहेका हुनसक्छौं ।

कतिपय अवस्थामा तपाईं हामी जस्ता निश्चितस्तरका तलब आम्दानी भएका कर्मचारीहरुले चाहेर पनि साथीभाइलाई समस्यामा आर्थिक सहयोग गर्न सक्दैनौं । र, सहयोग पाएका पनि हुँदैनौ ।

यसरी कार्यलयबाट तलब बुझ्नुअघि नै आउने यस्ता आर्थिक समस्या समाधानका लागि सहयोगी बन्ने प्रयास गरेको छ नबिल बैंकले । जुन तपाईंका लागि खुसीको खबर हुने निश्चित छ ।

नबिलमा तलब खाता भएका कर्मचारीलाई मासिक १ लाख रुपैयाँसम्मको कर्जा सापटी बैंकले दिइरहेको छ । बैंकले कर्मचारीलाई सहुलियत र सरल तरिकाले प्रविधिको प्रयोग गर्दै कर्जा सापटी लिने व्यवस्था ‘नबिल फोन’ योजनामार्फत् गरेको हो ।

तलबी खाताका ग्राहकले आवश्यकतामा जहाँ र जस्तो अवस्थामा पनि इन्टरनेटको पहुँचमा भएको ठाँउबाट मोबाइलबाटै कर्जाको आवेदन दिन सक्ने नबिल बैंकका संचार विभाग प्रमुख कृष्ण सुवेदीले बताए ।

‘मानिसको आवश्यकता र अप्ठ्यारो परिस्थितीमा कहिले काँही ५/१० हजार रुपैयाँले पनि ठुलो महत्व राख्छ,’ सुवेदीले क्लिकमाण्डूसँग भने, ‘नबिल बैंकले ल्याएको फोन कर्जाले त्यस्तो अप्ठ्यारोमा सहयोग गर्छ ।’

फोन कर्जा ग्राहकले इन्टरनेटको पहुँच भएको जुनसुकै ठाँउबाट पनि मोबाइल बैंकिङमार्फत् कर्जाको आवेदन दिन सक्छन् उनले जानकारी दिए ।

कर्जा योजनाले बैंकमा तलबी खाता भएका कर्मचारीको १ लाख रुपैयाँसम्मको आकस्मिक खर्च गर्न सक्ने भएकाले व्यक्तिगतरुपमा मद्दत पुग्ने उनको विश्वास छ ।

कस्ता कर्मचारीले पाउँछन् फोन कर्जा ?

नेपालको सन्दर्भमा हालसम्म वाणिज्य बैंकहरुले निश्चित आयस्रोत भएका ग्राहकलाई क्रेडिट कार्डमार्फट आम्दानीमा आधारित कर्जा दिने गरेका छन् ।

क्रेडिड कार्डमार्फत् पाइने कर्जा खातामा आउने नभएर ग्राहकले सामान खरिद गर्दा वा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्न मिल्ने सेवा प्रदायक कम्पनीमा सीमा रहेर मात्र प्रयोग गर्न सकिन्छ ।

तर नबिल बैंकले ल्याएको फोन कर्जा भने तपाइले आवेदन दिएको रकम कर्जा स्वीकृत भएपछि सोझै खातामा डिपोजिट हुन्छ ।

यस प्रकारको कर्जा लिन कुनैपनि संघ संस्था तथा रोजगारदाता प्रतिष्ठानहरुले नबिल बैंकमा आफ्ना कर्मचारीको तलब खाता खोलेको हुनुपर्छ ।

कर्जा लिन खाता खोलेको ६ महिनाभन्दा बढी भई खातामा नियमित तलब जम्मा भएको हुनपर्ने बैंकले जनाएको छ । साथै, बैंकमा तलबी खाता भएपनि कर्मचारीले अन्य बैंकबाट कर्जा लिएर खराब कर्जामा नपरेको र कालोसुचीमा नपरेको हुनु पर्नेछ ।

कर्जा लिने प्रक्रिया के छ ?

बैंकबाट फोन कर्जा लिन तलबी खातावाहक नबिल स्मार्ट मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुपर्ने छ ।

बैंकले कर्मचारीको खातामा जम्मा हुने तलब, तलबको बचत र खर्चको विवरण लगायत खाताको विस्तृत अध्ययन गर्छ । जसका लागि बैंकको सिस्टमले तलबी खाताहरु कर्जा लिन योग्य भए नभएको फिल्टर गर्नेछ ।

सिस्टमले अटोमेटिक फिल्टर गरी कर्जाका लागि योग्य भएका खाता वाहकहरुको मोलाइल बैंकिङमा स्वतः कर्जाको लागि आवेदन दिने अप्सन देखाउँछ ।

ग्राहकले कर्जाको निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ बैंकले बनाउँछ । उक्त कार्डको ३ अंकको नम्बर बैंकले ग्राहकको मोबाइल बैंकिङमा नै पठाउँछ ।

ग्राहकले कोर्ड राख्ने अप्सनमा भर्चुअल क्रेडिट कार्ड कोड राखेपछि बैंकले ग्राहकको खातामा पैसा जम्मा गरिदिन्छ । सो कार्ड एक पटक कर्जा लिनको लागि मात्र प्रयोग गर्न सकिन्छ ।

यदि अर्को पटक कर्जा लिनुपर्दा पुनः अर्को पटक सोही प्रक्रियामा भर्चुअल क्रेडिट कार्ड कोड लिएर कर्जा लिन सकिने बैंकले जनाएको छ ।

तर नबिल बैंकमा तलबी खाता भइ नितरन्तर ६ माहिनाभन्दा बढी तलब जम्मा भएको भए पनि सबै खातावालाको मोबाइल बैंकिङ एपमा कर्जा अप्लाइ गर्ने अप्सन देखाउन नसक्ने सुवेदीले बताए ।

‘कर्जाको लागि योग्य भएका ग्राहकको मोबाइल एपमा मात्र फोन कर्जा अप्लाइ गर्ने अप्सन आउँछ,’ उनले भने, ‘लोन अप्लाइ गर्ने अप्सन आएमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्म २.५ प्रतिशत ब्याजदरमा १ महिनाको लागि कर्जा दिन्छ ।’

तर फोन लोनका लागि योग्य भएका सबै ग्राहकले १ लाख रुपैयाँसम्म कर्जाको आवेदन दिन नमिल्ने उनले बताए ।

बैंकले ग्राहकको तलबी खातामा जम्मा हुने तलब र तलबबाट गर्ने बचत तथा खर्चको आधारमा उसले अधिकतम कतिसम्म कर्जाको आवेदन दिन मिल्छ त्यो बैंकले तय गरेको हुन्छ ।

तलबी ग्राहकले उपयोग गरेको कर्जा खातामा तलब जम्मा भएपछि बैंकले स्वतः भुक्तानी लिने सुवेदीले जानकारी दिए ।


पुष्प दुलाल