सिभिल बैंक र प्रभु बैंकलाई ९ वर्ष पुरानो ऋण उठाउने बाटो खुल्यो



काठमाडौं । ९ वर्ष पुरानो ऋण उठाउनको लागि सिभिल बैंक र प्रभु बैंकलाई बाटो खुलेको छ ।

सिभिल बैंकको नेतृत्वमा तत्कालिन (ग्राण्ड) प्रभु बैंकले पेपरमेट पेन इण्डष्ट्रिजलाई ऋण दिएको थियो । उद्योगले स्टिडलर डटपेन उन्पादन गर्ने गरेको थियो । दुई बैंकले सो उद्योगलाई १८ करोड रुपैयाँ जति ऋण दिएका थिए ।

उद्योगका संचालक अशोक अग्रवालले राम्रोसँग उद्योग चलाएका थिए । तर, बैंकबाट लिएको ऋण उद्योगमा प्रयोग नगरेर अन्यत्र चलाउने काम गरेपछि अग्रवालको ओरालो दिन शुरु भयो । जर्मनमा राम्रोसँग निर्यात गरिरहेको व्यवसाय ओरालो लाग्न थाल्यो । बिराटनगरका अशोक अग्रवालले उद्योग भने रुपन्देहीमा लगाएका थिए ।

ऋण नतिरेपछि बैंकले उनलाई कालोसूचिमा राख्यो भने उनले धितोमा राखेको सम्पत्तिलाई गैर बैंकिङ सम्पत्तिको रुपमा ल्यायो । धितो लिलामी प्रक्रिया अगाडि बढ्दा अग्रवालले सर्बोच्च अदालतबाट अन्तरिम आदेश ल्याए । त्यसपछि धितो लिलामीको प्रक्रिया रोकियो ।

लिलामी प्रक्रिया रोकिएपछि बैंकले सो धितो लिलाम प्रक्रिया अगाडि बढाउन पाएनन् । बैंकले सो ऋण वापतको रकम प्रोभिजनका लागि छुटउनु पर्यो ।

सोमबार भने ऋणी अग्रवालले सर्बोच्च अदालतबाट निवेदन फिर्ता लिए । योसँगै मुद्दा खारेज भयो । सर्बोच्चमा मुद्दा फिर्ता लिने निर्णयसँगै बैंकलाई उनको धितोलिलामी गर्नको लागि बाटो खुलेको छ ।

‘ऋणीले ऋण नतिरेर गैर बैंकिङ सम्पत्तिमा गएको ऋण उठाउने बाटो खुल्यो, अबको केहीदिनमा धितो लिलामीको प्रक्रिया सुरु हुन्छ,’ बैंकका एक अधिकारीले भने ।


पुष्प दुलाल