ब्याजदर सस्तो हुँदा जलविद्युत् कम्पनीको सेयर मूल्य बढायोः ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान



सेयर बजारमा दुई प्रकारका लगानीकर्ता हुन्छन् । एउटा सेयर बजारमा सूचिकृत कम्पनीको मूल्य बढेर त्यसमा क्यापिटल गेन गर्ने र अर्को लाभांशमा आधारित रहेर लगानी गर्ने ।

नेपालको सेयर बजारमा लगानीकर्ता कहिले बीमा कम्पनीमा आकर्षित हुन्छन् भने कहिले लघुवित्त कम्पनीमा आकर्षित हुन्छन् ।

पछिल्लो समय जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । एक महिना अगाडि एक दर्जन कम्पनीको सेयर मूल्य दोस्रो बजारमा १०० रुपैयाँभन्दा कम थियो । अहिले एक सय रुपैयाँभन्दा बढी भइसकेको छ । जलविद्युत्मा लाभांश कम भएपछि आइपीओ समेत बिक्री हुन नसक्ने स्थिती देखिएको थियो ।

कोभिडको कारण ऋण नगएपछि बैंकमा प्रयाप्त तरलता छ । जसले गर्दा ब्याजदर निकै तल आएको छ । यसको फाइदा जलविद्युत् परियोजनालाई भएको छ ।

जुन परियोजनाको निर्माण कार्य सकिएको थियो त्यो परियोजनाले तिर्ने ब्याज रकम कम भएको छ ।

एउटा जलविद्युत् आयोजना ४ अर्ब रुपैयाँ बनाउने लागत लाग्यो भने ३ अर्ब रुपैयाँ बैंकबाट ऋण लिने हो । १४ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले ८ प्रतिशतमा झरेको छ । ४ प्रतिशत ब्याजदर कम हुँदा हिजोको तुलनामा १२ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने क्षमता जलविद्युत् आयोजनाको हुन्छ ।

जलविद्युत् आयोजनाको मुख्य कच्चा पदार्थ भनेको नै बैंकको ब्याज हो । बैंकको ब्याज बढी हुँदा लाभांश कम हुन्छ कम हुँदा बढी हुन्छ । जलविद्युत् आयोजनाहरु खराब र लागत बढ्नुमा एउटा कारण बैंकको ब्याजदरपनि हो । हिजोको दिनमा ६ प्रतिशत ब्याजदरमा लिएको ऋण ८ हुँदै १४ प्रतिशतसम्म पुग्यो ।

अहिले सोलारले उत्पादन गर्ने विजुलीमा सरकारले ५० प्रतिशतसम्म ब्याज अनुदान दिएको छ । जबकी यस्तो अनुदानको व्यवस्था जलविद्युत्मा छैन । पछिल्लो समय राजस्वका दरहरु समेत यही क्षेत्रमा बढाइएको छ ।

बैंकहरुले समेत जलविद्युत् आयोजनालाई समस्यामा पार्ने गरेका छन् । अलिकति जलविदुत् कम्पनीको नाफा बढ्नासाथ बैंकले ब्याजदर बढाउने गर्छन् ।

एउटा जलविदुत् परियोजना निर्माण सक्दा लाग्ने कुल खर्र्चमा ८५ प्रतिशत निर्माणको लागतमा लाग्छ भने १५ प्रतिशत बैंकको ब्याजमा लाग्छ । निर्माण सकिएर बैंकको ऋण नतिर्दासम्म ब्याज अझै बढी लाग्छ । ५० प्रतिशतभन्दा बढी रकम त बैंकको ऋण नतिर्दासम्म ब्याजमा खर्च हुने गरेको छ ।

अहिले जलविद्युत् कम्पनीमा सेयर मूल्य बढेको कुराले बैंकको ब्याजबाट जलविद्युत् आयोजना कति धेरै पीडित रहेका छन् त्यो देखिएको छ ।

सरकार तथा केन्द्रिय बैंकले जलविद्युत् आयोजना जस्ता विकास परियोजनामा ब्याजदर कम राख्ने उपायको बारेमा दीर्घकालिन रुपमा सोच्नुपर्छ ।

कुराकानीमा आधारित


क्लिकमान्डु