उद्योगमा लकडाउनको असर कायमै, पूर्ण क्षमतामा चल्नै सकेनन्



काठमाडौं । सरकारले लकडाउन हटाएको घोषणा गरे पनि उद्योगहरुमा लकडाउनको असर भने यथावत नै छ । लामो समयसम्म बन्द रहेका उद्योगहरु लकडाउन हटे पनि पूर्ववत्रपमा सञ्चालनमा आउन सकेका छैनन् ।

बजारमा माग कम भएको र कोरोना संक्रमणको अनिश्चितता बढ्दै गएकाले पनि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ ।

सरकारले गत साउनको पहिलो साता तत्कालिन अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन हटेको घोषणा गरेका थिए । त्यसपछि सरकारले लकडाउनको दोस्रो स्वरुप निषेधाज्ञा लागू गर्यो । हाल निषेधाज्ञाका नाममा कैयन जिल्लामा लकडाउन यथावत नै छ । यसले पनि उद्योग सञ्चालनमा असर पारेको उद्योगीहरुको तर्क छ ।

मुख्यरुपमा निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु ३० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् भने अन्य उद्योगको अवस्था पनि खासै फरक रहेको छैन ।

३० प्रतिशत क्षमतामा उद्योग चलाउनुपरेको हुँदा संचालन खर्च धान्न समेत मुस्किल पर्ने अवस्था रहेको छः उद्योगी बिष्णु न्यौपाने

कतिपय उद्योगमा कच्चा पदार्थको आपूर्तीमा समस्या छ भने कतिपय उद्योगमा जनशक्तिको समेत अभाव देखिँदै आएको छ । साथै लकडाउन फेरि हुने हो वा के हुने हो यकिन नहुँदा बजारमा माग बढ्न सकेको छैन ।

व्यवसायिक घराना सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र चलेको बताए ।

‘निर्माण क्षेत्रमा मंसिरदेखि माग बढ्ने अपेक्षा हाम्रो छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरुमा अहिले दक्ष जनशक्तिको समेत अभाव रहेको गुनासो उद्योगीको छ । खासगरी निर्माण क्षेत्रमा भारतीय जनशक्तिको संख्या ठूलो छ । कोरोनाका कारण स्वदेश फर्किका भारतीय कामदारहरु अहिले आउन सकेका छैनन् । उद्योगीहरु त्यस्ता जनशक्ति नआउँदासम्म पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसकिने बताउँछन् ।

व्यवसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवाल लकडाउन खुलेपनि निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगमा भने माग बढ्न नसकेको बताउँछन् ।

‘अहिले ३० देखि ३५ प्रतिशत हाराहारीको क्षमतामा मात्र चलेका छन्, मंसिरसम्म निर्माण क्षेत्रको माग यस्तै रहने देखिन्छ,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

निर्माण क्षेत्रका उद्योग ३० प्रतिशतको क्षमतामा चलेपनि अरु उद्योगमा भने बिस्तारै माग बढ्न थालेको छ । निर्माणाधीन आयोजना चैतमा लकडाउन भए लगत्तै बन्द भएका थिए । त्यहाँ कार्यरत जनशक्तिहरु घर फर्किएपछि सबै आउन पाइसकेका छैनन् ।

लकडाउन खुलेपनि उद्योगमा दक्ष जनशक्ति आउन सकेको छैन भने निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगमा अहिले माग नै छैनभन्दा हुन्छः उद्योगी साहिल अग्रवाल

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता लकडाउन नगरेमा बिस्तारै माग बढ्ने अपेक्षामा आफूहरु रहेको बताए ।

‘सरकारले अब लकडाउन नगर्ने हो भने माग बढ्ने अपेक्षा गर्न सकिन्छ, खाद्यान्नलगायतमा दशैंसँगै माग बढ्ने अनुमान छ,’ गुप्ताले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार लामो समयसम्म लकडाउन हुँदा उद्योगमा परेको असर रिकभर हुनका लागि केही समय लाग्छ । तर अझै पनि अनिश्चितता बढेको, फेरि लकडाउन हुने हो कि भन्ने संशयका बीच उद्योग पूर्ण क्षमतामा आउन नसकेको उनको तर्क छ ।

लामो समयसम्म लकडाउन र निषेधाज्ञाका कारण बजारमा आर्थिक गतिविधि ठप्प जस्तै भयो । बजारमा माग ह्वात्तै घट्यो भने मानिसहरु पनि अत्यावश्यक सामग्री खरिदमा बढी ध्यान दिन थाले । बजारमा माग सामान्य अवस्थामा नआउँदासम्म उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नहुने देखिएको उद्योगीहरुको भनाइ छ ।


क्लिकमान्डु