गुणस्तरहिन सेनिटाइजर उत्पादन गर्ने थप ४ कम्पनीको उत्पादन र बिक्री रोक्न निर्देशन



काठमाडौं । कोरोना भाइरसकको संक्रमणबाट जोगाउनका लागि प्रयोग गरिने सेनिटाइजरको गुणस्तरका बारेमा तपाईं के कति मात्रामा जानकारी छ ? यदि जानकारी छैन भने तपाईंले सेनिटाइजर खरिद गर्दा त्यसको गुणस्तरका बारेमा राम्ररी जानकारी लिनुहोस् । अन्यथा तपाईंलाई धोका हुनसक्छ ।

गुणस्तरहिन सेनिटाइजरको प्रयोगले तपाईंको स्वास्थ्यमा गम्भीर संकट समेत देखा पर्न सक्छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा नाम चलेका कम्पनीदेखि नामै नसुनिएका सेनिटाइजरको समेत बिक्री वितरण भइरहेको छ ।

त्यस्ता सेनिटाइजरले मानव स्वास्थ्यमा संकट त पैदा गर्छ नै । त्योभन्दा बढी हानी समय र पैसाको पनि सँगै हुने गरेको छ ।

कोरोनाको संक्रमण हुनबाट रोक्नुको साटो त्यस्ता सेनिटाइजरले थप संक्रमण समेत बढाउन सक्छ । सोही कारण सेनिटाइजर खरिद गर्नु अगाडि गुणस्तरमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यका जानकारहरुले बताएका छन् ।

पछिल्लो पटक सेनिटाइजरको गुणस्तरका बारेमा समेत औषधी व्यवस्था विभागले समेत राम्रै चासो व्यक्त गरेको छ ।

केही दिन पहिले विभिन्न ५ कम्पनीको सेनिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको विभागले बुधबार थप ४ कम्पनीको सेनिटाइजर गुणस्तरहिन रहेको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ ।

विभागका अनुसार बजारमा बिक्री भइरहेका ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधी प्रयोगशलाममा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएको पाइएपछि ती कम्पनीका सामग्री बिक्री वितरणमा रोक लगाइएको हो ।

विभागका अनुसार इन्स्ट्यान्ट ह्याण्ड स्यानीटाइजर अल्कोहल बेस्ड सम्बन्धी स्तर २०७६ विपरीतका रसायन प्रयोग गरिएको पाइएको विभागले जनाएको छ ।

त्यस्ता गुणस्तरहिन सेनिटाइजरमा विषाक्त रसायन मेथानोल समावेश भएको र न्यून गुणस्तरको पाइएको विभागको ठहर छ ।

त्यस्ता सामग्रीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने हुँदा सर्वसाधारणले प्रयोग नगर्न तथा नगराउन समेत विभागको सूचनामा आग्रह गरिएको छ ।

विभागले त्यस्ता सेनिटाइजरको उत्पादन तथा बिक्री वितरण अबिलम्ब रोक्का राखी सम्बन्धित आपूर्तिकर्ता तथा उत्पादकलाई फिर्ता गर्न समेत सरोकारवालालाई सूचित गरिएको छ ।

त्यसरी गुणस्तरहिन सेनिटाइजरमध्ये एक चिनियाँ कम्पनीको छ भने बाँकी ३ भने नेपाली उत्पादन रहेको छ । ती सेनिटाइजरमा अल्कोहलको मात्रा कम रहेको र मिथानोलको मात्रा बढी रहेको पाइएको छ ।


क्लिकमान्डु